मोतीलाल पराजुली (वि.स. २०१३ साल माघ ६ गते चापाकोट कास्की २०७८ ज्येष्ठ, काठमाडौँ) नेपाली साहित्यको लोकसाहित्यिक जगत्का विशिष्ट अन्वेषक व्यक्तित्व हुन् । उनी नेपाली लोकसंस्कृतिका धुरन्धर अनुसन्धानकर्ता र त्रिभुवन विश्वविद्यालयका प्राध्यापक थिए । उनका नेपाली लोकगाथा (२०४९), मोतीलाल पराजुली (२०५३), धर्मात्मा राजा (२०५९), साधारण नेपाली (सहलेखन–२०६२), सोरठी नृत्य नाटिका (२०६३), नेपालमा प्रचलित नृत्य र नाटिकाहरू (२०६३), बुद्धिमान पुरुष (२०६५), बत्तीसमाराको कथा (२०६५) कालिनाग र राजकुमार (२०६५), मनचिन्ते औँठी (२०६५), नेपाली लोकसाहित्यको रूपरेखा (२०६८), नेपाली लोकनाटक (२०७०) नेपाली लोककथा सिद्धान्त र विश्लेषण (२०७१) जस्ता गहन कृतिहरू लोकसाहित्यका क्षेत्रमा प्रकाशित छन् । उनी विशेष गरी नेपाली लोककथा र लोकनाट्यको अन्वेषण र विश्लेषणमा लागिरहेका थिए । उनले विश्व लोककथामा भएका सैद्धान्तिक प्रयोग नेपाली लोककथामा भित्र्याउन विशेष योगदान दिएका थिए । २०५६ सालमा ‘नेपाली लोककथामा अभिप्राय’ शीर्षकमा विद्यावारिधि गरेका पराजुली नेपाली लोककथाको एउटा मानक इतिहास हुन् । उनको निधनले नेपाली साहित्यमा अपूरणीय क्षति भएको छ । उनको श्रद्धा र सम्झना स्वरूप उनीद्धारा सङ्कलित एवम् बालोपयोगी ढङ्गले पुनः सिर्जित ‘कालजीत’ कथालाई साहित्यसागरको प्रस्तुत शृङ्खलामा प्रस्तुत गरिएको छ । यो कथामा भनिएझैँ लेखक स्वयम् कालजीत हुन नसके पनि यस कथाले बालबालिकाको र पाठकको आत्मविश्वास बने बलियो बनाउँछ । यस कथाले आत्मविश्वास र धैर्यले मानिसलाई विजयी बनाउने यथार्थ उद्घाटन गरेको छ । यो कथा पराजुलीले यसअगाडि कुनै पनि सञ्चारमाध्यममा सार्वजनिक गरेका थिएनन् । यस कथाको प्रकाशनबाट पराजुलीप्रति हार्दिक श्रद्धासुमन ।
– सम्पा. |
एकादेशमा एउटा गाउँ थियो । त्यस गाउँमा किसानहरू बस्तथे । खेती किसान गर्ने, गाईवस्तु पाल्ने गरेर आफ्नो जीविका चलाउँथे । गाउँ पहाडको काखमा थियो । पहाडको टाकुरामा वन र खर्क थियो । हिउँदका दिनमा किसानहरू वनमा घाँस दाउरा लिन जाने गर्दथे ।
एक दिन त्यस गाउँका १०-१२ ओटी आइमाईहरू घाँसदाउरा लिन भनेर वनमा गए । धेरै टाढा गएर घाँसदाउरा गर्दाखेरि त त्यस ठाउँमा एउटा अजङ्को राक्षस (काल) ले एउटी आइमाईलाई समातेर खान थाल्यो । त्यस आइमाईले चिच्याएर हारगुहार गरी । वरपरका सबै आइमाईहरू त्यहाँ जम्मा भए । डरलाग्दो राक्षसले एउटी आइमाईलाई खाइरहेको थियो । उनीहरूले राक्षसका अगाडि केही गर्ने हिम्मत राखेनन् । सबै डराएर रुँदै कराउँदै गाउँमा गुहार माग्न गए ।
राक्षसलाई मारेपछि कालजीतले गाउँलेहरूलाई बोलायो र सबै मिलेर राक्षसको सद्गति गरे । त्यसपछि कालजीतले मावलीमा गएर आमालाई लिएर आयो र आफ्नो घर खेतीबाली सम्हाली बस्न थाल्यो । काललाई पनि जितेर गाउँमा सुख शान्ति ल्याएको हुनाले गाउँलेहरूले कालजीतलाई सम्मानपूर्वक राख्न थाले ।
