राजेन्द्र सुवेदी (२०००–२०७८) नेपाली साहित्यका बहुमुखी प्रतिभा हुन् । उनको निधन भएको एक हप्ता हुँदैछ। साहित्यसागरले उनका विषयमा यो स्मृति अङ्क सार्वजनिक गर्दैछ । उनका बहुमुखी प्रतिभामध्ये प्रमुख सिर्जन सामर्थ्य रहेको विधा निबन्ध हो । यद्यपि उनको कलम साहित्यका विविध विधामा चलेको पाइन्छ । उनले निबन्धपछि कवितामा विशेषगरी कलम चलाएका छन् । यहाँ उनले रचना गरेको ‘स्मृति : मेरो बाल्य जीवनको’ शीर्षकको कविता प्रस्तुत गरिएको छ । प्रयुक्त कविताले उनी हुर्किएको गाउँको परिवेशलाई ‘फ्लासब्याक’का रूपमा वर्णन गर्नुका साथै ग्रामीण परिवेश र त्यसबखतको गाउँले जीवनलाई देखाएको छ ।
-सम्पा. |
मेरा बालखका बिते दिन जहाँ त्यै गाउँ सम्झन्छु म ।
साथी चारुमती र दामुहरूका क्यै नाउँ सम्झन्छु म ।।
चुत्रो काफल मल्लिणो भकिमिलो ऐँसेलु सम्झन्छु म ।
स्वप्नामा पनि झल्झली किन सधैँ त्यै ठाउँ सम्झन्छु म ।।
काबेली तटमा चुमी पयरले डाँडो सिरानी गरी ।
पल्टेको अमरापुरी पुरसरी गाउँछ पाखा भरी ।।
सल्लो उत्तिस सालका वनहरू बस्छन् तरेली परी ।
ऐले बल्झिरहेछ दृश्य हरियो मेरा परेली भरी ।।
बारीमुन्तिर खेतका डिलहरू नाघेर हाम्फालियो ।
मेरो उत्तरबाल्यको बय बित्यो खेलेर डण्डीबियो ।।
गाईबस्तु चराउँदै वन घुमी सिम्टा टिपी खाइयो ।
बास्दा झ्याउँकिरी फिरेर घरमा गाई लिई आइयो ।।
मेरो मानसका सपाट पटमा जे जे कुरा लेखियो ।
ऐले सम्झिरहेछु त्यो वय भने स्वर्गीयजस्तै थियो ।।
निष्ठाका पथमा परम्परितको आव्याप्त आस्था थियो ।
ऐले संस्मृतिमा भने समयको धूलो बसी मैलियो ।।
हावा सिर्सिर कुम्भकर्ण गिरिको थापेर सुस्ताउँछ ।
जङ्घा कञ्चन शैल शीतल हवा पोखेर मुस्काउँछ ।।
बेहानीपख सूर्यका किरणमा सर्वाङ्ग चम्काउँछ ।
सन्ध्यामा पदचिन्ह निभर्य गरी आकल्प लम्काउँछ ।।
मेरो पाथिभरा प्रदत्त वरको सत् ज्ञान सम्झाउँछ ।
सान्ध्या प्रात विमुक्त कण्ठ लयमा सम्प्रार्थना गाउँछ ।।
आस्थाका मृदु भावना निलयमा रोपेर हुर्काउँछ ।
मान्छेका हृद कूपमा सहजले सन्मार्ग जन्माउँछ ।।
बज्छन् घण्टहरू विमुग्ध लयमा घन्काउँदै मन्दिर ।
बास्छन् झ्याँउँकिरीहरू वनभरि झस्केर केही पर ।।
झुक्छन् भक्तहरू प्रफुल्ल मनले गर्दै बडो आदर ।
श्रद्धायुक्त सधैँ समर्पित बनी आफै झुकाई शिर ।।
आस्थाका विपरीत मूल्यहरूको कोरा म मान्छे बनेँ ।
खाली वर्ष र मास पक्ष दिनका सोपान मात्रै गनेँ ।।
धर्तीको मृदु मृत्तिका विजयको आव्याप्त बाटो खनेँ ।
पानी अन्न घटाउने विषयको फोस्रो म मान्छे बनेँ ।।
यात्रामा कहिले चुली र कहिले फेदीहरू आउँछन् ।
पुग्ने निश्चित बिन्दु छैन कुन हो यात्रीहरू धाउँछन् ।
यात्री माथि पुगून् कि या तल झरून् सास्ती कयौ पाउँछन् ।
पीडा जीवनका अनेक क्षणका के थाह बिर्साउँछन् ।।
यात्राको अविराम निष्क्रमणमा बग्ने नदी जुट्दछन् ।
मेरा बाल्य सखा विविक्त किन हो मात्रैँ यहाँ छुट्दछन् ।
तन्त्री ताल मिलाउँदा पनि अहो अव्यक्तमै ट्ट्दछन् ।
नारीमा लहरै मिले पनि चुरा झङ्कारमै फुट्दछन् ।।
मेरो बाल्य कथा त्यतैतिर कतै अल्झिीरहेको छ कि !
छाती दुख्दछ चस्स घाउ मुटुमा बल्झीरहेको छ कि ।।
मेरा मानसमा कतै अनल पो सल्कीरहेको छ कि !
यो मेरो वय अन्त अन्ततिर पो ढल्कीरहेको छ कि !!
कोक्राबाट झरेर आगनतिरै चाटी धुलो घिस्रिन ।
बामे सर्न सिकेँ मतान घरका पेटीतिरै पस्रिन ।।
आमाको मृदु काख लक्ष्यित थियो सक्थ्यो र को बिर्सिन ?
लाग्थेँ अखिर मोहसिक्त पथको संज्ञानमै फर्किन ।।
गुज्रेका क्षण टिप्न बाल्य बयमै फर्केर जाऊँ कि म ।
पर्ला आपत पढ्न लेख्न बहुतै फर्की नजाऊँ कि म ।।
साथीका सँग सैसला रुख चढी खेली रमाऊ कि म ।
साच्चै सज्जन या त दुर्जन कुनै बाटो समाऊँ कि म ?
मैले भौतिक मूल्यको मधुरता आस्वाद मान्दै पिएँ ।
आफ्नो सप्तति वर्षचक्र बिचको त्यो व्यूह भित्रै जिएँ ।।
मेरो जीवन मार्ग त्यो विगतको सम्झी कतै अल्झिएँ ।
ऐले दुष्कर शुष्क उच्च मरुको सिक्रे बुटो देखिएँ ।।