गीता सापकोटा कविता र आख्यान दुवैतर्फ कलम चलाउँदै आएकी प्रतिभा हुन्। उनको परिचय साहित्यसागरको माधव घिमिरे विशेषाङ्कमा समेटिइसकेको छ। यहाँ उनको ‘दोष कसको’ शीर्षकको कथा समेटिएको छ। यस कथाले वर्तमान नेपालको शैक्षिक, सामाजिक एवम् आर्थिक विसङ्गतिलाई यथार्थपरक ढङ्गले प्रस्तुत गरेको छ।
-सम्पा.
———–
मैले अध्ययनलाई मात्र निरन्तरता दिन पाइँन। अध्ययनसँगै हात मुख जोर्ने काम गर्नु पथ्र्यो । गाउँबाट काठमाडौँ आएर बस्न त्यति सजिलो थिएन। अध्ययनसँगै सामान्य किसिमका निजी विद्यालयमा पढाउँथेँ। पेन्सन पट्टाको वर्ष गणना नभए पनि शिक्षणलाई सेवा र वयक्तित्व विकास ठानेँ। अनुभव हुँदै गयो। राजधानीको निकै नाम चलेका स्कुलमा पढाउँन थालेँ।
पाँचसात वर्षअघिदेखि नै अर्को एउटा सामुदायिक विद्यालयका माथिल्ला कक्षामा पढाउँथे। केही क्याम्पसको पार्टटाइम अध्यापक पनि थिएँ। साहित्य सिर्जना गर्न,समालोचना गर्नमा पनि रुचि थियो। समस्यै समस्याबिचबाट मैले दर्शनाचार्यसम्मको योग्यता पनि बनाइसकेकी थिएँ। अब मैले ठुलाठुला विद्यालयमा शिक्षकको जागिर नपाउने कुरै थिएन। मभरि अनुभव र आत्मविश्वास थियो।
नजिकै थियो मनले खाएको नामी विद्यालय। एकदिन शैक्षिक सत्र प्रारम्भ हुनुभन्दा अगाडि यसो भेटघाटका लागि गएँ। विद्यालयका प्रिन्सिपलसँग भेटेँ। बढो शालिनर व्यवहारिक लाग्यो मलाई प्रिन्सिपल। केहीबेर कुराकानी गरेपछि उनले नै नयाँ शैक्षिक सत्रमा योग्य सामाजिक विषयको शिक्षक चाहिएको कुरा उठाए। मैले खोजेकै कुरा भयो। केहीबेरको कुराकानीपछि आफै पनि इच्छुक भएको कुरा उठाएँ।
प्रिन्सिपलले हाँसेर भने, आगामी शैक्षिक सत्रदेखि यसै विद्यालयमा आइदिनुस् न त।
मैले खोजेको कुरा भइरहेको थियो। फेरि सोचेकै कुरा भयो भनिहाल्नु पनि भएन। परिस्थिति बुझेर मैले सोचेर फोन गरुँला भनेँ।
प्रिन्सिपलसँग केहीबेर अफिसमा कुराकानी भयो। केहीछिन पनि उनले नै मलाई विद्यालय परिसर घुमाए । पछाडितिर अगाडिबाट देखेभन्दा ठूलो क्षेत्रफल रहेछ विद्यालयको। थुप्रै भवनहरू। कक्षाकोठामा विद्यार्थीहरू पढिरहेका । शिक्षकहरू रमाइलो मानी मानी विद्यार्थीसित अन्तक्रिया गरिरहेका। मविद्यालयको वातारणप्रति निकै आकर्षित भएँ।
प्रिन्सिपल भन्दै थिए, “खाना र खाजाको व्यवस्था पनि यहीँ हुन्छ। उपत्यकाभित्र जुन ठाउँबाट पनि बच्चा गाडीमा उठाउने व्यवस्था छ। तपाईँको डिपार्टमेन्ट छुट्टै हुन्छ। तपाईँलाई नै डिपार्टमेन्ट हेडको जिम्मेदारी हुनेछ।”
