प्रकाशमणि दाहालको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । उनी सिर्जना, समीक्षा, अनुवाद र कोश निर्माण जस्ता बहुमुखी क्षेत्रमा सक्रिय विशिष्ट प्रतिभा हुन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘मन्जुला काकी’ शीर्षकको कथा समेटिएको छ । यस कथाले प्रोढ पुरुष र एकल पुरुषको मनोविज्ञानलाई निकै जीवन्त रूपमा प्रस्तुत गरेको छ ।
सम्पा.
सकसकाइरहने ज्यान करकराइरहने अङ्ग
कतै बलिरहने आगो कतै नपुगिरहने ढङ्ग
गजब गर्छ यो सर्वज्ञ कहलाइने ईश्वर पनि
सप्रिने बाली अल्छी गर्ने माली, मनै भरङ्ग !
भावनामा उम्लिएरै बित्ने यी निष्ठुरी दिनहरू
बिहानदेखि बेलुकासम्म घडी पला र छिनहरू
न फर्किएर सोध्ने कोही न खोजेर हेर्ने कोही
अनिदो आँखाले कति गनिरहनु यी दलीनहरू ?
उनले ध्यानपूर्वक दोहोर्याएर पढे मुक्तक र ध्यान दिएर हेरे मुक्तकसँग भएको फोटो । एउटी पैँतालीस आसपासकी सुन्दरीको फोटो । नाम थियो अन्जुला बिसी । घना कालो कपालको विन्यासमुनि बादलबाट अचानक निस्किएको चन्द्रमा जस्तै लाग्ने गोरो बाटुलो सुन्दर अनुहार । फराकिलो निधार, मिहिनेतपूर्वक धनुषजस्तै पारेर मिलाइएका घना आँखिभुइँमुन्तिर लामा बाक्ला परेलीका बिचमा ताराजत्तिकै चमचमाइरहेका ठुल्ठुला आँखा । दुई आँखाका बीचमा सबै नाप मिलाएर कुनै कारिगरले बनाएजस्तो न अग्लो न होचो, कलात्मक लाग्ने गरी फुकेका पोरासहितको न चेप्टो न थेप्चो अत्यन्त सुहाउँदो नाक, नाकमुनि अलिकति खुल्ने गरी फैलिएका सिलिक्क पातला तर भरिला रङ्गीन ओठ, ओठमुनि अलिकति खाल्डोजस्तो भएर गोलाइमा टुङ्गिएको मस्याइलो चिउँडो र दुइपट्टि माथिदेखि तलसम्म मुहारलाई दुई हातले घप्लक्क ढाके झें ढाकेर बसेका न भुकुल्ले न सेप्रा अत्यन्त सुहाउँदा डिम्पलसहितका गाला …। नाकमा चमचमाउँदो फुली र एकापट्टि देखिँदो कानमा एक इन्चजति लट्किएको झुम्का ।
आत्मविस्मृत भएर उनले कतिबेरसम्म हेरे पत्तै भएन । उमेर ठहराउने प्रयास गरे तर सकेनन् । विचारमा चालीस–पैँतालीस वरपर हो कि ? सम्झिए Women are as old as they look whereas men, as old as they think.
अनि अर्को पनि सम्झिए: अप्सरा शतवरा । अर्थात् आइमाई सयौँपल्ट पनि वरण गर्न सक्छन्, गरिन सक्छन् अरे । सोचे, सायद अप्सरा सधैँ तरुनी नै रहन्छन् भनेको यही होला ।
यिनका खालखालका फोटा आइरहन्छन् फेसबुकमा हो न हो फेसबुक उनकै मात्र हो भने झें । धेरैजसो मुक्तक र अरू केके लेखनसँग । उनले वास्ता गरेका थिएनन् । आजको मुक्तकले च्याप्पै समात्यो । जिन्दगीको प्रारम्भमा प्राथमिक स्कुलको शिक्षक छँदा एउटी राम्री छात्रा थिइन् त्यही नामकी । तिनै ठानेर फ्रेन्ड स्वीकार गरेका थिए, होइन रहिछन् ।
अचानक राजुले “बा, चिया !” भन्दा पो झसङ्ग भए । कुर्सी मिलाएर ऊ आफूतिर नफर्किंदै उनले हतारहतार ब्याक गरे र मोबाइल खल्तीमा हाले ।
“खोइ त तिमीहरूको ?”
