वसन्त श्रेष्ठको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । यस शृङ्खलामा उनको शुभकामना नयाँ परिवेशको शीर्षकको नयाँवर्षको शुभकामनामूलक रचना समेटिएको छ ।
-सम्पा. |
म परिवेश नियाल्ने मान्छे
परिवेश नियालिरहेछु
म जाडोले कठ्याग्रिने मान्छे
शीतलता महशुश गरिरहेछु
म बिछोड मन नपराउने मान्छे
सुखद आगमनको कामना गरिरहेछु
म बिदाईको गीत नगाउने मान्छे
शुभकामनाको गीत गाइरहेछु !
म आगमनमा रमाउने मान्छे
बिछोडमा पनि रमाइरहेछु
शीत्तल अनुभूति प्रदान गर्ने बिम्ब
फैलिरहून् जताततै
यही कामना गरिरहेछु
म बसन्तको हरियाली
सबैतिर छाएको देख्न चाहने मान्छे
चाहन्न म सूर्यको किरण
मेरो कोठामा मात्र सिमित बनोस्
म उज्यालो सबैतिर भएको देख्न चाहने मान्छे
चाहन्नँ म त्यो उज्यालो
मेरो कोठामा मात्र कैद बनेर बसिरहोस्
म चाहन्छु
तिमी चिर्दै जाऊ अँध्यारोलाई
तिमी छर्दै जाऊ हरियालीलाई
तिमी जहाँ जाऊ जता जाऊ
दिनको उज्यालो छर्दै जाऊ
हरियाली फैलिएको देख्ने
हामी सबैको सपना
यही छ मेरो सुनौलो परिवेशको हार्दिक शुभकामना !!!