इन्दिरा प्रसाई नेपाली साहित्यका आख्यान र कविता विधामा सुपरिचित प्रतिभा हुन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा प्रसाईको श्रद्धाञ्जली भन्दिनँ राजेन्द्र दाइ! शीर्षकको कविता समेटिएको छ । यस कविताले राजेन्द्र सुवेदीको शोकमा उब्जिएका शोधाभिव्यक्तिलाई समेट्न सकेको छ ।-सम्पा. |
कोरोनाले भनेर हुन्छ र ?
अरू जस कसैले भनेर हुन्छ र ?
आफ्ना असल कर्महरूमा
अजर हुनुभएका तपाईं राजेन्द्र दाइ !
आफ्ना कृति र कृत्यले
अमरता पाइसक्नु भएका तपाईं राजेन्द्र दाइ !
कसैले भनेर म पत्याउन्न
पत्याउन मिल्दै मिल्दैन
तपाईं धराधाममा
हुनुहुन्न भनेर
म पत्याउन्नँ राजेन्द्र दाइ !
कालले जिस्केर हुन्छ र ?
तपाईँलाई हामीबाट
उसले खोसेर हुन्छ र ?
नेपाली वाङ्मय वाँचुञ्जेल
बाँचिरहने तपाईँको महाप्रस्थान ?
म त स्विकार गर्दिन राजेन्द्र दाइ
म त तपाईँलाई
मेरै ओरिपरि देखिरहेकी छु
हाम्रो शिरमाथिको छहारी बनेर
उभिनुभएको पाइरहेछु
मेरो मुटुको चोकनेरि
सधैँझैँ उजेलिँदै
उभिएको भेटिरहेछु ।
तपाईं राजेन्द्र दाइ !
तपाईँले नै जोर्नु भएको
मायाको संसारमा
जीवित हुनुहुन्छ
सुकर्मको फलमा
हाँसिरहेको तपाईँको उज्ज्वल मुहार
उसै गरी मुस्कुराइरहेछ
उसरी नै मुस्कुराउनेछ सधैँ ।
तपाईँबाट निस्रित
स्नेहधारामा नुहाएका
मजस्तै
हजारौँ चेलाचेलीका छातीमा
सधैँ चिरञ्जीवि हुनु हुनेछ
शिष्टताका प्रतिमूर्ति तपाईँप्रति
सदासर्वदा अथाह श्रद्धा चढाउँछु
तर अहँ म त
श्रद्धाञ्जली भन्दैभन्दिन राजेन्द्र दाइ !
मेरो मन र मुटुमा रोपिएका
भद्रताका नमूना तपाईँलाई
म त विदा दिँदै दिन्न
राजेन्द्र दाइ !