रमेश देवकोटा (२०५१ फगुन ०१, गते देपालगाउँ जुम्ला, सुपुत्र : कृष्णप्रसाद देवकोटा र कमला देवकोटा) नवोदित लेखक हुन् । उनले विभिन्न पत्रपत्रिका र अनलाइनहरूमा समसामयिक लेखका साथै कविता रचना प्रस्तुत गर्दै आएका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘आमा’ शीर्षकको कविता समेटिएको छ । यस कविताले मातृमहिमा गायन गरेको छ ।सम्पा. |
त्यो रातो रगतमा छोपिएर छेकिएको
टक्क परेको शिशुलाई
बडो कठिन कसरतले
स्नेहको स्पर्शले च्याप्प च्यापेर
बिशाल बिसौनी लाग्ने छातीमा लिएर
सन्तानको जन्म र जन्मउत्सव एकै साथ एक्लै
मनाउने एकल मानव हौ आमा ।
तिम्रा एकसरा पीडा र परिश्रम
अरूको भन्दा भिन्नै छ
जति जसरी तिम्रो जवानी खर्च गर्यौ
सायद सापटीमा साट्न नमिल्ने छ
साट्न मिल्ने भए मेरो जवानी
तिम्रो ऋणको सावाँ फर्काई
मात्र ब्याजमा जीवन जिउन पाए
जित महसुस हुने थियो
त्यसो नहुने हुँदा
आजीवन आजित हुनुपर्ने भयो ।
हरेक आमाहरूका
हुलका हुल हाँसो हराउदै छन्
कहिले पनि काहीँ पनि
हराउदै गरेको हिस्साको
हिसाब कहिले मागिनौँ
माग्यौँ त केबल सन्तानको
सरल एवं सुखी जीवन ।
आज आएर सूक्ष्म तवरले
हृदयको सूक्ष्मदर्शकमार्फत
तिम्रा अनेकौँ सुस्केरा र सङ्घर्ष
एक–एक गरिसुन्छु
सायद तेतिखेर मात्र
सन्तुष्टिको स्वास लिनेछु
तिम्रा सुखिला सुख्खा गालाहरूमा
सुखको गजव गलमल हुनेछ
मेरो जन्ममा बगेको रातो रगतले
बल्ल पूर्ण विश्राम पाउनेछ आमा ।