त्रिलोचन ढाकालको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । उनी राजनीतिसापेक्ष र मुक्त समाजसेवा एवम् साहित्यिक सिर्जना र संबद्र्धनका क्षेत्रमा निरन्तर लागिरहेका प्रतिभा हुन् । पछिल्लो समय उनी निरन्तर लघुकथा रचना गरिरहेका छन् । उनको आनन्द आश्रम शीर्षकको लघुकथा कृति प्रकाशनको तयारीमा रहेको छ । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको बाँदर शीर्षकको लघुकथा समेटिएको छ । नेपाली राजनीतिको विकृत अवस्थामाथि व्यङ्ग्य पनि गर्ने यस कथाले लघु आकारमै रहेर पनि वदमासलाई नियन्त्रण गर्नुपर्ने सन्देश दिएको छ ।
सम्पा.
|
बाँदरको हुल आएको थियो । हुलले मकै, केराउ, भटमास, कोदो, आदि अनाज खाइदियो । एक डेढ वर्षसम्मका मेवाका रुखै चपाइदियो । कोपी, ब्रोकाउली, बन्दा, टमटर, रायोको साग सबै च्यातेर धुजा धुजा पारेर छिरलिदियो । महिला र बालबच्चालाई ज्यान जोगाउनै मुस्किल भयो । सेरोफेरोमा आतङ्क फैलियो ।
सूर्यको घरमा कृत्रिम बन्दुक रहेछ । पडकाइ दिए । बाँदरहरूले यसो फर्केर हेरे । भागेर गएनन् ।
“मर्कटले त हैरान पार्यो हजुर ! त्यसबाट बच्ने उपाय छैन ? सूर्यले हैरान भएको लवजमा बाँदर विज्ञसँग सोधे ।
“उपाय किन नहुनु । सन्सारमा नष्ट गर्न वा नियन्त्रण गर्न नसकिने केही पनि छैन ।“ विशेषज्ञले जवाफ दिए ।
“अरू अहिले चाहिएको छैन । बाँदर कसरी तह लाउने होला ? यो बताइ दिनुपर्यो ।“
“पाइने भए त मारेर रुखहरूका फेदमा गाडि दिन हुन्थ्यो । त्यसो गर्दा बोटबिरुवाहरूलाई पनि उच्चस्तरको मल प्राप्त हुने थियो ।“
“यो त भएन । बाँदर मार्न प्रतिबन्ध छ । अर्कै उपाय भन्नुहोस् न ।“
“ल सुन्नु होस् !
सयौं बिघा वा रोपनी जङ्गललाई अग्लो फलामे बारले घेरा हाल्नुपर्छ । सेरो फेरोका बाँदर जति समातेर ल्याउनु पर्छ । सबैलाई त्यही खोरभित्र थुनेर राख्नुपर्छ । खानाको व्यवस्था त्यहीँभित्र गरिदिनु पर्छ “
“विशेषज्ञ ज्यू पनि ! बाँदर भैँसी हो र ? बारभित्र बसिराख्ने । बाँदर त बारमा चढेर वा फड्केर भागिहाल्छ नि ।“
“भुइँबाट फड्कन नसक्ने गरी अग्लो बनाउनुपर्छ बार । फड्कने सम्भावना भएका, बारको नजिकैका रुखहरू हटाई दिनुपर्छ । बारमा झट्का दिने स्वभावको विद्युत प्रभाव गरिदिनु पर्छ । भित्र मान्छे हुँदैनन् । बाहिरबाट मान्छे बारको सम्पर्कमा जान नसक्ने गरी होचो तारबार लगाइ दिनु पर्दछ ।“
“त्यत्रो रकम कहाँबाट ल्याउने ?“
“मन्त्री प्रधानमन्त्रीलाई अरबौँ अरब भ्रष्टाचार गर्न पुगेकै छ त । बार बनाउन कति खर्च लाग्छ र ! आँट हुनु पर्यो ।“
“क्याबात विशेषज्ञ ज्यू ! आखिर विशेषज्ञनै पर्नुभयो ।“
“ए ! पख्नुहोस् पख्नुहोस् । कुरा सकिएको छैन । बादर हेर्न पर्यटकहरू आउँछन् । उनले काटेको टिकटबाट करोडौँ रूपयाँ आम्दानी हुन्छ । जङ्गलभित्र रहेका सिंह, बाघ, चितुवा, ब्वाँसा, स्यालहरूलाई खाना पनि हुन्छ ।“
यस्तो भए त किसानको खेती बाली जोगिने भयो । गोठका बाख्रापाठा पनि बाँच्ने भए ।
आनन्दआश्रम, स्याङ्जा
०७७.१०.१९