कृष्ण सुवेदी (भारद्धाज मित्र) नेपाली साहित्य, समाजसेवा, साहित्यिक पत्रकारिता र मानव अधिकारका क्षेत्रमा सुपरिचित प्रतिभा हुन् । उनको कलम कविताका विविध उपविधाका साथै निबन्ध र संस्मरणमा केन्द्रित रहेको छ । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । प्रस्तुत शृङ्खलामा सुवेदीको ‘चेतना र तिमी’ शीर्षकको कविता समेटिएको छ । यस कवितामा चेतनालाई दुवोका प्रतीकमा प्रस्तुत गरिएको छ ।
सम्पा. |
सचेतना त दुबो हो
माटो मात्र पाउनु पर्छ
उ आफै
आफ्नो आयतन फैलाऊँछ
सचेतना त कल्कलाउँदो
जैतूनको मुना हो
आकाशको प्रितमा
ऊ आफैं
वसन्तसँगै मौलाउँछ
होस पुर्याउनु पर्ने हुन्छ
मुना जोगाउनु पर्ने हुन्छ
अँखा नलगावस्
कुनै पश्चगामीले
र
वर्षा नहोस् त्यहाँ एसिडको
सिञ्चाई नगरेस्
भकभकी उम्लेको
तातो पानीले
छाता हुँदैन मुनासँग
आफ्नो बचाउका लागि
छाता समातेर बस्नै पर्छ तिमीले
खबरदारीका लागि
युगीन दायित्व पूरा गर्नै पर्छ
युगको प्रतिनिधि बन्न तिमीले ।
विवेक बन्दकी राखेपछि
तिमीसँग छ
उनीसँग छ
र मसँग पनि छ
विवेकको एक पुरिया स्टक
त्यसैलाई अँजुलीमा भरेर
प्रदर्शन गरिरहेछ मान्छे
मान्छे हुन
नभई नहुने रहेछ
एक अँजुली विवेक
त्यसै भएर त हो
मैले पनि बोकेको
मानवीय गुण भनेर ।
बजिरमानसँग पनि विवेक छ
सबैसँग जस्तै
तर उसले आँखा चिम्लेको छ
भित्री आँखा पनि बन्द छन्
बजिरमानका
बाहिरी र भित्री सबै आँखा चिम्लँदा नै
उसलाई फाइदा छ ।
अव ऊ मोटाएको छ
अग्लिएको छ
अनि स्वादसँग सप्रिएको पनि छ
त्यसैले ऊसँगबाट अब
विवेकले बिदा लिएको छ ।
तिमी, उनी र मैले
अनि हाम्रो माटोलगायतले
हामी सबैले
ब्यर्थै रहेछ
विवेकको आशा र अपेक्षा राख्नु उसँग
बुझ्नै पर्ने भएको छ
अव सबैले यो तितो सत्य ।
अभियान जारी छ
खबरदारीको
विवेकसहितको मान्छेका
निरन्तर रखवारीको
अशा अनि विश्वास लिएर
सुनको बिहानीको
म त मस्त छु
रमाएको छु यसैमा
उज्यालो मन लिएर
यात्रारत छु
अशा बोकेर
पारि हैन
यतै वारीको ।