रमेश शुभेच्छु नेपाली साहित्यमा सिर्जना, समीक्षा र साहित्य सञ्चारका त्रिआयाममा सक्रिय युवा पुस्ताका प्रतिभा हुन् । उनले कविता सिर्जनातर्फ शास्त्रीय लयढाँचा, लोकलयढाँचा र मुक्त लयढाँचाका कविता सिर्जनामा आफ्नै पहिचान बनाएका छन् । साहित्यसागरको माधव घिमिरे विशेषाङ्कमा उनको परिचय समेटिइसकेको छ । प्रस्तुत शृङ्खलामा ‘अभिमन्यु’ शीर्षकको कविता समेटिएको छ । यस कविताले अभिमन्युका विम्बमा साना ठुला सबै मानिसहरूको स्वत्व समान हुने पक्ष समेटेको छ ।
-सम्पा. |
म हुँ अर्जुनको चेलो , छोरो दुवै स्वयम् म हुँ
धनुका वाणका भाषा बुझ्न सक्छु बुझाउँछु
धनुर्धरहरू चिन्छु रक्षाकवच चिन्दछु
जानेको यो धनुर्विद्या योग्य ठाउँ लगाउँछु ।
परशुराम या द्रोण गुरुकुल म चिन्दछु
गुरुका छल या शिक्षा कलाचेत म जान्छछु
म बलरामको चेलो गदा विद्या म जान्दछु
गदाका शक्तिका भाषा गदाले नै बुझाउँछु ।
सत्यको सर प्यारो छ झुटको हारका अघि
तिरस्कार घृणा प्यारो स्वार्थका प्रेमका अघि
आओ कायर हो आओ जो जो भिड्छौ यहाँ म छु
सबै राजा सबै वीर आऊन् युद्ध लडून् म छु ।
द्रोणाचार्य, कृपाचार्य, अश्वत्थामा उठून् भिडून्
उठून् भीष्म भिडून् , आऊन् दुर्योधन स्वयम् भिडून्
राजैराजाहरू आउन् मेरो सामथ्र्य योग्य छ
सेनापतिहरू आऊन् मेरो कौशल योग्य छ ।
लुकीछिपी कुनै युद्ध लड्ने हैन म कायर
म हैन मृगको पाठो डमरु हुँ म बाघको
वीर आमुन्नेसामुन्ने युद्ध लड्छु म निर्भय
म चिन्छु सकुनी पासा म बुझ्छु कर्णको कथा ।
मलाई ज्ञान छन् मेरा काकाको शक्ति हो कति
दूशासन चिनेको छु दुर्योधन .उचो कति
सय भाइ सबै काका आउन् लड्न तयार छु
सेना औक्षुणका साथ एक्लै भिड्न तयार छु ।
पिठबाट नहानेर अगाडिबाट जो भिडोस्
मेरो ज्यान पछारिन्न शिर झुक्तैन जो भिडोस्
म प्रतिवादमा उत्रूँ युद्धको युद्धले भिडूँ
सोझा उत्तर द्यौ आफ्ना प्रश्नमा प्रश्नले भिडूँ ।
म हुँ अर्जुनको छोरो, म बलराम शिष्य हुँ
मभित्र छन् कलाचेत म पाण्डु वंश पुत्र हुँ
म भाञ्जो कृष्णको एक्लै चक्रव्यूह म तोड्दछु
देख्नेले बालकै देख्लान् म योद्धा अभिमन्यु हुँ ।
rshubechchhu11@gmail.com