त्रिलोचन ढकाल (२००६, स्याङ्जा) नेपाली साहित्य र राजनीतिक क्षेत्रमा परिचित प्रतिभा हुन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । यस शृङ्खलामा उनको ‘किसान आन्दोलन’ शीर्षकको कथा समेटिएको छ । लघुकथा संरचनामा रहेको यस कथाले नपाली सिसान र राजनीतिका समस्यालाई जीवन्त रूपमा प्रस्तुत गरिएको छ ।
-सम्पा. |
उखु किसान आन्दोलनमा थिए । उनीहरूले आधा दर्जन वर्ष अगाडिदेखिको उखुको पैसा पाएका थिएनन् । गत साल पनि उखु किसानहरूको यस्तै आन्दोलन भएको थियो । सरकारले पैसा चुक्ता गर्ने सम्झौता गरेर उनीहरूलाई फिर्ता पठाएको थियो । अहिलेसम्म पनि त्यो सम्झौता कार्यान्वयन भएको थिएन रे ।
“अहिले त सम्झौता गरिँदैन । नगद लिएर जाने हो ।” आन्दोलनमा संलग्न किसान नेताले घोषणा गरे ।
“यस्तो ठण्डीमा कसरी बस्नुहुन्छ काठमाडौंमा ?” पत्रकारले प्रश्न अघि सारे ।
“मरे मरिन्छ । घर बसे पनि मरिन्छ । बैँकको ऋण र ब्याज तिर्दा तिर्दा टाट पल्टियौँ । जता गए पनि मर्नु नै छ ।”
“मिल मालिकलाई नै समाउनुहोस् न ।” किन सडकमा आउनुभएको ?
“होटलमा लुकेको छ भनेर लिन पठाएको छु । ऊ ! ऊ ! साथीले ल्याई हाले ।”
चिनी मिलका साहु किसानको गिरफ्तारीमा परेका थिए । उनी लज्जावती झार जस्तै जुम्सुङ्ङ परेर उभिका थिए । उनले सुँगुरले झैँ जमिनमा आँखा गाडेर भने, “किन ल्याउनु भएको मलाई ?”
“हाम्रो उखुको पैसा दिनु पर्यो साहुजी ।”
“दिन्छु त भनिरहेकै छु । तिर्न पो सकेको छैन ।”
“हाम्रो उखुद्वारा बनाइएको चिनी बेचेपछि तुरुन्त तिर्नु पर्थ्यो नि पैसा ।”
“कहाँबाट तिर्नु ? त्यो पैसा त उतिबेलै मन्त्रीले खाइदिएको थियो । मन्त्रीलाई चन्दा नदिइ मिलै चलाउन दिँदैन । अहिले अर्को मन्त्री पैसा तिर भन्छ । म कहाँ गएर न्याय मागौँ । तिमीहरू मेरो आन्दोलनमा सघाओ न बरु । ”
आनन्दआश्रम, फापरथुम, स्याङ्जा
०७७/८/२९