डा. विष्णुविभु घिमिरे (२०१० भाद्र १०, बरबोटे, इलाम, सुपुत्र : हरिनारायण घिमिरे र तोरणकुमारी घिमिरे) प्राध्यापन, पत्रकारिता र साहित्य सिर्जनाका क्षेत्रमा सुपरिचित प्रतिभा हुन् । उनी नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व उपकुलपति हुन् । उनका सडक नाटकका पाँच वर्ष (२०४४) समीक्षा कृतिका साथै कठघरामा उभिएर (२०४५), काँडाकाँडमा टेकेर (२०५९) जस्ता महत्वपूर्ण कवितासङ्ग्रह प्रकाशित छन् । उनले जनैको साँचो र सहयात्रा जस्ता टेलिचलचित्रको लेखन पनि गरेका छन् । गरिमा, अहिले, विमोचन, सुरुचि, कला र सिर्जना जस्ता पत्रपत्रिकाका सम्पादनका साथै विविध सङ्घसंस्थाको नेतृत्वसमेत गरिसकेका घिमिरे विशिष्ट कवि प्रतिभा हुन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा घिमिरेको शान्तिको गाउँ’ शीर्षकको कविता समेटिएको छ । यस कविताले शान्तिको खोजी गरेको छ ।-सम्पा. |
कहाँ होला शान्तिको गाउँ ?
जहाँ टेकेर
बाँकी जीवनको घाम–जून हेरूँ
फूलहरू फुलेको हेरूँ
नदीहरू बगेको हेरूँ
झरनाहरू झरेको हेरूँ
निस्वार्थ, निष्कपट
मनहरूको बीचमा बसेर
जीवनका बाँकी तस्बीरहरू खिचूँ ।
कहाँ होला शान्तिको गाउँ
जहाँ उभिएर
कहाँ चुके म
कहाँ ठिक भएर उभिन सकिनँ
यो लामो जीवनको घुम्तीहरूमा
कसरी बाटो पहिल्याएर हिँडे म
जहाँ उभिएर
बितेका जीवनको हिसाब– किताब गर्न सकूँ
बाँकी जीवनको योजना बनाउन सकूँ ।