पुष्करराज भट्ट (२०३२ असार ४ बैतडी, सुपुत्र राधिकादेवी भट्ट र गोपालदत्त भट्ट) लघुकथा सर्जक र यसै विषयमा उच्च शिक्षा लिने व्यक्तित्त्व हुन् । उनको लघुकथा सिर्जनयात्रा सुदूर पश्चिमाञ्चल साहित्य समाजको मुखपत्र सुुरभिमा वि.स. २०५७ कार्तिकमा प्रकाशित ‘कमैया मुुक्ति’ लघुकथाबाट सार्वजनिक रूपमा आरम्भ भएको हो । उनका प्रकाशित लघुकथा कृतिमा कर्मयोद्धा (२०५९), मुुक्तिदूूत (२०६२) एवम् एक थोपा सागरको (२०६४), आजका लघुकथा (संयुक्त, २०७४) रहेका छन् । उनले सम्पादन गरेका कृतिमा प्रज्ञा आधुनिक नेपाली लघुकथा (२०७३), लघुकथाको सुगन्ध (२०७५) उल्लेख्य छन् । उनको सम्पादनमा विनय कसजूका लघुकथा सिर्जना र विवेचना (२०७७) पुस्तक एवम् पत्रिकामा नवप्रज्ञापन लघुकथा विशेषाङ्क (२०७३) , नेपाली लघुकथा (अङ्क ४, २०७४) वनिता लघुकथा विशेषाङ्क (२०७६) प्रकाशन भएका छन् । उनी सिर्जना, समीक्षा, अनुसन्धान र सङ्गठनका माध्यमबाट निरन्तर लघुकथाको विकासमा लागिरहेका छन् । साहित्यसागरको प्रस्तुत शङ्खलामा भट्टको सोचाइका आयाम शीर्षकको लघुकथा प्रस्तुत छ । यस कथाले पिछडिएको समाजमा पढेलेखेका र प्राविधिक ज्ञानसीप भएका व्यक्तिलाई हेरिने दृष्टिकोणको पर्दा उघारिएको छ ।
-सम्पा. |
आफ्नो अध्ययन पश्चात डा. शिव शर्माले आफ्नै घर भएको क्षेत्रमा काम गरे । उनले जिल्लाको दुर्गम क्षेत्रमा गएर सेवा गरे । एकाएक कोरोनाको महामारी आएपछि त उनको जिम्मेवारी झन बढ्यो । उनले त्यस भेगका जनताको दिनरात सेवा गरे ।
“हाम्रो क्षेत्रमा यतिको डाक्टर पाउनु ठूलो कुरा हो । हिजोको दिनमा अहेब, कम्पाउण्डर पाउने पनि गाह्रो थियो ।”
– “यो दरिद्र बस्तीमा जनताको सेवा गरेर डाक्टर साबले ठूलो गुन लगाउनु भएको छ ।”
– “महामारीले हामीलाई त लगिसकेको थियो, डाक्टर साबले प्राण रक्षा गर्नुभयो ।” स्थानिय व्यक्तिका यस्तै भनाइ सुनिन्थे ।
– एकाएक डाक्टर साबलाई असन्चो भयो । उनले आफ्नो स्वास्थ्य परिक्षण गराए । कोरोना पोजेटिभ देखियो । उनले सबलाई आव्हान गरे, “मलाई अहिलेको महामारीले छोएको छ । मेरो सम्पर्कमा आए जतिले आफ्नो स्वास्थ्य जाँच गराउनु होला ।”
– डाक्टर साबले यो सूचना के दिएका थिए, मानिसहरूमा अर्कै प्रतिक्रिया देखिन थाल्यो । उनलाई देख्नासाथ नमस्कार गर्ने मानिस तर्केर भाग्न थाले । बाटोमा कतै देखिहाले पनि टाढाटाढा हुनथाले ।
– समाजमा मानिसले यसरी प्रतिक्रिया दिन थाले ।
– ”यो डाक्टरको नजिक नपर्नु, यो रोगको भण्डार हो ।”
– “यसले कतिलाई कोरोना सारिसकेको होला ।”
– “रोग निको गर्न आएको भनेको त रोग सार्न पो आएको रहेछ ।”
आजकल डाक्टर साहब सामाजिक मनोविज्ञानको अध्ययन गरिरहेका छन् ।