रमेश खकुरेलको परिचय साहित्यसागरको माधव घिमिरे विशेषाङ्क समेटिइसकेको छ । यहाँ उनको साहित्यकारहरूलाई पुस्तक व्यवस्थापन गर्न पर्ने समस्यालाई विषय बनाई लेखिएको किताब र घर’ शीर्षकको कविता समेटिएको छ । यस कविताबाट सहरीकरणका यान्त्रिकता र संवेदनशून्य मनस्थितिलाई समेटिएको छ ।
सम्पा. |
किताब राखूँ कि म भात खाऊँ।
छ चार आना भुइँ भन्नु जम्मा
बाँकी नछोडी घर एक टम्म
यता उता होस् कि पछाडि नै होस्
अगाडि बाटो पछि के खुला होस् ।।
छन् तीन कोठा खुजमुज्ज बस्छु
बहालमा शेष दिएर राख्छु
यौटा यही जीवनको छ मेसो
चल्दैछ टर्दै यसरी दुखेसो ।।
न बन्द बेपार कुनै गरिन्छ
न नोकरीबाट चरी चरिन्छ
लेखेर बेच्ने मनले दिएन
उमेरले पौरखमा सकेन ।।
झण्डा उचाली पनि दौडिएन
डण्डा बजाई पनि मागिएन
पण्डा बनी भाल रँगाइएन
विदेशको दान मगाइएन ।।
लेखिन्छ केही मन लाग्छ छाप्न
छापेर के गर्नु सकिन्न बेच्न
दिए हसुर्छन् पसलेहरूले
राखूँ भने माउ किराहरूले ।।
बाँडेर बिस्तार सबै सकिन्छ
राख्ने कुनौटो पनि रिक्त हुन्छ
यस्तो कहानी त यता छँदैछ
अर्को व्यथा एक नयाँ हुँदैछ ।।
साथीहरूले पनि मान गर्छन्
किताब धेरै उपहार दिन्छन्
राखूँ कहाँ राख्न भएन ठाउँ
भाडा हटाऊँ कसरी हटाऊँ ।।
किताब राख्ने पनि हुन्छ इच्छा
भाडा हटाऊँ त हरिन्छ भिक्षा
लौ मित्रहो एक विचार पाऊँ
किताब राखूँ कि म भात खाऊँ ।