झाँक्रीखोलेको वास्तविक नाम यादवप्रसाद अधिकारी हो । उनको परिचय यसअघिका श्रृङ्खलामा समेटिइसकेको छ । आफूलाई मन पर्ने सिर्जनाहरूको मिहिन समीक्षा पनि गर्ने गरेका उनी साहित्यसाधनामा निरन्तर लागिरहेका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘नयाँ वर्षलाई स्वागत’ शीर्षकको कविता समेटिएको छ ।
-सम्पा. |
तिक्तता र धमिलो रिस खाई
बित्छ वर्ष गत हुन्छ बिदाइ
लौ बितेछ सतहत्तर काल
स्वागतम् छ अठहत्तर साल ।।१
अन्तरात्म कुँडिए घर बाझो
चित्त खेद द्विविधा गुट भाँजो
देखियो विजय हार पछार
शासकीय दलको अतिचार ।।२
सिध्दिए विगतका दिन चाम्रा
भोलि व्यर्थ नसढून् दिन राम्रा
जे भयो विगत बल्झिनु हुन्न
मित्रघात र इबी गर शून्य ।।३
कर्म गर्न मुख चम्किनु हुन्न
पौरखी समय उम्किनु हुन्न
पक्र ए विगतको युग नारा
योग्य नागरिकको अविभारा।।४
आम नागरिक पार्नु छ राजी
देश शासन सुधार्नु छ काजी
सोच निम्न जनको हितलाई
योजना र अभियान चलाई ।।५
देश उन्नति हुने गृह धन्दा
भाग्य निश्चित हुने युग बन्दा
खुल्छ रूप जननी सुखदायी
आउ शासक नयाँँ प्रण खाई ।।६
राष्ट्र होस् इलमले दृढ आस्थ
गर्दछन् श्रमिक कर्म प्रसस्त
मुक्त गर्न श्रमको परदेश
लौ फिराउ सब बन्धु स्वदेश।।७
काम बाहिर हुने घर आऊन्
बैंसमा स्वगृह कार्य समाऊन्
द्वेष द्वन्द्व नबढून् जनतामा
रामराज्य बनियोस् सुखधामा ।।८
राष्ट्रसेवक गुणी अघि आऊन्
वैमनस्य निमिट्यान्न बनाऊन्
उद्यमी मुलुक होस् सतिसाल
दो हजार अठहत्तर साल ।।९