गीता सापकोटाको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । उनी युवा पुस्ताकी सफल कवि एवम् समीक्षक प्रतिभा हुन् । यस शृङ्खलामा उनको ‘द्रौपदी’ शीर्षकको कविता समेटिएको छ । यस कविताले महाभारत मिथकका जगमा नारी अस्मितामाथि प्रश्न उठाएको छ ।
सम्पा. |
अर्जुन आँटिला योद्धा मत्स्यभेद गरी जिते
वीर ठानी बरेँ स्वामी उनै मौन भई उभे
राजकुमारले ठाने जितेको वस्तु, बाँडिएँ
भएन एककी भन्ने, साझा पत्नी बनाइएँ ।
भैगो भनेँ सहेँ मैले सहेँ सहेँ सहेँ सहेँ
सहँदा सहँदै आफू जुवाका खालमा परेँ
जुवाको खालको वस्तु हारिने जितिने भएँ
धर्मराजअघि आफै धर्मको खोजमा परेँ ।
अग्नि पुत्री दबाएर चिसो पानी खन्याइएँ
अनेकौँ सपनालाई कुल्चिएर दबाइएँ
सासूहरू बने मौन सभामा एकली भएँ
पति हौँ भन्नेकै सामु अबला निमुखा भएँ ।
भीष्मका मुखमा कल्ले ताल्चा लायो र मौन छन्
द्रोणाचार्य कृपाचार्य अनौठोसँग मौन छन्
नारी बोल्दैन नारीका पीडामा म कसो गरौँ
अभिभावक बोल्दैन, बधू लुट्ता म के गरौँ ?
म मेरो घरका मान्छे को हुन् भनूँ चिनूँ स्वयम्
घर विरुद्ध मै लागूँ , आफ्नै साथ लडूँ स्वयम् ?
म छु अन्योलमा आज, म को हूँ र कहाँ छु म
बोल कुन्ती र गान्धारी नाङ्गिऊँ या भिडूँ छु म ?