घाँस दाउरा गर्न वनमा गएका आइमाईहरू कराउँदै गुहार माग्दै गाउँमा आएको देखेपछि सबै गाउँलेहरू जम्मा भए र वनमा भएको उपध्रोको बारेमा जानकारी लिए । अब वनमा जानु पर्र्यो र त्यस राक्षसलाई मार्नुपर्र्यो भनेर सबै गाउँलेहरू हात हतियार लिएर राक्षस भएको ठाउँतिर गए । त्यस ठाउँमा पुग्दा राक्षसले आइमाईको मासु खाइसकेर हाड चवाउँदै थियो । गाउँलेहरूले हल्लाखल्ला गर्दै राक्षसमाथि ढुङ्गा वर्षाउन थाले ।
राक्षसले आफ्नो शरीर फुलाउँदै लगेर एउटा पहाडजत्रो बनायो र भन्यो – ‘हेर मनुवा हो ! यस आइमाईको काल आएको र मलाई भोक लागेको हुनाले मैले यसलाई खाइदिएँ । अब तिमीहरूले पनि मलाई जिस्क्याउँछौ भने म तिमीहरूलाई पनि खाइदिन्छु’ भनेर मुख ‘आँ’ गरेथ्यो, ती सबै गाउँलेहरू डराए । त्यसपछि गाउँलेहरूले सल्लाह गरे – सबै व्यक्तिहरू एकैचोटि मर्नुभन्दा त बरु यस राक्षसलाई सधैँ आहारा पुर्र्याई दिऔँ । गाउँलेहरूको सल्लाह मिल्यो र उनीहरूले राक्षससँग भने – ‘हे काल ! तिमी नरिसाऊ । हामी तिम्रो आहाराको व्यवस्था गरिदिने छौँ ।’ त्यसपछि राक्षसले शरीर सानो बनाउँदै लग्यो र पहिलेको जस्तै भयो ।
‘हे मानव हो ! तिमीहरूले मलाई दैनिक एक मान्छे र एक मुरी अन्न दिन्छौ भने म तिमीहरूलाई केही गर्दिन, नत्रभने म तिमीहरूको गाउँ नै उजाड बनाइदिन्छु ।’ गाउँलेहरूलाई फसाद पर्र्यो तापनि उनीहरूले यो सर्त मञ्जुर नगरी सुख पाएनन् । त्यसपछि दैनिक एक मान्छे र एक मुरी अन्न राक्षसलाई दिने कबोल गरेर गाउँलेहरू गाउँमा फर्के ।
गाउँलेहरू गाउँमा आएपछि उनीहरूले एउटा नियम बनाए । हरेक कुरियाको पालो बाँधे र आफ्नो पालो पर्दाका दिनमा एकमुरी अन्न र एक जना मान्छे राक्षसको आहाराको निमित्त हरेक कुरियाले व्यवस्था गर्नुपर्ने नियम बसाले । यो क्रम धेरै दिनसम्म चलिरह्यो ।
एउटा घरमा एउटी दोजिया आइमाई थिई । उसको लोग्ने परदेश गएको थियो । सासू ससुरा मरिसकेका थिए । त्यस दिन राक्षसलाई आहारा जुटाउने जिम्मा त्यही आइमाईको थियो । आफू एक्ली भएकी हुनाले आफूबाहेक अरू मानिस आहारा पठाउनका लागि कोही पनि थिएन । आफ्नो पेटको बच्चाको मायाले गर्दा ऊ राक्षसको आहारा हुन जान पनि सकिन । त्यसैले एक मुरी अन्न भरेर घरको पिँढीमा राखी अनि आफू भागेर माइतमा गई ।
दिउसो बाह्र बजेसम्म पनि आफ्नो आहारा नआएपछि त्यो राक्षस गाउँको नजिक गयो र गाउँ नै थर्कने गरेर करायो । यसरी राक्षस कराएपछि गाउँलेहरू पालो परेकी आइमाईको घरमा गए । त्यहाँ आइमाई थिइन । उसले एक मुरी अन्न छुट्याएर राखेको देखे । राक्षस पनि गाउँमा नै आइपुग्यो । त्यसपछि गाउँलेहरूले राक्षससँग भने – ‘हे राक्षस राज ! आज पालो परेकी आइमाईले धोका दिई । आज अन्न खाएर बस्नुहोस् । भोलिदेखि सर्त बमोजिमको आहारा दिनेछौं ।’ राक्षसले गाउँलेहरूको आग्रह स्वीकार गर्र्यो र त्यस आइमाईले राखेको अन्न खाइ त्यसैका घरमा बस्न थाल्यो ।
