डा. माधवप्रसाद पोखरेलको परिचय साहित्यसागरको माधव घिमिरे विशेषाङ्कमा समेटिइसकेको छ । उनी नेपाली भषावैज्ञानिक, स्रष्टा एवम् द्रष्टा व्यक्तित्व हुन् । प्रस्तुत शृङ्खलामा पोखरेलको शुभकामना शीर्षकको कविता समेटिएको छ । यस कविताले नयाँवर्षको शुभकामनालाई नै केन्द्रमा राखेको छ ।-सम्पा. |
देश टुक्र्याउँछौँ भन्ने नेताको बुद्धि सप्रियोस् !
बन्धु फुटाउँछौँ भन्ने नेताको बुद्धि सप्रियोस् !
युद्ध चर्काउँछौँ भन्ने नेताको बुद्धि सप्रियोस् !
आफ्नै धोक्रो भरूँ भन्ने नेताको बुद्धि सप्रियोस् !१!
ठूलो धन्दा अँध्यारामा गर्नेको बुद्धि सप्रियोस् !
लुकी–छिपी भुँडी भर्नेहरूको बुद्धि सप्रियोस् !
चेला नेपालका बेच्नेहरूको बुद्धि सप्रियोस् !
आदर्श व्यक्तिका शत्रुहरूको बुद्धि सप्रियोस् !२!
झुक्याएर धनी बन्नेहरूको बुद्धि सप्रियोस् !
अनुशासन छोडेका अल्छीको बुद्धि सप्रियोस् !
नम्रता, शिष्ट संस्कार छोड्नेको बुद्धि सप्रियोस् !
उल्टो आदर्श रोजेरै हिँड्नेको बुद्धि सप्रियोस् !३!