लकडाउन भए पनि अत्यावश्यक कामले बजारतिर जाँदै थिएँ । बाटोमा मास्क लगाएर हिँडेका फाट्टफुट्ट मानिसहरू देखा पर्दै थिए ।
एक किशोर जोडजोडले पैडल मार्दै साइकलमा हुइँकिँदै थियो । पछाडिबाट एउटा मोटर साइकल आफ्नो सामान्य गतिमा आयो । साइकल र मोटर साइकल करिबकरिब समानान्तर हुँदै थिए । सचेतताका लागि हुन सक्छ मोटर साइकलवालाले टिँ गरी हर्न बजायो । साइकलवालाले यसो पछाडि मुन्टो फर्काएर हेर्यो । त्यसरी हेर्दा साइकल थोरै दायाँ मोडियो । मोटर साइकल आफ्नो सामान्य गतिमा सोझो दौडिँदै थियो । साइकलमा ठोकिन पुग्यो । साइकल ढल्यो । मोटर साइकल लड्योलड्यो भएर पनि अडियो र रोकियो । म दौडिँदै त्यहीँ पुगेँ ।
धन्न, दुवैलाई केही भएको रहेनछ । किशोरको दाहिने हातमा सामान्य दरफर्याएको थियो । ठूलो चोटपटक भने देखिएन । साइकलको चेन खसेको थियो ।
मोटर साइकलवालाले एक हजार दिँदै भन्यो, “म अलिक हतारमा छु । ल, औषधी गरिहाल्नू।”
किशोरले त्यो गोजीमा हाल्यो र साइकलको चेन मिलाउँदै भन्यो, “ल, ठीक छ अङ्कल, म फेरि साइकल कुदाउँछु । तपाईंले बाइकले विस्तारै ठक्कर दिनू । म लड्छु अनि फेरि यत्ति दिनू । हुन्छ ?”
मोटर साइकलवाला जिल्ल पर्यो । भन्यो, “अहिले त झुक्किएर पो… जानीजानी काँ हुन्छ रु हुन्न ।”
“प्लि…ज अङ्कल ।”“किन नि यस्तो जबरजस्ती ?”
किशोरले चेनको कालो लागेको हात जोडेर बिन्ती बिसाएको भावमा भन्यो, “जबरजस्ती होइन अङ्कल, वाध्यता हो । अस्पतालले पिसिआर टेस्ट गर्न दुई हजार लिएर आउनू भनेको छ ।”
***