गाउँलेहरूले सर्त बमोजिमको आहारा राक्षसलाई दिँदै गर्न थाले ।
त्यो आइमाई माइतमा नै बस्न थाली । ४ महिनापछि त्यो सुत्केरी भई र उसले छोरो जन्माई । छोराको नाम कालजीत राखी । समय विस्तारै बित्दै गयो । छोरो पनि बढ्दै गयो । छोरो लगभग १०-१२ वर्षको भइसक्यो । एक दिन कालजीत साथीहरूसँग खेल्न लागिरहेको थियो । उसका साथीहरूले ‘भतुवा’, ‘विनाबाबुको छोरो’ भनेर गिज्याउन थाले । आफ्ना बाबुको माया नपाएको कालजीतको मनमा यी बचनबाणले घोचे र ऊ रन्थनिंदै घरमा आयो । त्यसपछि उसले आमासँग सोध्यो – ‘हाम्रो घर कहाँ हो ? मेरा बुबा कहाँ हुनुहुन्छ ?’ छोराले एक्कासि यस्ता प्रश्न गरेको सुनेर त्यस आइमाईले छोरालाई धेरै सम्झाउने प्रयास गरी ।
छोराले किमार्थ मानेन । त्यसपछि लाचार भएर त्यस आइमाईले आफ्नो पूर्वकथा बेलिविस्तार लगाएर सुनाई । कालजीत साहसिलो केटो थियो । साथीहरूको वचनबाण खप्नुभन्दा आफ्नै घरमा जानु जाति भनेर उसले आफ्नो घरमा जाने निर्णय लियो ।
भोलिपल्ट कालजीतले आफू आफ्नै घरमा जाने निर्णय आमालाई सुनायो । यो निर्णय सुनेर आमा साह्रै नै आत्तिई । कालजीतले आमालाई सम्झायो र बाटोमा खाने खाजा तयार गर्न लगायो । आमाले मिठा रोटी पकाइदिई । कालजीतले ती रोटीहरू झोलामा राख्यो र आफ्ना घरतिर हिँड्यो ।
गाउँमा गएपछि गाउँलेहरूसँग सोधपुछ गरी उसले आफ्नो घर पत्ता लगायो र आफ्ना घरमा राक्षस बस्ने गरेको कुरा पनि उसले सुन्यो ।
कालजित आफ्नो सरासर घरमा गयो । ढोका बन्द रहेछ । उसले ढोका ढक्ढकायो । भित्रबाट राक्षसले गर्जदै भन्यो – ‘ढोका ढक्ढकाउने को हो ?’ ‘म हूँ मामा ! तपाईंको भाञ्जो’ भनेर कालजीतले राक्षसलाई फकायो । भाञ्जो साइनो सुन्ने बित्तिकै राक्षसको मन परिवर्तन भयो । उसले ढोका खोलिदियो । कालजीत भित्र पस्यो र आफ्नी आमाले बनाएका मीठामीठा रोटी राक्षसलाई खान दियो । राक्षसले रोटी मीठो मानेर खायो र खुसी पनि भयो ।
कालजीतले हरेक दिन गाउँमा गएर मीठामीठा खानेकुरा ल्याएर राक्षसलाई खुवाउँथ्यो र दुवै जना मिलेर बस्थे । राक्षस घरबाट बाहिर जादैनथ्यो । गाउँलेहरूले पनि राक्षसको खानेकुरा त्यसै घरमा नै ल्याइदिन्थे । कालजीतलाई यो कुरा मन परेन । त्यसैले उसले राक्षससँग भन्यो –‘मामा ! तपाईं यो घरबाट बाहिर जानुहुन्न, किन ?’ राक्षसले भन्यो – ‘बाहिर गएर के गर्ने ?’ कालजीतले भन्यो – ‘हेर्नुहोस् मामा ! बाहिर घुम्न जाने हो भने राम्राराम्रा चीज देख्न पाइन्छ । मीठोमीठो खान पाइन्छ । यसरी घरमा बस्दा त अत्यार लाग्छ ।’ त्यसपछि राक्षसले भन्यो – ‘हेर भाञ्जा ! मलाई अन्त जान त मन छैन तर एकपटक भगवान्लाई भेट्न जान मन लागेको छ ।’