“हामी पनि खाने ।” चियाका कप र प्लेटमा बिस्कुटसहित किस्तिी लिएर आउँदैगरेकी सङ्गीताको सङ्गीतमय स्वरले कोठा झङ्कृत भयो । तीनै जना टेबल ओरिपरि बसेर चिया–बिस्कुट खान थाले ।
आठ -नौको लाग्ने राजु र बार -तेरकी लाग्ने सङ्गीता नै हुन् उनका अभिभावक यतिखेर । उनिहरूकी आमाले छोडेर गएको डेढ वर्ष भयो । त्यसपछिका दिनदेखि ती दुई बालकले नै धानेका छन् उनको घर । किनमेल गरेर ल्याउने, पकाउने, बनाउने, सरसफाइ गर्ने र घरलाई घरजस्तो पार्ने । त्यसो त उनी आफू पनि गर्छन् किनमेल र अरू जे नजरमा पर्छ । कतिपल्ट पसल पनि सँगै जान्छन् । कतिपल्ट अफिसबाट वा बाहिरबाट आउँदा देखिएका मनपर्दा तरकारी वा अरू नै कुरा पनि किनेर ल्याउँछन् । तर केटाकेटी यस्तो सिपालु भैसकेका छन्, उनको आवश्यकतै पर्दैन ।
साथै लाग्छ केटाकेटीका मनमा एउटा स्वस्फूर्त विशेष उत्तरदायित्वबोध पनि पसेको छ । अझ सहानुभूतिबोधसहित । आमा हिँडेका दिनदेखि अझ बढी सङ्गीतामा अभिभावकीयता पलाएको छ । महिला भएर पनि हो कि ? उनलाई मनपर्ने पदिनाको अचार बनाउन सम्झिन्छे ऊ एक दिन बिराएर । दिन नबिराई बेलुका ‘औषधि खानुभयो ?’ भन्न आउँछे । सायद उसकी आमा अर्थात् उनकी श्रीमती हिँडेकोमा उसलाईभन्दा उनलाई बढी पीडा भएको उसले महसुस गरेकी छ । उनका लुगाकपडा, ओछ्यान, किताब कापी, कोठाका सरसामान स धैँ मिलाएर राख्ने गर्छे । अझ केके सोधूँसोधूँ वा बताऊँबताऊँ भए झें बोलूँबोलूँ गर्छन् उसका आँखा ।
सम्झिँदासम्झिँदै उनी त्यस अभासी दिनमा पुगिहाले जुन दिन उनीहरू गोदावरी गएका थिए । त्यहीँ भेटिएको थियो त्यो नरोत्तम भन्ने मान्छे । नरोत्तम केसी । उनीहरूको तिमीतिमी चल्दोरहेछ । एकार्कालाई देख्नासाथ उनिहरूका अनुहारमा हजार वाटको बत्ती भुलुक्कै बलेको उनका आँखामा अ झै झलझल छ जस्ताको तस्तै । सरीता र ऊ तेर वर्षपछि भेट भएका अरे । परिवेशका कारण उनीहरू बुरुक्कै उफ्रिएर झ्याम्मै एकार्काका अँगालामा बेह्रिन मात्र सकेनन् ।
पहाडमा घर अलिक टाढा ओल्लोगाउँपल्लोगाउँ भए पनि एउटै स्कुल पढेका रहेछन् एसएलसीसम्मै । एसएलसीपछि सरीता त्यही स्कुलमा पढाउन थालेकी रहिछन्, नरोत्तम चैँ कलेज पढ्न सदरमुकाम गएछ । तर हप्ता–दुई हप्तामा घर आउँथ्यो अरे र फेरि उनीहरू पिपलबोट, धारा, चौतारी, खोला र पाखा चहार्थे अरे । पछि थाहा भयो सरीता र नरोत्तमको जोडी भनेपछि डाँडाखोला सबै हल्लिएको थियो अरे । कुरा सुन्दा उनलाई वुदरिङ हाइटका क्याथराइन र हेथ्क्लिफको सम्झना भएको थियो ।
