दीपा राई पुनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । उनी विदेशमा बसेर नेपाली साहित्यको विकासमा सिर्जना र साङ्गठानिक रूपमा समर्पित प्रतिभा हुन् । प्रस्तुत शृङ्खलामा जीवन उत्सवमा नववर्ष शीर्षकको कविता समेटिएको छ ।
– सम्पा. |
समय भनेर हिडेका पाइलाहरू
हरेक साल एउटा उत्सव साँझमा भेटिन्छ
अर्को सालसम्मको उत्साह सुनाउँन
कहिले कसो बिच बाटामा
जीवन खोलाको तीरमा भेटिन्छ
बचाई अनुच्छेदको पिरमा भेटिन्छ
फेरि पनि मुस्कान, बाछिटा छाडेर
अदम्य अदम्य साहस बोकेर
जीवन पहाड उक्लिरहेकै हुन्छ
पाइला पच्छाउँदै विश्वास भरिरहेकै हुन्छ
मध्ये रातमा वर्षले पालुवा फेर्छ
ढुकढुकीमा सुकेको रहरको मुल फुटाउन
पारि कतै डाँडामा
गोठालाले बाँसुरी बजाइरहेछ
आफै डुबेर ऊ आलापको गहिराइमा
जीवन धुन निरन्तर भेटिरहन्छ
चराहरू आकासमा उडिरहेछन्
क्षणिक उडानको प्रत्येक आयाममा
औधि मायाले डालीडालीमा बिसाइरहेछ
समय साल हिँडेर उही पलामा बिसाउँछ
जीवनले गति लिन थकाई नि मेटाउँछ ।
खुद्रे रहरदेखि सग्लो सपनालाई बिउँताउन पर्छ
बिना दासताको मनको देशमा खुसीले उफ्रन ।