म सबै कुरा सुन्दै विद्यालयलाई राम्ररी नियालिरहेकी थिएँ। मैले मुख मात्र फोरिहालेकी थिइनँ। मनमा लागिरहेको थियो –“यहाँ पढाउन पाए त फरक मान्छे बनिन्थ्यो होला।”
करिब दुई घण्टापछि म विद्यालयबाट बाहिरिएँ। बाहिरबाट पनि विद्यालय कम्पाउन्ड निहालेर हेरेँ। एक किसिमको खुसी बोकेर सरासर घरमा गएँ। विद्यालयको तामझाम मेरो आँखाअगाडि नाँचिरह्यो। घर सल्लाह पनि गरेँ। भोलिपल्ट धैर्य गरेँ। पर्सिपल्ट बिहान मैले प्रिन्सिपललाई स्वीकारोक्तिको कुरा गरेँ। उनले भने, “त्यसो हो भने अर्को वर्षका लागि सामाजिक विषयको शिक्षकका लागि म ढुक्क भए हुन्छ त मिस।” “हुन्छ सर, हुन्छ” मैले विश्वास दिलाएँ।
नयाँ शैक्षिक सत्र सुरु भयो। मैले पढाइराखेको विद्यालयमा प्रक्रिया पुर्याएर बिदा मागेँ। नयाँ विद्यालयमा जान थालेँ। पहिलो हप्ता केही कठिन भए पनि साथीभाइ पनि निकै मिजासिला लाग्यो। विद्यार्थीहरू पनि सबै प्यारा र राम्रा। पढाउने शैली केही नवीन । सेवासुविधा पनि मैले सोचेअनुरूप नै। सबै कुराले म उत्साही भएर काम गर्न थालेँ।
म दिनप्रतिदिन त्यहाँको सिष्टममा भिज्न थालेकी थिएँ। काम गर्ने कर्मचारीहरू चाहिँ प्रशस्त रहेछन् जस्तो लाग्यो। विद्यालय परिसरभरि दाइदिदीहरू थुप्रै देखिन्थे। खाना पकाउने र भाँडा माझ्ने छुट्टाछुट्टै दरबन्दी रहेछन्। सरसफाइ र ढोकाको रेखदेख गर्ने अरू नै रहेछन्। माली र सरसफाइमा अरू नै। त्यहाँको वातावरण पहिलाको विद्यालयभन्दा निकै फरक पाएँ मैले।
विद्यालयमा नियमित पढनपाठन सुरु भयो। म कक्षा नौ र दशको सामाजिक शिक्षक थिएँ। त्यहाँ पढाउनेसँगै विद्यार्थीहरूको हेरचाहको नियमित जिम्मेवारी पनि तोकिएको हुन्थ्यो। कक्षा दशका एउटा सेक्सनका विद्यार्थीलाई खाना खान लाने मेरो पालो पर्थ्यो। मैले विद्यार्थीलाई विद्यालयको नियमबमोजिम लामबद्ध गराएर खाना खान लान्थँ। उनीहरूसँगै एउटै टेबलमा बस्थेँ। सँगै खान्थेँ। उसरी नै फर्काएर कक्षासम्म सँगसँगै जान्थेँ। खाना बाँड्ने, सरसफाइ गर्ने दाइदिदीसँग उति सङ्गत हुँदैन थियो।
एक दिन डाइनिङ हलमा पुग्ने बित्तिकै मेरा आँखा मेरी आमाकै जिउडाल परेकी नारीमा ठोकिए। उनी तल्लोपट्टि ठूल्ठूला भाँडा माझिरहेकी थिइन्। दिदी पनि मलाई नयाँ शिक्षक ठानेर होला, पुलुक्क पुलुक्क हेरिरहेकी थिइन्।
