दुष्यन्त भट्टराई विदेशमा रहेर पनि निरन्तर नेपाली साहित्यको सेवामा समर्पित प्रतिभा हुन् । उनको वनवास शीर्षकको कविताकृति प्रकाशित छ । शास्त्रीय लयढाँचामा सुन्दर कविता सिर्जना गर्न सक्ने भट्टराईको प्रस्तुत शृङ्खलामा नयाँवर्ष शीर्षकको कविता समेटिएको छ । यस कविताले वसन्त ऋतुको वर्णनकै बिच नयाँवर्षको कामनालाई नै समेटेको छ ।
सम्पा. |
रहेन शीत कोपको प्रकोपमा वसुन्धरा
मसक्क मस्किँदै गए समस्त जीवका जरा
मुहारमा छ पोतिँदै बिहान एक भास्कर
वसन्त पालुवा सँगै बनाउँदै हराभरा ॥१॥
स्वयम् समस्त सृष्टि नै प्रफुल्ल मुस्कुराउँदा
वसन्त बन्छ सन्तझैँ गुराँस साथमा हुँदा
घुमेर कोइली चरी रमाउँदै रमाउँदै
खुसी सहर्ष साट्दछे वसन्त राग गाउँदै ॥२॥
मुसुक्क कोपिला स्वयम् फुलेर हाँस्न पाउँदा
वसन्त बागमा नयाँ उमङ्ग नाँच्न पाउँदा
खुसी हुँदैन को यहाँ जहाँ छ सृष्टि नै खुसी
भनूँ अगाडि पाउ हे उठेर मार बुर्कुसी ॥३॥
पराग राग मोहले सधैँ घुमेर माहुरी
हराउँछन् बगानमा सुगन्ध गन्धमा भुली
किसान व्यस्त खेतमा लगाउँदै मकै गहुँ
मभित्र हौसला बढोस् यतै रमूँ यतै रहूँ ॥४॥
रमाउँदै रमाउँदै सचित्र चैत्र निस्कियोस्
खुसुक्क कुत्कुत्याउँदै नवीन वर्ष जिस्कियोस्
हरेक वर्षझैँ नयाँ घुमेर वर्ष फर्कियोस्
नयाँ उमङ्ग टाकुरा चुमेर हर्ष फर्कियोस् ॥५॥
हिमालमा पहाडमा मधेसमा समुन्नति
जताततै स्वदेशमा हओस् सदैव उन्नति
बढेर प्रेम फैलियोस् नहून् कतै कुनै छल
समानता र शान्तिका फिरून् नयाँ नयाँ पल ॥६॥