‘ए मामा ! त्यसो भए तपाईं भगवान्लाई भेट्न गैहाल्नुहोस् र मेरो परमआयु पनि सोधेर आउनुहोस् है ।’ राक्षसले ‘हुन्छ’ भन्यो तर ऊ गएन । त्यसपछि कालजीतले दिनदिनै यो कुरो दोहोर्र्याउन थाल्यो । राक्षसलाई पनि दिक्क लाग्यो र एक दिन भगवान्लाई भेट्न भनेर हिँड्यो । एकहप्ता जति त्यो राक्षस त्यस गाउँबाट अलप भयो ।
अब राक्षस फर्केर आएपछि यसलाई कसरी मार्ने ? भन्ने युक्ति सोच्तै कालजीत त्यसैको तयारीमा लाग्यो ।
एक हप्ता पुगेको दिन राक्षस आइपुग्यो । कालजीतले उसको सेवा गर्र्यो र खुसी बनायो । त्यसपछि उसले सोध्यो – ‘मामा ! मेरो परमआयु कति वर्षको छ अरे ! भगवानले के भन्नुभयो ?’ राक्षसले भन्यो – ‘हेर भाञ्जा, तिम्रो आयु त उनासी वर्षको छ रे ! त्यस समयसम्म तिमीलाई कसैले केही पनि गर्न सक्तैन रे !’ कालजीतले भन्यो – ‘हैन, मेरो आयु किन उनासी वर्ष राखेको होला ? कि असी वर्ष बनाइदिएको भए हुन्थ्यो कि त अठहत्तर वर्ष बनाइदिएको भए हुन्थ्यो । ए मामा ! लौन तपाईं गएर भगवान्सँग मेरो आयु कि एक वर्ष बढी कि एक वर्ष घटी बनाइदिन भन्नु पर्र्यो’ भनेर जोड गर्न थाल्यो । राक्षस पनि यो कुरो लिएर भोलिपल्ट नै भगवानसँग गयो र कालजीतको आयु कि एक वर्ष घटाइदिनुपर्र्यो कि एक वर्ष बढाइदिनुपर्र्यो भनेर भन्यो । भगवान्ले भन्नु भयो – ‘हेर काल ! यो आयु भावीले जुन दिन जति लेख्यो, लेख्यो । त्यसलाई घटाउन पनि सकिँदैन, बढाउन पनि सकिँदैन । त्यसैले कालजीतलाई यही कुरो सुनाइदे’ भनेर भगवान्ले भन्नुभयो । त्यस राक्षस (काल)ले पनि भगवान्ले कालजीतका आयुका बारेमा भनेका सबै कुरा बताइदियो ।
मेरो आयु उनासी वर्षको छ र भगवान्ले पनि एक वर्ष तलमाथि गर्न सक्नुभएन भने यो राक्षसले पनि मलाई केही गर्न सक्तैन भन्ने कालजीतले सोच्यो ।
भोलिपल्ट कालजीत बिहानै उठ्यो । बाहिरबाट धेरै दाउरा ल्याएर अँगेनामा राख्यो र आगो फुक्यो । त्यसपछि फलामका आँसी, बाउसा, बञ्चरा, ओदान लगेर त्यही आगोमा ततायो । फलाम रातो भएपछि सनसाले रातो फलाम समातेर राक्षसलाई हान्न थाल्यो । तातो फलामको डाहले गर्दा राक्षस त्यहीँ लड्यो । कालजीतले फलामका राता डल्लाहरूले राक्षसलाई हान्दै रह्यो । केही बेरपछि राक्षस त्यहीँ मर्र्यो ।
यसरी राक्षसलाई मारेपछि कालजीतले गाउँलेहरूलाई बोलायो र सबै मिलेर राक्षसको सद्गति गरे । त्यसपछि कालजीतले मावलीमा गएर आमालाई लिएर आयो र आफ्नो घर खेतीबाली सम्हाली बस्न थाल्यो । काललाई पनि जितेर गाउँमा सुख शान्ति ल्याएको हुनाले गाउँलेहरूले कालजीतलाई सम्मानपूर्वक राख्न थाले । सानो व्यक्तिको बुद्धि र पुरुषार्थले गाउँमा शान्ति ल्याउन सफल भयो ।।
सुन्नेलाई सुनको माला
भन्नेलाई फूलको माला
यो कथा वैकुण्ठ जाला
भन्ने बेलामा तुरुन्त आइजाला ।।