विद्यार्थीहरू एउटा एउटा प्लेट, कचौरा र चम्चीकाटा लिएर खाना लिन लाइनमा उभिए। आँखा जुधेपछिम दिदीको नजिकै गएँ। मेरो गाउँका छिमेकी दिदीहरू जस्तै मिजासिलो लाग्यो दिदीको स्वभाव। मैले परिचित झैँ गरी सोधेँ, “के छ दिदी खबर?” दिदीले हाँस्दै भनिन् “ठिकै छ म्याम।” उनी मुस्कुराएकी थिइन्। तर उनको हाँसोमा कुनै चमक थिएन।
मैले केही मनोविज्ञान पनि बुझेर भनेँ, “सन्चो छैन कि क्या हो दिदी यहाँलाई ?” “हैन म्याम, अहिले त सन्चै छ।” उनी एक छिन रोकिइन् र फेरि भनिन् –तर हिजोचाहिँ झाडापखाला लागेर रातभरि सुत्नै सकेकी थिइनँ। अहिले रिङ्गटा लाग्ला जस्तो भइरहेको छ। त्यसो भनिरहँदा दिदीले मलिन अनुहार घामका रापमा देखिएका कलिला बिरुवा जस्तै देखिन्थ्यो।
दिदीको कुरा सुनेर मभित्र करुणा जाग्यो। मैले भनेँ, “ए हो र ? त्यसो हो भने जानुस् न त, भित्र दाइदिदीहरूसँग भनेर तात्तातो दाल भात खानुहोस्। त्यसले सन्च गर्छ नि त। बिरामी भएका दिन विद्यार्थीलाई पर्खिरहनु पर्दैन नि, दिदी।”
मेरा कुरा सुनेर हातमा लिएको ठूलो कराइ नै दिदीको हातबाट भुइँमा खस्यो। त्यो कराइको निकै कर्कस आवाजले विद्यार्थीहरूले पनि त्यता आँखा बिच्छ्याए।
मेरो अनुरोधलाई दिदीले पन्साउँदै भनिन् : “आम्मै म्याम, हामीले कहाँ खाना खान पाउँछौँ र ? मारिहाल्नु हुन्छ नि यहाँ त। मैले त्यसो गरेँ भनेँ त अरू दिदीदाइले समेत गाली खान्छन्। हुँदैन नि म्याम। यहाँ त भान्सामा पनि सिसिक्यामरा राखेको छ। कसैले केही लुकेर खायो भने पनि सर म्यामहरूले थाहा पाइहाल्नु हुन्छ रे। हामी त धन्दा गर्ने मात्र हो।”
मैले दिदीको मलिन अनुहार निहालिरहेँ। उनका प्रश्न र वाक्य घुटुघुटु निलिरहेँ। साह्रै दुःख लाग्यो। मनमनमा सोचेँ, “यतिका विद्यार्थीबाट त्यतिका पैसा असुलेका छन्। यसरी काम गर्ने गरिबको आत्मा रुवाएर शिक्षा दान दिएको फूर्ति देखाउँछन्। थुइक्कयिनको बुद्धि।”
दिदीले थपिन्, “म्याम, हजुरलाई नयाँ भएर केही थाहा रहेन छ। यहाँ हामी धन्दा गर्ने, बढारकुँडार गर्ने, चर्पी सफा गर्ने कसैले पनि खान मिल्दैन। डाइबर दाइहरू र खलासी भाइहरू त परै जाओस्, गार्ड दाइहरूले समेत आफै पकाएर खान्छन्।अरू सबैले घरैबाट लिएर आउँछन्।”
म अझै अलमल परेँ। त्यहाँ केही बोल्न पनि भएन। “ए हो र …। आज चाहिँ मसँगै जाऊँ न त। बिरामी हुनुहुँदो रहेछ भनेर म कुरा गरौँला।” मैले दिदीलाई बिन्ति नै गरेँ। “हुन्न नि म्याम,बरु हजुर खाना खान जानुहोस्। अहिले मार्नुहुन्छ, यसरी गफ गरेको देख्नुभो भने त।”
