मन्दिरा मधुश्री (सं.२०२९ वैशाख २८ गते महादेवस्थान गा. वि. स – १ मुलबारी भोजपुर, सुपुत्री : गणेशप्रसाद कोइराला र डम्बरकुमारी कोइराला) नेपाली आख्यान र कविता विधामा सुपरिचित प्रतिभा हुन् । कथा, लघुकथा, गजल र गीत जस्ता बहुविधामा कलम चलाउँदै आएकी मधुश्रीको बुधनको घोडी (२०७३ कथासङ्ग्रह) प्रकाशित छ । उनको मधुराग (२०७६ गजलसङ्ग्रह) प्रकाशनमा आइसकेको छ । उनका गीतिरचनाहरू रेकर्ड पनि भएका छन् । मधुश्रीले अभिनव हवाई पत्रिका (२०५५) पुर्वाे साइवर पाक्षिक (२०६१) , गाउँघर मासिक, सुलेख साहित्यिक मासिक आदि पत्रपत्रिका पनि सम्पादन गरेकी छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा मधुश्रीको ‘अन्योन्याश्रित’ शीर्षकको लघुकथा समेटिएको छ । यस कथाले लेखक र प्रकाशकबिचका साँठगाँट र विकृत व्यवहारले साहित्यिक क्षेत्रमा विकसित विकृतिको पर्दाफास गरेको छ । -सम्पा. |
पुस्तक विमोचन समारोहको ब्यानर झुन्ड्याइयो । आगन्तुकहरूको उपस्थिति राम्रै थियो । मञ्चमा प्रकाशक संस्थाका अध्यक्ष, प्रमुख अतिथि, कृतिका लेखकलाई आशन ग्रहण गराए उद्घघोषकले । प्रमुख अतिथिबाट पुस्तक विमोचन भयो । पररर ताली बजाए निम्तालुले । पुस्तक निःशुल्क बाँडियो ।
प्रकाशक संस्थाका अध्यक्षले पुस्तक र लेखकमाथि मन्तव्य दिए । “नयाँ प्रयोगवादी वरिष्ठ लेखकको बिल्कुलै नयाँ शैली र भावको पुस्तक प्रकाशन भएको छ । यस्तो गहन कृति प्रकाशन गर्न पाउनु हाम्रो संस्थाको अहोभाग्य हो ।”
केही दिनपछि पुनः कार्यक्रमको निम्तो बाँडियो । उहि ठाउँ निम्तालुहरू उनै । उनै लेखक । उही प्रकाशक संस्था । सबै उस्तै । समय तिथि र ब्यानरको बिषय मात्रै भिन्दै ।
“वरिष्ठ लेखक फलानोको चर्चित कृतिमाथि पाठकीय अन्तक्र्रिया ।”
सित्तैमा पुस्तक लगेका दुइचार जनाले नुनको सोझो गरे । अल्छि लागे पनि चुपचाप सहिदिए इमान्दार निम्तालुहरूले । समोसा चिया र रसभरीले स्वागत भयो ।
पुस्तक निस्केको एक बर्ष पुग्न लाग्दा फेरि अर्को कार्यक्रमको आयोजना भयो । सबैथोक ऐजन ऐजन । ब्यानरको भाका मात्रै फरक । “बेस्ट सेलर अवार्ड सेरोमोनी” अङ्ग्रेजी भाषा नेपाली छापामा ।
नयाँ प्रयोगवादी वरिष्ठ लेखक फलानाको कृति नयाँ प्रयोगमा अत्यधिक चर्चित र सफल भएकोले यस संस्थाबाट प्रकाशित कृतिमध्ये सर्वोत्कृष्ट कृति पुरस्कार दिइएको छ ।
उद्घोषकले प्रमाणपत्रको भाका पढे । पचास हजारको थैली, ताम्रपत्र, दोसल्ला र दुवोको मालाले सुशोभित भए लेखक महोदय ।
समारोहका बिशेष ब्यक्तिहरू लेखक, प्रकाशक बेलुकी एउटै टेबलमा बसे । लेखकको आयोजनामा भएको साँझको कार्यक्रममा प्रकाशकले लेखकलाई धाप मार्दै भने, “ल बधाई छ है यत्रो ठुलो पुरस्कारका लागि ।
“यो सबै यहाँकै कृपा त हो । म कहिल्यै नलेखेकोलाई लेख्न लगाउनु, कृतिलाई सफल र चर्चित बनाउनु, यत्रो पुरस्कार । यहाँको यो गुणप्रति कृतकृत्य छु । लेखकले लर्बरिएको स्वरमा भने ।
“के कुरा गरेको यार ! तपाईंले चाहिँ हाम्रो संस्थामा पाँच लाखको सेयर किनिदिनु सानो गुण हो र ? प्रकाशकको पनि बोली लरबरिएकै थियो ।