सामना पहाड (सुमन सिलवाल, सुपुत्री : सितादेवी/राम प्रसाद सिलवाल, २०३९ पुस १५ गते, पर्वत, बाच्छा–४,कमेरे) नेपाली साहितयका विशेषतः कविता र जगल विधामा परिचित प्रतिभा हुन् । हाल शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय/पाठ्यक्रम विकास केन्द्रमा कार्यरत पहाड रुचिले साहित्यकार हुन् । २०६१ क्याम्पसकी छात्रा छँदै शहीद स्मृति बहुमुखी क्याम्पसको रजत महोत्सवमा साहित्यतर्फ प्रथम पुरस्कार प्राप्त गरी उत्साही बनेर निरन्तर साधना गरिरहेकी छन् । पहाडको बसोबास चितवन हुँदा उनले चितवन वाङमय प्रतिष्ठान, हाम्रो मझेरी साहित्य प्रतिष्ठान, वाल्मिकि साहित्य सदन जस्ता साहित्यिक सङ्घसंस्थामा रहेर साङ्गठनिक रूपले पनि साहित्यसेवा गरेकी छन् । उनका गजलका गजल पथका यात्रीहरू (२०६१ सयुक्त सङग्रह ), नेपाली गजलमा नारी हस्ताक्षर (२०६२ सयुक्त सङग्रह) जस्ता कृतिका साथै उनको पर्खालभित्रको घाम (२०७२) कवितासङ्ग्रह प्रकाशित छन् । उनका गजल बिम्व (२०६३), समय समयका स्वरहरू (२०६५), चितवनका कवि र कविता (२०७०) जस्ता कृतिमा र विभिन्न पत्रपत्रिकामा जगल र कविता सिर्जना छरिएर रहेका छन् । उनको खुला आकाश शीर्षकको कवितासङ्ग्रह प्रकाशोन्मुख रहेको छ । यहाँ उनको ‘म पूर्ण लोग्ने मान्छे’ शीर्षकको कविता समेटिएको छ । यस कविताले पुरुषका कोणबाट नारी र पुरुषलाई हेर्ने सांस्कृतिक दृष्टिकोणको भण्डाफोर गरिएको छ ।
-सम्पा.
म किन हुन सक्दिन र पूर्ण लोग्ने मानिस
लोग्ने मान्छे कहाँनेर भइन र म ?
धानिरहेको थिएँ त यतिका दिन
घर, व्यवहार, कार्यालय, समाज
तिम्रो मनदेखि तनसम्म
आशादेखि भरोसासम्म ।
तिमी कहाँ लुकिरहेकी छौ
आज मलाई बनाई अपूर्ण
प्रिय
म यतिखेर तिम्रो क्रिया बसिरहेको हैन
तिम्रै मायाको रापमा जलिरहेछु
बारबार तिम्रै नाम जपिरहेछु ।
थाहा छैन
कसरी छोडेर जान सक्यौ
तिमीविना यो भुगोलमा
केवल म एक्लै एक्लै भौतारिरहेछु
सारा भीडभाड छ अर्कातिर
म तिमी नै तिमी देखिरहेछु ।
किन मलाई अयोग्न देख्छ यो समाज
तिम्रो नाममा कपाल खौरेर बस्न
होला अयोग्य हुँला यो समाजको समाज शास्त्रमा
प्रियाका नाममा
शान्त सेता वस्त्र धारण गर्न किन नहुने मैले
किन नहुने तिम्रो पछि लागेर पति जान मैले
फेरि पनि थपेर सौभाग्यवती भएर गयौ
तिमीले मेरो नामको एक मुठी सिँन्दुर
म सोचिरहेको छु यतिखेर
बिरहको गीत किन गाउन सक्दिन
म डाँको छोडेर नारीले पुरुषका नाममा गाए जस्तै
कस्तो ब्याख्या गरेर गयौ तिमी तिम्रो कर्मकाण्डको
यतिखेर म थप निरिह रहेको छु
एकातिर तिमी हरायौ
अर्कातिर तिम्रो नाममा म
नयाँ उत्सव जस्तो गरिरहेछु ।
प्रिय !
यतिका वर्ष तिमीले
मलाई रोक्यौ संस्कृतिका नाममा
रोयौ एकल भएर हाम्रा नाममा
समय एकनास हुँदैन
अब क्रिया बस्न देऊ तिम्रा नाममा
मलाई पनि रुन देऊ तिम्रा नाममा ।
आज म तिम्रो नाममा क्रिया बस्न चाहन्छु
तेह्र दिन होइन
पैँतासिल दिन होइन
तीन सय पैँसठ्ठी दिन होइन
आजीवन ।
हो प्रिया
तिम्रा नाममा भित्राउने छैन कुनै सुन्दरी
खाना पकाउन नसकेको बाहनामा
हेर्ने छैन कसैका छोरी
विस्तारा चिसो भएको बाहनामा
खोज्ने छैन अर्की नारी
छोराछोरीको स्याहार गर्ने नाममा
म आफै गर्न सक्छु ।
म खुवाउन सक्छु मेरी आमालाई
तातो जाउलो
ब बाटिदिन सक्छु
मेरी स्कुले छोरीको टाउको
म खुवाउन सक्छु मेरा बालाई औसधी
लगाउन सक्छु इन्सुलिन ।
म सम्झाउँछु
दशकौ दशकौँ संघर्षरत
मेरो वर्गका नाममा एकल बाँचेका आमा दिदीलाई
मै प्रश्न गर्छु उनीहरूलाई
हामीलाई किन एक्लै वाँच्न दिदैनौ ?
हामी शक्ति शाली हुँदा हुँदै
किन यति निरीह बनाउँछौ ?
यतिसम्म कि
चुराविना विना जाउलो बसाल्न नसक्ने
पटुकाविना बजारबाट नुन नआउने
बारीमा खुर्सानी नउम्रने
नसक्ने मन्दिरको घण्टा बजाउन ।
मेरो माग छ
संसारका आईमाईहरू हो
संसारका लोग्ने मानिसहरू हो
म/हामीलाई पनि मुक्ति देऊ
यी अन्यायहरूबाट
यति सशक्त पारिदेऊ
कम्तिमा तिम्रो अनुपस्थितिमा
एकमुठी जाउलो पकाएर खान सकियोस्
केटाकेटीका लागि कपडा छान्न जानियोस्
बुवाको लागि औषधि खोज्न सकियोस्
आमाको गुनियो धोएर सुकाउन सकियोस्
परेका बेला दुना टपरी जोडन आओस्
खेतालाका भोकतिर्खा बुझेर मेलापात कुद्न सकियोस् ।
ए क्रिया बस्यो भनेर हेप्ने लोग्ने मानिसहरू हो
ए कपाल खौरिएका नाममा
मलाई हेला होचो गर्ने स्वास्नी मानिसहरू हो
सुन कान खोलेर सुन
म पूर्ण लोग्नेमान्छे भएको छु
म आफै प्रियाको क्रिया बसेर
पूर्णताको आरोहण गरिरहेछु
बरु तिमी एक उत्सव मनाएर जाऊ
मलाई पूर्ण मानिस बनाएर जाऊ ।