उसकी आमा निकै बदनाम रहिछन् । रातरातभर दोहोरी गाउनु र बरालिनुपर्ने । यसैबीच गर्भवती भैछन् । बाबु ठहराउन पनि मुस्किल परेको थियो अरे । जेठा पुलामीले बल्लतल्ल साइँला मुखियाको हली, आजीवन एकल, अलिक पाको कार्की कान्छालाई फकाईफुल्याई न्वारान गर्न राजी पारेछन् । बडहरे टारमा चार हलको पाखो बारी र चारमाने खेत दिएर एउटा झुप्रो बनाएर छोरीलाई थन्क्याएका अरे । नरोत्तम भने नामजस्तै पढाइमा पनि र खेलकुद, नाचगान सब कुरामा अगाडि भएर निस्किएछ । यही दौरान एउटै स्कुलमा एउटै कक्षामा पढ्ने पारी गाउँका जेठा पण्डितकी छोरी सरीतासँग उसको घनिष्ठता बढ्दै गएपछि पण्डितलाई बडो अप्ठ्यारो परेछ । पण्डितले त एसएलसी सक्नेबित्तिकै विवाह गरिदिन खोजेका रहेछन् तर निकै ज्याद्री र बोलक्कड केटीले मान्दै मानिन छ । उसले त प्लस टु पढ्न सदरमुकाम नै जान निकै जिद्दी गरेकी थिई अरे । बाबुआमाले दिँदै दिएनछन् । यसो गर्दै गर्दै नरोत्तमले प्लस टु सकेर काठमाडौँ ताकेपछि बल्ल एउटा सिपालु लमीमार्फत् कुरा चलाएर उनीसँग विवाह गराइएको रहेछ ।
तर त्यसदिन गोदाबरीमा भेट भएपछि उनिहरूको पुराना दिनको हरियाली जस्ताको तस्तै फर्किएछ । सरीताको चालढालै फरक पर्न थाल्यो । उसको बोली वचन र व्यवहार नै फरक पर्न थाल्यो । हुन त वैवाहिक जीवनको तेर वर्ष बितेर बार वर्षकी छोरी, सात वर्षको छोरो भैकन पनि सोर वर्षकै लाग्ने सरीतामा अनौठो चन्चलता आउन थाल्यो । मोबाइलमा घन्टौँ भुलिएको पत्तै हुन छोड्यो । त्यसबाहेक पनि कताकता हराएजस्तै गुमसुम रहन थाली । छोराछोरीसँगसमेत् झर्किन थाली । पतिपत्नीको अन्तरङ्गतामा पनि साविक हार्दिकता नरहन र अनदेखा गर्न कठिन हुने गरी कटुता उत्पन्न हुन थाल्यो । फलस्वरूप दिनदिनै ठड्याङठुडुङ बढ्दै जान थाल्यो । हुँदाहुँदै कुरा सम्बन्ध विच्छेदमा पुग्यो । यताबाट मुक्त हुनासाथ उसको चैँ त्यतिन्जेल पनि अविवाहित नै रहेको नरोत्तमसँग स्थापित हुन पुग्यो ।
डेढ वर्ष भयो । कुन आइएनजीओमा काम गर्ने नरोत्तम र ऊ अफ्रिकामा छन् अरे । एउटा छोरो जन्मिएको छ अरे । छोराछोरीसँग पनि त्यति न्यानो छैन सम्बन्ध तैपनि कतकताबाट छानिँदै भएपनि खबर आइपुगिहाल्छ ।
