मसान उपासक (बकैया —४, मकवानपुर, पुपुत्र: रामप्रसाद सञ्जेल र गोमा सञ्जेल, जन्म : बैशाख १४) नेपाली साहित्यका सिर्जना र साहित्यिक संगठनमा सक्रिय प्रतिभा हुन् । उनको पसिनाको मानचित्र कवितासंग्रह (२०७७) प्रकाशित छ । उनी सञ्चारकर्मी पनि हुन् । उनी रेडियो बुलेटिन मकवानपुरका समाचार प्रमुख हुन् । उनी झरना साहित्यिक परिवार मकवानपुर (सचिव) जनसाहित्यिक लेखक संघका केन्द्रीय सदस्य एवम् बागमती प्रदेश संयोजक पनि हुन् । साहित्यसागरको प्रस्तुत शृड्खलामा उनको ‘रहर ’ शीर्षकको कविता समेटिएको छ । यस कवितामा मानव आकांक्षालाई रहरका रूपमा प्रस्तुत गरिएको छ ।
-सम्पा. |
बिर्सँदै गरेको समय तिम्रो हो
माफ गर ! म वर्तमान भोगिरहेको छु ।
मध्यान्नमा यात्री पर्खिरहेको उदास बाटो
साँझमा एक्लै छाडिएको ढुङ्गे धारो
यात्री हिँडेको सडकमा सुसाइरहेको हावा
भन, कहाँनेर हाम्रो गाउँ सुखी देखिन्छ ?
इमानमा किसान माटो बोकेर रुनुपर्छ
मुक्तिको गीत गाउने मानिस
आफ्नै बहिनीलाई बेचेर घर आउँछ
सपनाको बगैँचामा आँधी पस्छ, फूल भाँच्छ
त्यही समय युवकहरू खाडी ओर्लन्छन्
यस्तो लाग्छ, गाउँमा निराशा मात्र भेटिन्छ ।
प्रेमिकाको केशको रातो गुराँस
बादलको टुक्रासँगै कता पुगेछ ?
सिउँदोजस्तै अनुहार पनि फुङ उडेको देख्छु
क्षयरोगी बाबा यसै हल्लिरहेको भेट्छु
करेसाबारीमा आमा एक्लै रोइरहेको सुन्छु
केही नसोध कविज्यू,
दुखेको थाहा पाउँछु बस् ! अरू थाहा छैन ।
कुनै दिन आकाश उज्यालिने छ ।
यति अप्ठ्यारो कुदेर कोही नथाक्ला र !
समय लखतरान गलेर घर फर्कने छ ।
मान्छेका सुखद् कथाहरूलाई
वरिपरि घेरिएर आमाले भन्नुहुने छ
छातालाई काँधमा अडाएर
बाबा, चौतारी पुग्न हाँस्दै हिँड्नुहुने छ ।
यस क्षण, एउटै रहर बाँकी छ
कि तिम्रो काखमा बौरिएर बाँच्दा
आमाको हँसिलो अनुहार हेर्न पाए
प्रेमिकाको सिउँदो आफैँले रङ्ग्याउन पाए
जूनलाई टिप्न नसके पनि
बाँकी भन्नु केही हुने छैन ।
-बकैया —४, मकवानपुर