चतुर्वेदी मोहनराजको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । उनी बर्मामा बसेर नेपाली साहित्यको विकासमा समर्पित प्रतिभा हुन् । प्रस्तुत शृङ्खलामा ‘वैशाखमा वासन्ति फूल’ शीर्षकको कविता समेटिएको छ ।
-सम्पा. |
हृदयमा वासन्ती छाउन सकेन
अशान्त मन छ दिन र रात
तानाशाहीको वज्रपात छ
हृदयको वसन्त लुटियो
स्वतन्त्र जब गुमेपछि
हृदयमा वासन्ती छाउन सकेन
वैशाखमा वासन्ती फूल फुल्यो ।
आघातमा छ मान्छेको मन
समय साक्षात्कार
पुराना विकारहरू फाल्नुपर्ने
वासन्ती मनहरू फुल्नुपर्ने
कष्टदायी समय
भयावह समय
त्रासदि समय
वसन्तका पाउलाहरूमा आक्रमण छ
हृदयमा वासन्ती छाउन सकेन
वैशाखमा वासन्ती फूल फुल्यो।
छट्पटाएको छ समय
खट्पटी भइरहेको समय
ऐठन लागिरहेको छ
दिन र रात खग्रास समय
नवग्रहमध्येको मान्छेको कुग्रह
बुद्धिविहीन मूर्ख जीवीहरू बिच
हृदयमा वासन्ती छाउन सकेन
वैशाखमा वासन्ती फूल फुल्यो ।