राजु र सङ्गीता ल्यापटपमा अनलाइन कक्षा गर्न थाले । कोरोनाको बन्दाबन्दीले उनको पनि अफिस थिएन । त्यसैले उनले फेरि मोबाइल झिके र छोए अन्जुलाको नाम । फेरि हेरे निकैबेर । मन उडिरह्यो । को होलिन् उनी, कहाँ होला घर, को को होलान् घरमा …। प्रोफाइलबाट पनि केही थाहा पाइँदैनथ्यो । मुक्तक त काइदाको लेख्तिरहिछन् । भाषा पनि निकै माझिएको देखिन्छ । भाव हेर्दा रसिकमाथि विरही पनि रहेको बुझिन्थ्यो । उनलाई त्यस मुक्तकमा सम्बोधित मान्छेसँग कताकता आहारिस लागेजस्तै भयो । उनले कमेन्ट थिचे :
फरक छैन आफ्नो पनि हालत, प्रिय,
उकुसमुकुसमै बाँचिएको छ निष्क्रिय
कुनै पाप गरिएछ अथवा गम्भीर त्रुटि
सपना सपनामै बित्ला जस्तो छ भविष्य ।
गज्जब, तात्तातो जवाफ आयो :
विना सन्दर्भ पक्कै नहुँदो हो कुनै मन्तव्य
हावामा उड्ने भुवाको मात्र हुँदैन गन्तव्य
आफै त पाइँदैन होला संसारमा केही पनि
चाहनाले अवश्य माग्ला उस्तै कुनै कर्तव्य
अहो ! उठेर हिँडिहाल्नु जस्तो पो भयो !! हेर्दाहेर्दै अर्को मुक्तक आइहाल्यो :
पर्खिरहेँ चौतारीमा तिम्रो दर्शन भएन
पूर्व न पश्चिम जुत्ताको घर्षण भएन
ममा केही कमी पो रह्यो कि हजुर ?
यो ज्यानले अँगुलीको स्पर्शन पाएन ।
उनको रुचि ह्वात्तै बढ्यो । फोन न. मागेर भेटै गर्ने हो कि भन्ने सोच्न थाले । दोस्रो मनले त्यति हतार नगरी पहिले उनका बारेमा जान्न राम्रो हुने सुझाउ दियो । त्यसपछि उनी फेरि मुक्तकमै खेल्नथाले :
सायद कुन चौतारी र कति बजे भन्ने थाहा पाएन होला
अथवा कुनै टार्न नमिल्ने जरुरी भैपरिदिनाले आएन होला
नत्र त यस्तो भाग्यमानी हुने अवसर कसले गुमाउँदो हो ?
वा निधो गर्ने उपाय नहुँदा पो कुदिहाल्न मन लाएन होला !
दिन अलिक बढी खटपटीमा बित्न थाले । राति निद्रा अलिक खलबलियो । बेइमान मन कताकता चहार्न थाल्यो । खानु न पिनु पुर्पुरामा चिनु भने झें काम हुनु कहाँकहाँ छोराछोरीको मुख हेरेर आफ्नो कल्पना आ फैलाई गलत लाग्थ्यो घरिघरि यहाँ । तर घरि भने समयले ल्याएका कुरा समयक्रममा सबै ठीक भएर जाने ठानेर आ फै आश्वस्त पनि हुन्थे । उनको असहजता उनीहरूले पनि ताडेछन् क्यारे, प्रश्नवाचक भए उनिहरूका नजर । सङ्गीताले त एक–दुईपल्ट सन्च भएन कि, अफिसबाट केही खबर आयो कि भनेर सोधी पनि । यस्तैमा भोलि कि पर्सिपल्ट अर्को मुक्तक आयो :
पाकेको फल पनि चाहँदैमा त्यत्तिकै नझर्न सक्छ
एक वा दुईपल्ट हान्दैमा कति सिकार नमर्न सक्छ
भन्छन् नि पौरख र पौरखीको हो अरे यो संसार
मान्छेले अठोट गरेपछि उसै त्यो कहाँ टर्न सक्छ !
