डिल्लीराज अर्याल विशिष्ट कवि प्रतिभा हुन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । यहाँ उनको एउटा पुगिन्न खै कतै किन शीर्षकको कविता समेटिएको छ । यस कविताले निकै विम्बात्मक रूपमा नेपालको समकालीन राजनीतिक यथार्थ उद्घाटन गरेको छ ।
– सम्पा. |
दाइँमा नारिएको छ आफै धेरै सँगीसित
नाकमा सुतरी, घाँटी ‘माल’बाट छ बेष्टित
परालको बुजो हाल्दै पाको नजिककोसित
जुर्रे बहर यौटाले यसरी सोध्न थाल्दछ –
यसरी कहिलेसम्म हामीलाई हिडाउलान्?
हाम्रै खेदो गरी खेद्दै कहिलेसम्म धाउलान्?
नाकमा कहिलेसम्म सुतरी पहिराउलान् ?
गलामा कहिलेसम्म ‘मालदाम्लो’ भिराउलान्?
कसरी चाहना इच्छा हाम्रा सहजमै गए
अपराध गरे जस्तै डोरी लाएर बाँधिए
दिएनन् डुल्न वा चर्न न खान राम्ररी दिए
अहो ! किन सधै शास्ती हामीलाई दिँदै गए !
घुमेको छु, घुमेको छु,घुमाउँछन् हरे किन?
लखेटेका लखेट्यैछन् पुर्याउन कहाँ, किन?
पाउन्न म कुनै मेसो दौडिंदै पनि छैन म
हिडूँ जतिसुकै कैल्यै पुगिँदैन कतै किन?
कहाँ पुगेर विश्राम पाइने हो त आखिर
दौड्ने दौडाउने खेल चलिराख्छ बराबर
आरामको कुनै छैन मेलोमेसो न आखर
यस्तो कष्ट दिने काम किन गर्दछ आखिर ?
भन्छ पाको सँगी घुम्दै बुझ्न यत्ति सकिन्न र !
फन्को मारी खलामा के कतै पुग्न सकिन्छ र !
घुमौं जतिसुकै हामी घुम्नुको अर्थ खै कहाँ ?
घुम्छौं सधै सधै हामी अरूकै स्वार्थमा यहाँ !
हिडाइ हैन यो हाम्रो यात्रा सहज होइन
घुमाइ लेक- बेसीमा वनमा पनि होइन
हाम्रो रहरमा, चासो, स्वार्थमा पनि होइन
हाम्रो घुमाइ अर्काकै स्वार्थमा छ चिरन्तन ।
हाम्रै घुमाइमा सारा तिनका काम बन्दछन्
हाम्रै घुमाइमा सारा तिनका दाम बन्दछन्
हाम्रै घुमाइमा पेट भर्ने अनाज फल्दछन् ।
हाम्रै घुमाइमा खेत, बारी, सुन्दर बन्दछन्
हामी घुम्यौं त रोजेर नरोजेरै सधै घुम्यौँ
हामी घुम्यौं त खोजेर नखोजेरै सधै घुम्यौं
वशमा तिनका हामी परेकाले सधै घुम्यौं
स्वाधीनता भए घुम्थ्यौं? नहुनाले सधै घुम्यौं।
हामीलाई कतै छैन हेर्न हेर्ने तिनै भए।
हामीलाई कतै छैन पुग्न,पुग्ने तिनै भए
तिनी चुम्बक झैं बन्दै सधै घुमाउँदै गए
हामी फलाम झैं बन्दा त्यसै घुमाउने भए !
बल तेरो छ, मेरो छ, भरिपूर्ण हुने गरी
तर आपसमा जुध्न भएको छ सधैभरि
विनाअर्थ, विनास्वार्थ हामी जुधिरहे पछि
घुमाउन्नन् अरूले र नाकमा सुतरी कसी !