“आज चाहिँ खाऊँ न दिदी। जाऊँ, हिँड्नुस् मसँगै।” मैले फेरि पनि ढिपी गरेँ। उनले मान्दै मानिनन्।
म विद्यार्थी भएतिर गएँ। सबैले प्रायः खाइसक्न आँटेका रहेछन्। मैले पनि दिदीहरूबाट खाना लिएर विद्यार्थीसँग गएर खाएँ। खाना खाँदै गर्दा पनि लाग्यो, यत्तिको तात्तातो खाना पकाएर बाँडिरहेका यी दाइदिदीहरू पनि भोकै बस्नु पर्छ होला। मलाई हिजोको तामझामका कुरा बालुवामा पानी जस्तै लाग्यो। हतार हतार खाना खाएर विद्यार्थीसँगै कक्षाकोठामा गएँ।वास्तवमा मलाई आजको खाना त्यसै त्यसै अमन लागिरह्यो। कक्षामा जानुअगाडि भान्से दाइलाई भनेकी थिएँ,“चन्द्रकला दिदी बिरामी हुनुहुँदो रहेछ। उहाँलाई खाली भएको मौका पारेर तातो खाना खुवाउनु है दाइ।” भान्से दाइ, अलि आश्चर्यका ढाँचामा थोरै हाँसे। म चन्द्रकला दिदीलाई नहेरी सरासर कक्षा कोठामा गएकी थिएँ।
मसँगै खाना खान गएका विद्यार्थीलाई नैपढाउनु थियो मैले। आजको पाठ योजना मानवताको बारे थियो। मैले पाएको विद्यालयको परिवेश र मैले पढाइरहेको पाठबिचमा सत्तकोशी बग्दै थियो। जे भए पनि पाठ सुरु गरेँ।
मानवता भनेको के हो ? यस विषयमा सबै विद्यार्थीहरूलाई पालैपालो बोल्न दिएँ। केहीबेर छलफल गरेपछि उनीहरूको कुरा सुनिसकेपछि समूह बनाएर मान्छेले मान्छेलाई गर्न सकिने सहयोगका बारे छलफल गरी बुँदा तयार गर्न लगाएँ। सबैले विभिन्न उदाहरण दिँदै मानवताको पक्षमा उदाहरणसहित बुँदा तयार गर्दै थिए।
म घरी भान्सा कोठातिर हेर्दै, घरी विद्यार्थीका समूहमा घुम्दै उनीहरूको कार्य निहालिरहेकी थिएँ। मनमनै लागिरहेको थियो, यी विद्यार्थीलाई यत्रो विद्यालयमा पढाउँदा पनि आदर्शका कुरा घोकाउनु सिवाय केही हुनेरहेनछ। तिनै दाइदिदीहरूलाई मानवताको व्यवहार विद्यालयले देखाउन सकेको भए मलाई यो पाठ पढाउन कति सजिलो हुन्थ्यो। विद्यार्थीहरूलाई तिनै दाइदिदीहरूसँग अन्तर्वाता लिन लगाएर व्यवहारिक रूपमा मानवताको कुरा जीवनोपयोगी रूपमा सिकाउन सकिन्थ्यो। तर… आफ्नै परिस्थितिले निकै दुःख लागिरह्यो।
विद्यार्थीले सामूहिक रूपमा कार्य गर्दागर्दै आजको समय सकियो। मेरो दैनिक तालिकाअनुरूप पठनपाठन यही समापन गर्दै सामूहिक कार्य भोलि प्रस्तुत गर्ने जानकारी दिएर म कक्षाबाट बाहिरिएँ।