अरे वा ! चुनौती र प्रेरणा यस्तो मिहिनसँग मिसिएको मानौँ पक्का एक नम्बर ढलौट । मान्छे निकै सिपालु हुनुपर्छ । निकै पठित पनि । माझिएको भाषा, खारिएको बौद्धिकता । उनको पनि मन निकै उड्दोरहेछ । तर के यी मट्याङ«रा उनलाई नै ताकिएका हुन् त ? त्यसो भए उनी पनि परिचित छन् उनीसँग, अथवा कम्तिमा उनको वर्तमान कैरन थाहा भएको हुनुपर्छ । मन झन् झन् अस्थीर र अन्योलग्रस्त हुन थाल्यो । तर त्यस्तो रहनु परेन धेरै दिन ।
भोलिपल्टै अफिस आउनु भन्ने खबर आयो । लकडाउनमा परेको स्कुटी पनि तयार थिएन । बसमा भीड रहेनछ । अगिल्लो सीटमा दुई युवती घरि मोबाइल घरि गफमा मग्न थिए । यसै क्रममा एउटी अलिक छिप्पिएकी जस्तीले अलिक कलिलीजस्तीलाई भनिन् :
“के हेरेकी त्यस्तो डुबेर ?”
“यहाँ हेर् न अन्जुला काकीका मुक्तक । क्या रोमान्टिक छन् !”
अन्जुला र मुक्तक शब्द सुन्नासाथ उनका कान ठाडा भैगए । मोबाइल पहिलीका हातमा आयो र ऊ सस्वर नै पढ्न थाली । ओहो ! उनै मुक्तक :
“सकसकाइरहने ज्यान करकराइरहने अङ्ग
कतै बलिरहने आगो कतै नपुगिरहने ढङ्ग
गजब गर्छ यो सर्वज्ञ कहलाइने ईश्वर पनि
सप्रिने बाली अल्छी गर्ने माली, मनै भरङ्ग !
भावनामा उम्लिएरै बित्ने निष्ठुर यी दिनहरू
बिहानदेखि बेलुकासम्म घडी, पला र छिनहरू
न फर्किएर सोध्ने कोही न खोजेर हेर्ने कोही
अनिदो आँखाले कति गनिरहनु यी दलीनहरू ?
आम्मामामामा, साँच्चै रोमान्टिक रहेछ मुक्तक त !” उनले अर्को मुक्तक पनि पढिन् । “यो त अगिल्लोको जवाफ जस्तो छ ।” उनले अर्को पनि पढीन् । “ओहो ! जुवारी परेजस्तो छ, मुक्तक जुवारी !”
“त्यही त भन्या”, दोस्री बोली र थपी “जोडी भेटेजस्तो छ काकीले !”
“को हुन् यी अन्जुला काकी ? एकल महिला हुन् ?”
“हुन्छ एकल ! नामी वकिल साहेब छन्, अङ्कल । हामी अङ्कल भन्छौँ, आफ्नै काका त होइन । हाम्रै टोलमा छ उहाँहरूको घर । तीन सन्तानकी आमा भएर पनि काकी अलिक रोमान्टिकै हुनुहुन्छ । कान्छो छोराले भरखरै एसइइ दिएको छ । सधैँ शृङ्गारपटार गरेर चिटिक्क रहनुपर्छ उहाँलाई । नचिन्नेले उहाँलाई तीसै नपुगेकी ठान्छ । काका फाइलमा डुबेको डुब्यै, काकी समाजसेवामा कुदेको कुद्यै ।”
पहिली युवती निकै गम्भीर भइन् । “भनेपछि केही गडबड त छ । लोग्नेमा सायद कुनै कमजोरी होला । त्यस्तो केही छ ?”
“खोइ त्यस्तो त केही थाहा छैन तर, हो, देख्नमा अलिक आकर्षक लाग्नुहुन्न अङ्कल, खबटे अनुहार र निकै पातलो ज्यान छ ।” केही सोच्तै उनले थपिन् “अनि काकीको तुलनामा त्यस्तो स्टाइलिस्ट पनि लाग्नुहुन्न । तर त्यससँग यो मुक्तकको के सम्बन्ध ? उहाँको सोख होला नि कवि हुने !”
“हँ ? त्यति मात्र होला त ? ठ्याक्कै उकुसमुकुसिएका कुमारी आवाज नै लाग्छन् यी मुक्तक, लाग्दैनन् ? कत्रो छटपटी छ, यो सुन् त । उनले पहिलो मुक्तक फेरि पढिन् :
“सकसकाइरहने ज्यान करकराइरहने अङ्ग
कतै बलिरहने आगो कतै नपुगिरहने ढङ्ग
गजब गर्छ यो सर्वज्ञ कहलाइने ईश्वर पनि
सप्रिने बाली अल्छी गर्ने माली, मनै भरङ्ग !
