तारा उप्रेती (सुभाङ, पाँचथर, सुपुत्री : प्रेमप्रसाद उप्रेती र निर्मला उप्रेती) २००१ देखि क्यानडामा रहेर साहित्यसेवा गरिरहेकी छन् । उनी मनोविज्ञान चिकित्सा र मनोपरामर्शका क्षेत्रमा नेपालमा रहँदैदेखि र क्यानडामा पनि सेवा गरिरहेकी छन् । विशेष बालबालिकाका क्षेत्रमा र शान्ति स्थापनाका क्षेत्रमा काम गरिरहेकी उप्रेती साहित्य क्षेत्रमा सङ्गठन र सिर्जना दुवै क्षेत्रबाट सक्रिय छन् । अहिले उनी क्यानडा नेपाल सोलिडारिटी फर पिसको नेतृत्व गरिरहेकी छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको क्यानडा शाखाकी उपाध्यक्ष एवम् एनआरएनएको आजीवन सदस्यका रूपमा नेपाली साहित्यको सेवा गरिरहेकी छन् । उनको सामाजिक र साहित्यिक योगदानबाट नेपाली समाज लाभान्वित बनिरहेको छ । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘अस्ति हिजो र आज’ शीर्षकको कविता समेटिएको छ । यस कवितामा राजनीतिको विगत र वर्तमानका असङ्गत पक्षहरूलाई उजागर गरिएको छ ।
– सम्पा. |
अस्ति राजा महाराजाहरूलाई
सिधा हेरेको अपराधमा
कराइको टोपी लगाउने सिपाहीहरूले
शिरच्छेदन गरेर या
रुखमा झुन्ड्याएर
इहलीला समाप्त पारेको सुनेकी थिएँ
हजुरआमाले
कथा सुनाउँदा
जिउ सिरिङ्ग भएर
शरीरभरि काँडा पलाउँथे ।
हिजो पञ्चायतमा
मात्र गीत गायो भन्दै
जिब्रो थुतेर गोलीको कप्टेराले
पिस्कर र छिन्ताङको हाँडीमा
मान्छेका ठेट्ना भुटेरे भन्थे
तातो रगत शरीरभरि
कुदेझैँ हुन्थ्यो
रौँहरू फेरि ठडिन्थे ।
लोकतन्त्र गर्भमा हुँदा
थुप्रै गाउँहरूमा
आमा र दिदीबहिनीहरू
विधवा बनेको देखेकी थिएँ
कहिले जङ्गलीले टोक्थ्यो
कहिले सरकारीले ठोक्थ्यो ।
जस्ले टोके पनि
जसले ठोके पनि
मेरा गाउँहरू टुहुरा हुन्थे
मेरा बस्तीहरू शोकाकुल हुन्थे
शरीरभरि काँडा पलाउँथे ।
आज लोकतन्त्रमा
सिपाही नमस्कार गर्न आएन भन्दै
मन्त्रीले स्पष्टीकरण माग गर्छन्
आफ्नो सम्धीले राजदूत पाएनन् भन्दै
नेताले पार्टी फोर्ने उद्घघोष गर्छन्
आफ्नो पार्टीको जीत नहोला भन्दै
सदन अवरुद्ध गर्छन् ।
बिर्सन्छन् जनताका आँगन
मेचीकाली दौडाहा चलाउँछन्
शहीदको खेती गर्छन्
टुहुरा फलाउँछन्
रोगी र वृद्ध नेताले
उपचारमा देश रित्याउँछन् ।
आज
गरिबीको खेती लगाएर
मान्छे निर्यात गर्छन्
युवा जोस जाँगर
युवा उमेर र सोचाई पैठारी गर्छन्
स्टेचर हुइलचेयरमा
त्यतिले नपुगे कफनमा
रेमिटेन्स भिœयाउँछन् ।
विश्वास पनि थिएन हामीलाई
गणतन्त्रको खेतीमा
एउटा महाराजबाट
अनेकौँ महाराजहरू फल्छन् भनेर
देशको व्यवस्था उस्तै रहन्छ भनेर
जनको अवस्था उस्तै रहन्छ भनेर
खै मेरो देश उस्तै छ
सधैँ त्रासदीमा बाँच्छ
अस्ति पनि
हिजो पनि
आज पनि ।