श्रीओम श्रेष्ठ ‘रोदन’ (२०१९ कार्तिक १५, झम्सिखेल ललितपुर, सुपुत्रः बेलकुमारी श्रेष्ठ र शिवकुमार श्रेष्ठ) नेपाली साहित्यमा साहित्यिक पत्रकारिता, सिर्जना, समीक्षा जस्ता बहुआयामिक सक्रियता देखिन्छ । श्रेष्ठ आख्यानतर्फ लघुकथा सिर्जनामा सक्रिय प्रतिभा हुन् । उनको पहिलो लघुकथा वि.स. २०४६ मा सौरभमा प्रकाशित भएको थियो । उनका आँखीझ्याल (२०५७) र भ्रममार्ग (२०६७) लघुकथाहरू प्रकाशित छन् । उनले विविध लघुकथाकृति र पत्रिकाको सम्पादन गरेका छन् । उनले शुभारम्भ (२०५५), सञ्चयन (२०५५), सारांश (२०५८), मधुपर्क लघुकथा विशेषांक (२०५६ र २०७२) एवम् नेपाली लघुकथा (अंक एकदेखि निरन्तर) सम्पादन गरेका छन् । उनले प्रथम राष्ट्रव्यापी लघुकथा प्रतियोगिता (२०५४) र दोस्रो राष्ट्रव्यापी लघुकथा प्रतियोगिता (२०५५) को संयोजन पनि गरेका छन् । उनी लघुकथा समाज, नेपालका अध्यक्ष पनि हुन् उनले लघुकथा विधाको विकासमा सिर्जना, समीक्षा, सम्पादन बहुमुखी पक्षबाट योगदान दिइरहेका छन् । साहित्यसागरको प्रस्ततु शृङ्खलामा रोदनको ‘शक्तिसूत्र’ शीर्षकको लघुकथा समेटिएको छ । यस कथाले मजदुरलाई राजनीतिक दलले उचाल्ने र पछार्ने पक्षको उजागर गरिएको छ । यहाँ मजदुरहरूलाई शक्ति सूत्रका रूपमा देखाइएको छ ।
सम्पा. |
साम्प्रदायिक रूपमा मजदुरहरू विभाजित थिए । फलतः उनीहरूको कुनै पनि माग पूरा हुन सकेको थिएन । सबैले साङ्गठनिक रूपमा एकताको महसुस गरेर एकीकृत भए । सँधै भयग्रस्त हुनुपर्ने स्थितिबाट छुटकारा पाउनका लागि सुरक्षा र सुविधाका माग राखेर हडताल गरे । हडताल भएको हप्तौं दिनसम्म पनि स्थिति शान्त हुन सकेन । व्यवस्थापनले पूर्ववत प्रलोभन र डर देखाएर बिथोल्न सकेन । मजदुरहरू आक्रमक हुँदै गए । कारखाना बन्द भएको दिन बढ्दै गयो ।
व्यवस्थापनले हडतालीहरूलाई नोकरीबाट अवकाश दिने धम्की दियो, कोही डराएनन् । राजनीतिक पार्टीका नाममा विभाजन गर्न खोजियो । कोही पनि भट्किएनन् । प्रहरीद्वारा लाठीचार्ज गराए । घाइते भएकाहरू पनि विचलित भएनन् । दमकलद्वारा पानीको फोहरा हान्न लगाए । माखेसाङ्लो झै बनेको मजदुरहरूको एकता टुटेन ।
हार मानेका व्यवस्थापकहरूले अन्तिम अस्त्रका लागि रूपमा विभिन्न धर्म र साम्प्रदायिक गुरूहरूबाट प्रवचन गराउने निर्णय गराए ।
धार्मिक गुरूहरूको प्रवचन सुरू हुनासाथ मजदुरहरूको एकीकृत समूह चल्मलाउँदै तीन समूहमा विभक्त भयो ।
सम्प्रदायिक नेताको भाषण सकिन्जेलसम्म मजदुरहरू दशौं समूहमा विभाजित भएर एक–आपसमा भिडन्त गर्न थालिसकेका थिए ।
भोलिपल्ट देखि व्यवस्थापनले चाहे अनुरूप कारखाना सञ्चालन हुन थाल्यो ।