योगराज पौडेल (२००४, मङ्सिर २८, खैरेनीटार तनहुँ, सुपुत्र : डोलीरमण पौडेल र इन्द्रकला पौडेल) नेपाली साहित्य, शिक्षासेवा र राष्ट्रसेवामा समर्पित प्रतिभा हुन् । २०३१ –२०३२ सालमा त्रि.विमा प्राध्यापन गरेका पौडेल २०३२ देखि २०६२ सम्म निजामती सेवामा रही हाल सेवानिवृत्त जीवन बिताइरहेका छन् । समपूर्वका केही नाटक केही टिपोट शीर्षकको समीक्षा २०३१, वैशाख १२ गते गोरखापत्र पत्रिकामा प्रकाशन गरी नेपाली साहित्यमा सार्वजनिक भएका पौडेलका नेपालमा विकेन्द्रित जिल्ला प्रशासन : एक विवेचना (२०४४), केही चिन्तन केही विश्लेषण (२०७१) प्रकाशित छन् । उनको समयप्रवाह कविताकृति प्रकाशोन्मुख छ । लालुपाते (२०२५), सगरमाथा सन्देश (२०३८) जस्ता पत्रिकाका सहसम्पादन पनि गरेका पौडेल निवृत्त जीवनमा साहित्य साधना गरिरहेका छन् । उनी शास्त्रीय छन्दमा सुललित कविता रचना गर्दछन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा ‘मित्र राजेन्द्र सुवेदीप्रति’ शीर्षकको स्मृति कविता समेटिएको छ । यस कविताले साहित्यकार एवम् प्राध्यापक राजेन्द्र सुवेदीको स्मृति गरेको छ ।
– सम्पादक |
अमरपुरका मित्र
सहपाठी थियौ तिमी
साहित्य–साधनाद्वारा
बन्यौ साहित्यका रथि ।
चिरस्थायी बनेका छन्
ती चार दर्जनै कृति
शिक्षा–समाज सेवामा
सक्रियता सधैँभरि ।।
मित्रको मृदु मुस्कान
सम्झन्छु म दिनन्दिन
ज्ञानका ज्योति हे मित्र !
शब्द–सुमन अर्पण ।।