प्रष्टै छैन र ? अनि यो जुवारी ? एक से एकै छैनन् र सबै ?”
“त्यस्तै हुनुहुन्छ अन्जुला काकी । अस्ति मेरो श्रीमान्लाई ह्यान्सम हिरोजी भन्दिनुभएछ । एउटा केसमा वकिलसँग परामर्स गर्न जानुभएको थियो । एकछिन पर्खिनुपरेछ । मेरो श्रीमान् भन्ने थाहा पाएपछि ‘वाउउउ, ह्यान्सम हिरोजी’ भन्नु भएछ र असमयै भए पनि चिया खुवाएरै छोड्नुभएछ । भन्दै हुनुहुन्थ्यो ‘क्या खतरा वकिल्नी साहेप त !’
झन् गम्भीर भइन् पहिली युवती । दोस्री बोलिन् “किन, के भयो र ?”
“केही भएन । मनोविज्ञानको एउटा सिद्धान्त याद आयो ।”
“तेरो साइकियाट्रिस्ट खोपडीलाई जे पनि मसलै हुन्छ । के सिद्धान्त, भन् त ?”
“जीवनमा मान्छे कहिल्यै सन्तुष्ट हुँदैन, खासगरी भोजन, सम्पत्ति, अधिकार र यौनले । यसलाई obsessive compulsive disconten त पनि भन्दछन् जसलाई नेपालीमा असन्तुष्टिको बाध्यताकारी अतिग्रन्थी भन्न सकिएला । यी असन्तुष्टि दबिएर भित्रभित्रै उम्लिरहेका हुन्छन् र खासगरी हेराइ वा देखाइ, सुनाइ र बोलाइका माध्यमबाट व्यक्तिव्यक्तिअनुसार स्थिति स्थितिमा विभिन्न किसिमले उछाल्लिएर पोखिने पनि गरिरहन्छन् आनुभूतिक मात्र भएर वा सक्रियात्मक नै भएर । सक्रियात्मक पनि खासगरी अर्ति–उपदेशका रूपमा, ख्यालठट्टाको रूपमा, कला–साहित्यका रूपमा, दयामाया–सरसहयोगका रूपमा, धर्मकर्मका रूपमा, भूलचुकको बहानाका रूपमा, मौकामा जोरजबर्जस्ती र अपराधका रूपमा समेत् । यसमा पात्र, स्थान, समयानुसार कुनै कम कुनै बढी बाध्यताकारी हुन सक्छ ।” थूक निल्न रोकिएर उनले भनाइ जारी राखिन् “यसको पनि, त्यसो त, सीमा हुन्छ स्वाभाविक normal र अस्वाभाविक abnormal। सीमाभरि स्वाभाविक मानिन्छ जुन सबैमा हुन्छ भने सीमाभन्दा कम वा बढी भएपछि अस्वाभाविक हुन्छ जुन धेरैमा कम केहीमा बढी पाइन्छ । अर्को, यसैसँग सम्बद्ध सिद्धान्त हो आत्मप्रसंसा र आत्मप्रदर्शनको सिद्धान्त जसलाई Narcissism भन्दछन् । सबै मान्छेमा आफूलाई प्रदर्शन गर्ने रहर हुन्छ, खासगरी आफ्नो रूप र काम । एक हदसम्म यो व्यक्तित्व विकास र स्थापनाको निमित्त आवश्यक पनि हुन्छ । यो आफूप्रति अरूको प्रतिक्रियाअनुसार समीक्षा, सिकाइ र सुधारका अवसरको मार्ग पनि हो । यसको पनि स्वाभाविक–अस्वाभाविक सीमा हुन्छ । कतिमा यो चाहिनेभन्दा कम हुन्छ भने कतिमा बढी । असन्तुष्टिसँग आत्मप्रसंसा पनि मिसिएपछि भने कुरा झन् जटिल हुन सक्छ ।”
बस स्टप आइपुगिहाल्यो तर जति सुने त्यति नै पर्याप्त थियो उनलाई गम्भीर पार्न ।