खाली पानामा कोर्छु असंख्य रेखाहरूम कोरिरहेकी छु
देशको सग्लो नक्सा।
जसरी कोर्छ एउटा चित्रकार क्यानभासमा
आफ्नी आमाको मुहारचित्र।
अनायस करेसाको डिल भत्किन्छ
पर्खाल उठाउँछु
सिकुवासम्मै चिरा पर्न खोज्छ आँगन
कुर्कुच्चा दुखिन्जेल किच्छु/टाल्छु
र मेट्छु धाँजाहरू !
विषाक्त हावा बोकीआउने आँधी
उडाउनै खोज्छ मलाई
बलेंसी चिरा पार्ने मुसलधारे वर्षा
बगाउन खोज्छ मलाई
छानाबाट झरेका पानीका तप्कनाले समेत
शिरदेखि पैतालासम्मै भिजाउँछ
तर पनि म उभिइरहन्छु पहाडजसरी
घरको मूल खाँबो समातेर
र कोरिरहन्छु सहस्र रेखाहरू !
ओ ! सिमाना काटिजाने चराहरू
पहाड भत्काएर बगिजाने खोलाहरू
देवल उठाइरहेका पौरखी धमिराहरू
माटोको दरबार उठाइरहेका कमिलाहरू
सुन, भूगोलका यिनै मसिना रेखाहरूले त
जोडेकी छु मैले तीन कोटी स्वाधीन मुटुलाई
जहाँ उम्रिन्छ प्रेम र विश्वासको बिउ
र लटरम्म खुसीको घाम फल्छ !
छामिहेर त
आँखा चिम्लिएर आफ्नै मुटुको ढुकढुकी
हो, धड्किरहेको छ त्यहाँ
छुटेका भूगोलसँगै छुटेका मनहरू
एकाकार भएको
स्वाधीन देशको सग्लो नक्सा।
(नेपाल प्रज्ञा-प्रतिष्ठानको ६४औं वार्षिकोत्सवका अवसरमा आयोजित भर्चुअल राष्ट्रिय कविता महोत्सव २०७८ मा प्रथम भएको कविता । यस कविताकी सर्जक भोजपुरकी कविता राई हुन् ।)