वानीरा गिरी (२००२ दार्जिलिङ – २०७८ काठमाडौँ ) नेपाली साहित्यका विविध विधामा कलम चलाउने बहुमुखी प्रतिभा हुन् । नेपाली साहित्य र शिक्षा सेवामा समर्पित गिरीको मूल परिचय कवि गिरीका रूपमा रहेको छ । भर्खरै कोरोनाका कारण दिवङ्गत भएकी गिरीका एउटा जिउँदो जङ्गबहादुर (२०३१), जीवन थाय्मरु (२०३४) मेरो आविष्कार (२०४१), काठमाडौँ काठमाडौँ (२०६८) जस्ता कवितासङग्रहहरू प्रकाशित छन् । उनका कवितामा यौन, समाज, मिथक आदि क्षेत्रका बहुुमुखी विम्बहरूको प्रयोग भएको हुन्छ । उनी आगन्तुक शब्दहरूको प्रयोग, विचलनयुक्त भषा, क्लिष्ट र प्रयोगशील शैलीले यिनका कविता साधाराण पाठकका लागि भन्दा पनि बौद्धिक पाठकका लागि जस्ता लाग्छन् । उका केही कविता नारी जागरण, जिजीविषा र पलायनचेतनाका पनि छन् । नारीजीवनसँग सम्बन्धित यौनकुष्ठा, अस्तित्वबोध, विसङ्गतिबोध, हीनताबोधका साथै युगीन विसङ्गतिप्रति व्यङ्ग्य विद्रोह गरेकी छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको सम्झना र सम्मान स्वरूप ‘ सखा ! जून र घाम पनि हौ तिमी’ शीर्षकको कविता समेटिएको छ । यस कवितामा गोपालप्रसाद रिमाल र वानिरा गिरीका विषयमा समाजले गरेको हल्लाको टिप्पणी गरिएको छ । यहाँ सखा ! भनेर सम्बोधन गरिएका पात्र गोपालप्रसाद रिमाल हुन् र यस कविताले नेपाली समाजमा नारी पुरुषको सम्बनधको पाटोलाई हेर्ने एकल दृष्टिको विरोध गरिएको छ । कविता विद्रोही किसिमको छ ।
-सम्पा. |
सखा ! जून र घाम पनि हौ तिमी
भन्नेहरू त
कतिसम्म भन्छन् भने-
तिम्रो हृदयको नदेखिने पानामा
सम्भवत: एउटा प्रणयी-अक्षर कोरिएको थियो रे !
—
कुन हौ त्यो अक्षर ?
के हो त्यो अक्षर ?
को हो त्यो अक्षर ?
—
तिमी स्वयम्को खोज त होइन त्यो अक्षर ?
अथवा मेरो तिमीसँगको
अनवरत यात्राको शिरबन्दी त होईन त्यो अक्षर ?
—
जो तिमी ‘आमाको सपना’ पछिपछि,
दौँडँदै-दौँडँदै, खोज्दै-खोज्दै, भौतारिँदै-भौतारिँदै
तिम्रो जन्मथलोमा आएकी थिई-
—
तिमीलाई जान्ने, तिमीलाई हेर्ने
तिमीलाई बुझ्ने, तिमीलाई बेहद माया गर्ने
र
एक बिछट्टै अद्भूत
नक्षत्रको आविष्कारमा
आफूलाई समर्पित गर्ने दृढ आत्मविश्वासका साथ
ढक्क जन्मेकी थिई त्यहाँ
—
तिम्रो हृदयको नदेखिने पानामा
एउटा सम्बोधन कँद्छु, खोप्छु-
—
सखा !
यस हिमवत् खण्डका
शिखर-चुलीहरूलाई साक्षी राख्दै
—
तिमी मेरा संज्ञा हौ
म तिम्रो अभिशून्यताबाट अभिसिञ्चित
—
अभिमन्त्रित संज्ञा
—
मैरा निम्ति
शारदीय आकाशका
बडेमाको जून थियौँ तिमी
—
त्यति मात्र हो र रु
शाश्वत शारदीय आकाशको
जून र घाम पनि तिमी
—
ए !
प्रतीक र विम्बका अबोध अस्त्रधारी योद्धा
अक्षरका पण्डित्याइँमा जुङ्गा मुसार्ने
कसैले पनि छुन सक्दैन तिमीलाई
तिम्रो ओजस्वी प्रभामण्डललाई
—
म-
एक निस्पृह निहारिका तिमीमा
—
सखा !
जिन्दगीको सर्वाधिक उर्वर कालमा
भावना र संवेदनाले समृद्ध तिमी
—
आमाको
शक्तिशाली कोमल कोखमा
लहलह उम्रेका क्रान्ति जमराहरू
अँगालाभरी भरी सँगालेर
—
संसारै घन्कने गरी
कस्तरी गाएका थियौँ
‘आमाको सपना’को
त्यो दुर्लभ कर्खा-गान
—
‘त्यो आउँछ ?’
भनेर प्रश्न गर्ने तिमी
स्वयम्-
उत्तरमा रूपान्तरित भइरहेथ्यौँ
—
महाक्रान्तिका
अति ओजस्वी अक्षरहरूलाई
झण्डाकै फहराउँदै थियौँ तिमी
—
साइतको जुजुघौँ लिएर
उभिएकी तिमी प्रणयिनी
तिम्रो हृदयको नदेखिने पानामा
कोरिएको प्रणयी अक्षर त होइन ?
—
बिन्ती
नढाटी भन त-
—
त्यो अक्षरको नाम प्रणयिनी तै हो ?
त्यो अक्षरको नाम आमा नै हो ?
—
त्यो अक्षरको नाम क्रान्ति तै हो ?
त्यो अक्षरको नाम क्रान्ति मात्र त होवोइन ?
—
त्यो अक्षरको नाम महाक्रान्ति नै हुनुपर्छ ।
सखा !
घना अन्धकारले
यत्रतत्र ढाकिएको नक्षत्रमा
उधुमै उज्यालो सपनाको
एक प्रणयी फब्ल्याटो दियौ मलाई
—
अर्को फब्ल्याटो आफ्नै छातीमा टाँसेर
सात समुद्रको जलमय सतहमा
छप्छप् छप्छप् गर्दै
अद्यापि ओहोरदोहोर गर्दैछौँ तिमी
अद्यापि ओहोरदोहोर गर्दैछौँ तिमी ।