कपिल लामिछाने (२०१५,पोखरा महानगरपालिका–२८, माझठाना, सुपुत्र : सुकुमाया र शुकदेव लामिछाने, हाल सिद्धार्थनगर–७, भैरहवा) साहित्यका सिर्जना एवम् समीक्षा दुवै क्षेत्रमा समानान्तर कलम चलाउने प्रतिभा हुन् ।उनी मूलतः सिर्जना विधामा आख्यानतर्फ केन्द्रित छन् । उनी कथा लघुकथा र बालसाहित्यका क्षेत्रमा सक्रिय प्रतिभा हुन् । उनका बाल आख्यानमा मात्र अक्षर (२०५१), काले कुकुर (२०५१), भा“डाकुटी (२०५८), सुनकथा (२०५९), रा“के भूत (२०६१), म्याउ“ म्याउ“ बिरालो (२०६०), नाङ्लाजत्रो फूल (२०६२), रमाइला केही कथा (२०६३), दशैँ, पिङ र हात्ती (२०६३), ठुलो मान्छे (२०६३), मुसाको बस्ती (२०६४), कपिल लामिछानेका बालकथाहरू (२०६६) कर्मले बने बुद्ध (चित्रकथा, २०६७), साथी कछुवा (२०६७), भरी भयो भकारी (२०६८), आऊ साथी गाऊँ गाउ“खाने कथा (चित्रकथा, २०६९), हरियो वन (बालचित्रकथा, २०६९), कौवा किन कालो ? (चित्रकथा, २०७०), घुम्न जाऊँ दोलखा (चित्रकथा, २०७०), सिद्धार्थको धन (२०७२), काग र रोटी (चित्रकथा, २०७१), काग र भ्यागुता (चित्रकथा, २०७२), अप्पू डट कम (२०७४), बाँस र चङ्गा (चित्रकथा, २०७५) जस्ता दर्जनौँ पुस्तकाकार कृतिहरू प्रकाशित छन् । २०३४ सालमा ‘कामना’ शीर्षक कविताबाट प्रवेश गरेका हुन् । आख्यान क्षेत्रमा २०४२ सालको मिर्मिरे पत्रिकामा ‘मोहभङ्ग’ कथा प्रकाशित गरेर प्रवेश गरेका लामिछानेको प्रथम लघुकथा ‘कुप्राहरूको देश’ अणु ९२०४४० रहेको छ । २०४४ मा अणु पत्रिकामा ‘कुप्राहरूको देश’ प्रकाशित गरी लघुकथा यात्रा आरम्भ गरेका कपिल लामिछानेका हालसम्ममा तीन ओटा लघुकथा सङ्ग्रह अन्यथा ९२०५४०, जलमानव ९२०६१० र बोन्साइ ९२०६८० प्रकाशित भइसकेका छन् । उनका अन्यथामा उनन्चालिस, जलमानवमा एकाउन्न र बोन्साइमा त्रिहत्तर लघुकथाहरू सङ्कलित छन् भने सत्तरीभन्दा बढी फुटकर लघुकथाहरू प्रकाशित रहेका छन् । उनी त्रिभुवन विश्वविद्यालयका प्राध्यापकका साथै नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञसभा सदस्य हुन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा लामिछानेको उपचार शीर्षकको लघुकथा समेटिएको छ । यस कथाले कोरोना महामारीका बेला सर्वसाधारणलाई उपचार गर्न परेको समस्यालाई दुर्घटनाका माध्यमबाट देखाई समाजवादी राज्य व्यवस्थाको स्वास्थ्य नीतिको विरोध गरिएको छ ।
-सम्पा.
|
लकडाउन भए पनि अत्यावश्यक कामले बजारतिर जाँदै थिएँ । बाटोमा मास्क लगाएर हिँडेका फाट्टफुट्ट मानिसहरू देखा पर्दै थिए ।
एक किशोर जोडजोडले पैडल मार्दै साइकलमा हुइँकिँदै थियो । पछाडिबाट एउटा मोटर साइकल आफ्नो सामान्य गतिमा आयो । साइकल र मोटर साइकल करिबकरिब समानान्तर हुँदै थिए । सचेतताका लागि हुन सक्छ मोटर साइकलवालाले टिँ गरी हर्न बजायो । साइकलवालाले यसो पछाडि मुन्टो फर्काएर हेर्यो । त्यसरी हेर्दा साइकल थोरै दायाँ मोडियो । मोटर साइकल आफ्नो सामान्य गतिमा सोझो दौडिँदै थियो । साइकलमा ठोकिन पुग्यो । साइकल ढल्यो । मोटर साइकल लड्योलड्यो भएर पनि अडियो र रोकियो । म दौडिँदै त्यहीँ पुगेँ ।
धन्न, दुवैलाई केही भएको रहेनछ । किशोरको दाहिने हातमा सामान्य दरफर्याएको थियो । ठूलो चोटपटक भने देखिएन । साइकलको चेन खसेको थियो ।
मोटर साइकलवालाले एक हजार दिँदै भन्यो, “म अलिक हतारमा छु । ल, औषधी गरिहाल्नू।”
किशोरले त्यो गोजीमा हाल्यो र साइकलको चेन मिलाउँदै भन्यो, “ल, ठीक छ अङ्कल, म फेरि साइकल कुदाउँछु । तपाईंले बाइकले विस्तारै ठक्कर दिनू । म लड्छु अनि फेरि यत्ति दिनू । हुन्छ ?”
मोटर साइकलवाला जिल्ल पर्यो । भन्यो, “अहिले त झुक्किएर पो… जानीजानी काँ हुन्छ रु हुन्न ।”
“प्लि…ज अङ्कल ।”
“किन नि यस्तो जबरजस्ती ?”
किशोरले चेनको कालो लागेको हात जोडेर बिन्ती बिसाएको भावमा भन्यो, “जबरजस्ती होइन अङ्कल, वाध्यता हो । अस्पतालले पिसिआर टेस्ट गर्न दुई हजार लिएर आउनू भनेको छ ।”
***
भैरहवा