मुकुन्द शर्मा नेपाली र संस्कृत साहित्यका विद्वान् व्यक्तित्व हुन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । यहाँ उनको नयाँ वर्षको शुभकामनासँग सम्बन्धित ‘नयाँवर्ष’ शीर्षकको कविता समेटिएको छ । यसले मित्रलाई संबोधन गर्दै नयाँ वर्षबाट मानवीय सम्बन्ध बढाउनु पर्ने चेतना सञ्चार गरेको छ ।सम्पा. |
यो नयाँवर्षमा आऊ यौटा बाचा गरौँ सखे
हिजोका सपनालाई बिपनाले भरौँ सखे ।
अरूलाई दबाएर कसरी उठ्न सक्तछौं
भोकालाई रुवाएर कसरी चुठ्न सक्तछौं
ओेठमा सहयात्रीको मधुफूल छरौँ सखे
हिजोका सपनालाई बिपनाले भरौँ सखे ।
अर्काको जीतमा आफ्नो सोच्यौं कि त पराभव
यस्तो ईर्ष्यालु पाराले होला के सुख सम्भव
त्यागले शान्ति पाइन्छ त्यतैतिर सरौँ सखे
हिजोका सपनालाई बिपनाले भरौं सखे ।
मेरो माया यता पूर्ण तिम्रो प्रीति उता भरि
परस्पर बनोस् हाम्रो मायाप्रीति अजम्मरी
पुगोस् जुनी जूनसम्म स्वार्थमा नझरौं सखे
हिजोका सपनालाई बिपनाले भरौं सखे ।
आफू मात्रै रमाएर कसरी बाँच्न सक्तछौँ
दुवै गाला फुलाएर कसरी हाँस्न सक्तछौँ
सहअस्तित्वको नौका एकैसाथ तरौं सखे
हिजोका सपनालाई बिपनाले भरौं सखे ।