त्यसपछि म सरासर अफिस कोठामा गएँ। अफिसको कुनामा विमला दिदी टुक्रुक्क बसिरहेकी देखेँ। उनीमलाई देख्ने बित्तिकै अत्तालिएर उठ्न खोजिन्। मैले केही मुस्कुराउँदै भनेँ, “किन आत्तिनु भएको दिदी। बस्नुहोस् बस्नुहोस्।”
त्यसपछि दिदी अफ्ठेरो मान्दै फेरि त्यही कुनामा बसेर कालो अनुहार लगाइन्।
“के भो दिदी, सन्च छैन कि क्या हो ?” मैले विनम्रपूर्वक दिदीलाई सोधेँ। दिदीले भन्न थालिन्, “हेर्नुस् न म्याम, म सधैँ बिहान चाँडै उठेर खाना पकाएर खाइओरी आउँथेँ।आज रातभरि बच्चा बिरामी भएर सुत्नै पाइएन। बिहानीपख बच्चा निदाएपछि म पनि भुसुक्कै निदाएँछु। ब्युझिँदा त साढे छ बजिसकेछ। हतारहतार गरेर अफिस आउनु पर्यो। ग्यास्टिक दुखेको हो कि के हो। म त पेट दुखेर मर्न लागेँ।”
“क्यान्टिनमा गएर तातो खाना लिने हो कि ?” मेरो मुखबाट फुत्किहाल्यो।
विमला दिदी आश्चर्य चकित भइन्।
फेरि विस्तारै आफै बोलिन्, यहाँको खाना त म्याम हाम्रो लागि आकाशकै फल हो। मैले कुरा बुझिसकेकी थिएँ। म बोल्न नपाउँदै उनले खुइय सुस्केरा हालिन्। विमलाको व्यथा उही चन्द्रकलाकै रहेछ। दिदीको कुरा सुनेर दया देखाउनुबाहेक केही गर्न सकिनँ मैले। यहाँको चलन देखेर मलाई निकै नमज्जा लाग्यो।
यस्ता घटना मैले वर्षदिन नपुग्दै धेरै देखेँ। गार्डसँग कुरा हुँदा पनि उही कुरा सुनियो। ठूलो शिक्षालयभित्र निम्न तलब खाने भोका दिदी बहिनीहरू र दाइभाइहरू ठूलो सङ्ख्यामा श्रमिक हुँदा रहेछन्। विचरा ! यिनीहरू विद्यालयको देखाउने दाँत पो हुँदा रहेछन्। उनीहरूको साझा पीडा मौन क्रन्दन भएर बसेको रहेछ।
मलाई कताकता पहिला काम गर्दाको त्यही सानो विद्यालय ठिक लाग्यो। बरु त्यहाँ यति ठूलो खाडल देखेकी थिइनँ। बिहान पार्ट टाइम पढाउने सामुदायिक विद्यालय ठिक लाग्यो। त्यहाँ सबै आफ्नो क्षमताअनुसारको खाजा किनेर खाइरहेका हुन्थे। त्यहाँ खानाको व्यवस्था थिएन। तर जे जस्तो भए पनि सबै कर्मचारीहरूलाई सामान्य नास्ता र चियाको व्यवस्था थियो। विद्यार्थीहरू विद्यालयभित्रै बनेका खाजाका परिकार आफ्नै इच्छाले किनेर खान्थे।
शिक्षा सेवा गर्दैछु भने पनि म अनेक तिता अनुभव बटुल्दै थिएँ। प्रायः विद्यालयका कार्यक्रम, समाचार सम्प्रेषण आदिको प्रवक्ता मै थिएँ। मेरो प्रिन्सिपल र कोअर्डिनेटरहरूसँगको सम्बन्ध पनि मित्रवत् थियो। हरेक दिन खाना खाने क्यान्टिनमा पुग्दा भने एउटा ठूलो विभेद मडारिइरहन्थ्यो। गार्डलाई भेटेदेखि मन अमिलो हुन्थ्यो।
