हरियो सुसाइड नोट बोकेका परदेशीहरू आउँथे
मगमगाउँथे हार्दिक भावहरू
झमझमाउँथे प्रेयसीका पाउजु
र घिस्रिरहन्थ्यो बुढो लौरी
आमाको घाँसको भारीसँगै गुन्जिन्थ्यो जुहारी
घन्किरहन्थ्यो आदिवासी धुन
ती सबै–सबै कहाँ गए ?
विज्ञान, दर्शन र इतिहास सुनेर थोत्रिएको
पिँढीको गुन्द्री बिर्सिएर
कुन यात्रामा निस्किए माथिल्ला घरे माइला बा ?
भोलि यही बाटोमा भेटिएला/नभेटिएला
आमाका पैतालाका डोबहरू !
न कुनै आहत
न कुनै पदचाप
समय आफैं मलामी
आफैं मुर्दा बनेर लम्पसार छ
ए ! छिरिङ ए ! खान
चित्र प्रदर्शन गर्न
किलोको आड चाहिएजस्तै
देशलाई चाहिएको छ
हाम्रा पाखुराहरूको आड
हाम्रा चेतनाहरूको आड
मौरीहरू मुर्झाउन नखोज भर्नै बाँकी छ
यो देशको घारमा महको चमक !
झुल्किन्छ–झुल्किन्छ
हामीले जीवनभर खोजिरहेको उज्यालो घाम
पर्दा बनेको यो कैदी समयमा पनि
तराई, भावर, चुरे र पहाडमा
महाभारत, हिमाल र भोटमा
कुन–कुन जातका फुल फक्रिसके होलान् ?
जंगलमा डढेलोपछि पनि रुख/विरुवा पलाउँछन्
जंगलमा डढेलोपछि पनि वसन्त आउँछ।
(नेपाल प्रज्ञा-प्रतिष्ठानको ६४औं वार्षिकोत्सवका अवसरमा आयोजित भर्चुअल राष्ट्रिय कविता महोत्सव २०७८ मा द्वितीय भएको कविता । यस कविताकी सर्जक धादिङकी अमृता स्मृति हुन् ।)