मोहराज खनाल बर्मामा रहेर नेपाली भाषा साहित्यको सेवामा समर्पित प्रतिभा हुन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । उनी मूल्त: कवि प्रतिभा नै हुन् । प्रस्तुत शृङ्खलामा उनको ‘समयको रुन्चे हाँसो’ शीर्षकको कविता समेटिएको छ ।
– सम्पा. |
हाँसिरहेको समयसँग
म हाँस्न नसक्ने भएको छु
समय सबैको यस्तै
कतै रुनुपर्ने
कतै हाँस्नु पर्ने
म हाँस्न पनि सकिनँ रुन पनि
समयको परीक्षाभित्र
मैले हार खा’को हैन र विजय पनि
समय हाँसिरा’छ,कतै रोइरा’छ
कतै विस्मात छ त कतै खुसियाली
हाँसिरहेको समय
म हाँस्न नसक्ने भएको छु ।
अर्थपूर्ण जीवन भए तापनि
अर्थविहीन बाटोमा टेकिँदो रहेछ
विषालु बिच्छी र सर्पलाई डसाउनु पर्ने
डाँस, लामखुट्टे र उडुसलाई टोकाउनु पर्ने
कुकुर बिरालोसम्मलाई बुझाउनु पर्ने
नियति जब बाङ्गिन लागेपछि
हाँसिरहेको समय
म हाँस्न नसक्ने भएको छु ।
हुन त सबै हाँस्न तम्सिन्छन्
हँसिलो मुहारसँग खेल्न खोज्छन्
रुनु नपर्ने बाटो कैयौं अपनाउन खोज्छन्
र पनि नियतिले रुवाई छाड्छ
हिड्नु नपर्ने बाटोमा हिँडाइहाल्छ
हाँसिरहेको समय
म हाँस्न नसक्ने भएको छु ।
आँसु सस्तो त थिएन
आँसु कुनै मूल्यवान वस्तु पनि होइन
जित र हार संसारको नियम
हाँसिरहेको समय
म हाँस्न नसक्ने भएको छु ।