लामो समयदेखि मेरो मानसपटलमा मडारिरहेको विभेदको बादललाई तोड्ने मलाई तीव्र इच्छा भयो। हुन त मैले यो बारेमा बोल्नु हुन्थ्यो हुन्न थियो, तर साह्रै असह्य भएपछि म विद्यालय छुट्टि भएर सबै विद्यार्थी घर पठाएपछि सरासर प्रिन्सिपलकै अफिसमा गएँ। उनले पनि राम्ररी स्वागत गरे ।
प्रिन्सिपलले मलाई यहाँ पढाउँदाको अहिलेसम्मको अनुभवबारे सोधे। त्यही प्रसङ्ग पारेर मैले भनेँ, “सर, यहाँको सबै राम्रो लाग्यो। अन्य ठाउँमा भन्दा केही भिन्न शैलीले पढाउने चलन रहेछ। यसमा मैले पनि केही सिकिरहेकी छु। बालबालिकाहरू अन्तरक्रिया गर्न निकै सिपालु रहेछन्। साथीहरू पनि मिजासिला नै लाग्यो। तर एउटा दुईटा कुरा चाहिँ चाँडै सुधारिहाल्नु पर्ला जस्तो लाग्यो।”
यति भनेर म रोकिएँ।
प्रिन्सिपलले मेरा कुरा ध्यानपूर्वक सुन्दै थिए। उनले केही नोट गरेझैँ गरी मलाई सोधे, “के कुरा हो मिस, खुलेर भन्दिनुस् न।”
उनको प्रश्न र हावभावले आफूलाई चित्त नबुझेका कुरा भन्न मिल्छ भन्ने महसुस भयो। मैले निर्धक्कसाथ भनेँ, “हेर्नुस् सर, यत्रो विशाल स्कुलमा मानवता चाहिँ मैले पाइनँ। यतिका विद्यार्थी र शिक्षकहरूलाई यहीँ खाना पाक्दो रहेछ। सबैले खाना र खाजा यही खाँदा रहेछन्। त्यो राम्रो संस्कार हो तर विचरा ! ती दाइदिदीहरूलाई चाहिँ खाना दिने चलन रहेनछ। भोको पेटले फुलबारी गोड्दा रहेछन्। भोको पेटले सरसफाइ गर्दा रहेछन्। भोको पेटले गाडी चलाउँदा रहेछन्। हुँदा हुँदा भोको पेटले भाँडा माझ्दा रहेछन्। दाइदिदीहरूप्रति चाहिँ यो साह्रै अन्याय भो सर।”
म केही बेर रोकिएँ। प्रिन्सिपल टिपोट गर्दै थिए।
म फेरि बोलेँ, “मैले एकदिन ‘मानवता’ शीर्षकको पाठ पढाउँदै थिएँ। विभिन्न उदाहरण दिएर मानवता बुझाऊँ भन्दा कक्षा दशका विद्यार्थीले आफ्नै विद्यालयमा मानवता नभएको कुरा उठाए। बालबालिकाले पनि न्याय अन्यायबारे थाहा पाउँछन्। यस्तो समाचार घरघरमा पुर्याए भने पनि राम्रो हुँदैन। अर्को कुरा ती दाइदिदीहरू यत्रो सुविधासम्पन्न विद्यालयमा भोकै हुनुचाहिँ हुँदैन सर।”
म केहीबेर रोकिएँ। प्रिन्सिपल लगातार टिपोट गरिरहे। मानौँ, मेरा कुरा उनले निकै गम्भीर भएर सुनिरहेका थिए। लाग्यो, पक्कै मेरो कुराले सरलाई छोएछ। आँखै खुलेछ। मलाई त्यसै त्यसै आनन्दको अनुभूति भयो।
केहीबेर पछि प्रिन्सिपलले टाउको उठाएर भने, “हुन्छ मिस, हामी तपाईँको कुरालाई समीक्षा गर्नेछौँँ। तपाईँ चिन्ता नगर्नुस्।” प्रिन्सिपलले यत्ति भनेर मलाई त्यहाँबाट विदा गरे। म पनि मनको वह कहेर हिँड्न पाउँदा निर्धक्क त्यहाँबाट निस्किएँ। त्यस दिन मेरा खुट्टामा छुट्टै फुर्ती थियो। राति निद्रा पनि राम्रोसँग पर्यो।
