नारायण नेपाल नेपाली साहित्यका परिचित स्रष्टा एवम् अनुवादक हुन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । उहाँ उनको पेटको सवाल’ शीर्षकको कथा समेटिएको छ । यस कथाले भोकको समस्यालाई केन्द्रमा राखेको छ ।-सम्पा. |
रूपाताल नदी हुँदै खेरीको कुरो हो, नदीको पूर्वी पाखामा बढेमानको गाउँ थियो । चापाकोट भनिने त्यस गाउँमा एक जना डुङ्गावाला बस्थे । उनको नाउँ पदम थियो । उनी अविवाहित थिए तर घरमा तीन चार आफन्त सधैँ रहन्थे । नदी तर्ने तार्ने पेसा राम्रै चलेको हुनाले कमाइ राम्रै थियो । उनी कमाएर ल्याउने अनि अरू सदस्यहरू पकाउन सघाउँथे । सबै मिलेर खान्थे । जिन्दगी राम्रै चल्दै थियो ।
एक दिनको कुरा हो, पदमले एक खल्ती सिक्का कमाए । त्यत्ति धेरै कमाएका उनी मनमा कुरा खेलाउँदै घरतिर लम्किए । चामल तरकारी केही जोहो थिएन । घर पुगेपछि सबैलाई बोलाए र कमाएको कुरो बताए । छिन्द्रिङ्ग छिन्द्रिङ्ग सिक्का बजाउँदै खुसीले बोलेको सुनेर अरूले पनि भातभान्साको कुरा बिर्सिए । रात छिप्पिँदै थियो । त्यस रात केही पनि खानेकुरा नखाइ निदाए ।
अर्को दिन बिहानै पदम काममा निस्किए । बाटामा रहेको पसलमा भोजन गरे र मस्त काममा लागे । फेरि कमाइ भयो । खल्तीभरि पैसा लिएर अरू सामान केही नलिइ उनी घर पुगे । उनी फेरि आफ्नो कमाइका बारेमा बोल्न थाले । एक छिनपछि सुत्न गए । अरू आफन्त पनि सुत्न गए ।
अघिल्लै साँझदेखि भोकै भएकाले उनीहरूलाई निन्द्रा परेन । यता फर्किए उता फर्किए र उल्टासिधा बोल्न थाले ।
“पैसा कमाएपछि त खान पनि नपर्ने रहेछ, हगि ?” एक जनाले कुरो उक्काए ।
“मैले पनि त्यस्तै सुनेको थिएँ, यहाँ त सबै प्रत्यक्ष भयो ! हो रहेछ ।” दोस्रा बोले ।
“त्यै भएर त मलाई कतै केही गर्न मन हुँदैन त । केही गर्न थाल्यो पैसा कमाइएला । यी, खान नपर्ने हुँदो रहेछ । चोरहरूबाट जोगाउनु पनि प¥यो । समस्या छ ! अनि यस्ता कुरा हेर त मैले कति राम्ररी बुझेको छु !” तेस्रा बोले ।
जतिसुकै कुरा गरे पनि घाँसकुँडो खान नपाएर वस्तु कराएजस्तो उनीहरूको पेट कराउन थालेको थियो । आफ्नो खल्तीको दुम्मु उनीहरू नमास्ने अनि पदमले खाने सामान नल्याउने भएबाट उनीहरू भोकभोकै रहँदै थिए ।
पूरा छ दिन बितेपछि भने अवस्थाले नयाँ मोड लियो । दिउँसो ओछ्यानमा त्यसै पल्टी बसेका उनीहरू गफिँदै थिए । गफैगफ एक जनाले भने ः पदम मोटोघाटो नै छ, हामी मात्रै सुकेनास लागेजस्तो भएका छौँ । सायद उसले चैँ कतै केही खाएर हामीलाई उल्लु बनाइरहेको त छैन ? नखाइ त नसकिने रहेछ । यहाँ हामीलाई सुत्न पल्टेर बस्न त गाह्रो हुने भैसक्यो ऊ भने ठमठम हिँडेर काम गरिरहेको छ, पैसा कमाइरहेको छ !”
“त्यस्तो त होइन होला, भाइ ! ऊ जस्तो मनकारी यस गाउँमा अर्को को छ र ? आफूले खाने अरूलाई नदिने त हुँदैन नि । फेरि खाइपाइ आएको, यस्तो मनमोजी पाराले हामी बसिरहेको बेलामा सेवकप्रति नकारात्मक भावना राख्नु ठीक छैन भन्छु है म ता !“
दोस्राले कुरा सक्नेबित्तिकै तेस्रा बोलेः “ल, तपाईंहरूकै कुरा सद्दर ! तर पनि त, कुरो त बुझ्नुपर्छ होला है । पैसा कमाउँदैमा खान नपर्ने त अचम्मै लागेर आयो, बा ! जे होस्, बरू मिल्छ भने अब साँझ पर्ने बेला भयो, ऊ आउने बेला हो । हामी तीन जना तीन ठाउँ लुकेर बस्ने र उसको चियो गर्ने । रहस्य खुल्ला नि एक दुई दिनमा त ।”
पछिल्लो भनाइअनुसार जसोतसो ज्यान घिसार्दै उनीहरू यौटायौटा गौँडामा बसे । नभन्दै पदम आउँदै थिए । पछिल्लाले पछ्याए । केही बेरपछि दोस्राले पनि पछ्याए । पहिलाले पनि उसैगरी पछ्याए । उनीहरू तीन जना पछिपछि र पदम अघिअघि, एक पाराको लुकामारी चल्दैगयो । घर पुग्नुभन्दा एक चोक अगाडिको खाना पसलमा पदम पसे । उनीहरू पनि थोरै खासखुस गरे र त्यतै पसे ।
गफ चल्दै गयो ।
“हेर, सधैं अरूको भरमा बसेर हुँदैन । सकेको काम गर्नुपर्छ । यत्तिका वर्ष भयो, म खुरुखुरु काममा छु, तिमीहरू चैँ बसेर खाएर त्यस्सै दिन कटाइरहेका छौ । आफूले सक्ने र गर्न मिल्ने कुनै न कुनै काम गर्नु त पर्छ नि । हो कि होइन, भन त ।”
“त्यो त हो ।” पहिलाले भने ।
“लु, दायाँबायाँ थाहा छैन, इ पसलेलाई कामदार चाहिएको छ, कुरा मिले आँटे हुन्छ । म भन्दिन्छु ।”
पदमले उनीहरूलाई टन्न खान दिए । त्यहीँ काम पनि मिलाइदिए ।
सबैजना खुसी हुँदै घरतर्फ लागे ।