भगवती अर्याल पाण्डे सिर्जना र समीक्षा दुवै क्षेत्रमा सक्रिय प्रतिभा हुन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । यहाँ उनको ‘प्रेमी होऊन् कञ्चन’ शीर्षकको कविता समेटिएको छ । यस कविताले मानवीय प्रेम र भावनाको उज्ज्वलताको कामना गरेको छ ।
-सम्पा. |
आफ्ना प्रेम सफा हउन् गगनझैं वर्षा हटेका पल
भित्री सुन्दर रूपका हृदयमा शून्यै बनेका छल
माया मोह रसाउने कलकली बोली मिठो झनझन
ठूलो सोच लिँदै बढून् कदम ती प्रेमी होउन् कञ्चन ।।
प्रेमालाप चलेर आपस सधैँ आत्मिय गाथा बनून्
उत्सर्गी पथमा कुदेर पदले गन्तव्य सारा चुमून्
ठूलो सङ्कटमा घुलेर सहजै न्यानो छहारी बनून्
छुट्दैनन् कहिल्यै मिलेर रहने जोडी चखेवा भनून् ।।
खेल्लान् तास जुवा अनेक जन ती, बानी नलागून् कतै
ती शाला मधुका खुले पनि यहाँ इच्छा नजागून् छुनै
आफ्नै कौशल सीपमा छमछमी नाच्दै गरून् मञ्चन
तेजस्वी दिलका हिमाल चुचुरा प्रेमी हउन् कञ्चन ।।
सारा दर्द भुलाउने सरलकी ती शालिनी छिन् घर
भन्ने सोच सधैँ सकोस् हृदयले राख्दै नराखी पर
तीतो लाग्दछ स्वाद तापनि सदा त्यो नीमको मञ्जन
धेरै रोग निको गरे सरहका स्वामी बनून् सज्जन ।
झुप्रो होस् तर सिर्जना चहकिला सिर्जेर धेरै गरून्
स्वामीका पसिना बगेर घरका घैलाहरु ती भरुन्
खोजुन् दौलत देश वा पर हुँदै सन्तानका व्यन्जन
एकै हुन् धमनी जहान भवकी प्रेमी हउन् कञ्चन ।।