म विद्यालय गइरहेकी थिएँ। आफ्नो काम इमान्दारपूर्वक गरेकै थिए। विद्यार्थी पनि खुसी नै थिए। एउटा शिक्षकका लागि विद्यार्थी नै त सबै थोक हो। म खुसी र सुखी नै थिएँ।
प्रिन्सिपलसँग भेट नभएको केही दिन भएको थियो। म आफ्नो काम गरिरहेँ। करिब हप्ता दिनपछि मलाई प्रिन्सिपलको अफिसमा बोलाइयो। त्यहाँ व्यवस्थापनका केही सदस्यहरू पनि बोलाइएको रहेछ। म भित्र प्रवेश गरेँ। प्रिन्सिपल सरले सहज रूपमा सबैसामु मलाई परियच गराए। म सबैलाई अभिवादन गरेर प्रिन्सिपलले तोकेको कुर्सीमा बसेँ।
त्यसपछिअफििसामा एकछिन मौनता छायो।
केहीबेरपछि प्रिन्सिपलले नै कुरा उठाए, “मिस, तपाईँलाई हामीले राम्रो शिक्षक भनेर ल्याएका थियौँ। तपाईँ नराम्रो मान्छे पनि होइन। बालबालिकाले रुचाएकै छन्। तपाईँलाई हामीले यहाँ शिक्षकको रूपमा ल्याएका थियौँ। तपाईँले त आफ्नो पेसा बिर्सिएर विद्यालयको निरीक्षण र अनुगमन गर्न थाल्नु भएछ। तपाईँको यो स्वभावको बारेमा विद्यालय कोअडिनेटरले पनि हामीलाई भनेका थिए। होस् न त यस वर्षका लागि, अर्को वर्ष सोचौँला भन्ने लागेको थियो। तर तपाईँले मलाई नै विद्यालयको व्यवस्थापनबारे टिप्पणी गरेपछि हामी दुःखी भएका छौँ।
मैले प्रिन्सिपललगायत सबैका अनुहारमा हेरेँ। तीमध्ये एकजना समाजसेवी व्यक्तिका रूपमा चिनिएका मानिस थिए। अर्को राजनीतिज्ञ व्यक्ति थिए। अर्का कानुनव्यवसायी थिए। उनीहरू नै यस विद्यालयका सञ्चालक सदस्यहरू थिए। मैले विद्यालयका विभिन्न कार्यक्रमको सञ्चालन गर्दा आसन ग्रहण गराउने क्रममा उनीहरूको पद प्रतिष्ठाका बारे पनि बोल्दै आएकी थिएँ।
कोठामा केहीबेर अपूर्व शान्ति छाइरह्यो। मैले शान्तिलाई चिर्दै भनेँ : “के सुधार गर्नुपर्ने भयो त सर मैले।”
कोठामा थप शान्ति छायो। प्रिन्सिपलले अलि सानो तर प्रभावशाली स्वरमा भने। तपाईँलाई सुधारको कुरा गर्ने त हामीसँग के नै छ र ?भोलिदेखि नै हामी तपाईँलाई विदा गर्न बाध्य भएका छौँ।
म केही भन्न खोजेर पनि केही नभनी बाहिर निस्किएँ। अहिलेसम्म मैले त्यस विद्यालयको ड्रयरमा लगाएको तालाको चाबी मेरै हातमा छ। त्यस विद्यालयको अन्तिम महिनाको तलब विद्यालयकै खातामा छ। म त्यता गएकी छैन।
***इलाम,
हाल : गान्धी आदर्श मा.वि, काठमाडौँ