गोविन्दराज विनोदी (२०१० साउन २८, रूपाकोट, कास्की, सुपुत्रः कृष्णानन्द र गौरादेवी) नेपाली साहित्यका विशिष्ट प्रतिभा हुन् । प्राध्यापन, समाजसेवा र साहित्य सिर्जनामा समानान्तर उचाइको छवि बनाएका विनोदी रिस’ शीर्षकको कविता चितवनको चिनो (२०२१) मा प्रकाशन गरी सार्वजनिक भएका विनोदीका मेरो वर्तमान (२०४७) आँखाका नानी (बाल, २०५७), अविश्रान्त (२०५९), हिमस्पर्श (२०६६) जस्ता कवितासङ्ग्रहका साथै निर्मम निर्मम घडीहरू (२०५६) जगलसङ्ग्रह प्रकाशित छन् । उनका छन्दविनोद (२०५९), अनुमप घर्ती (२०६६) काव्यसहित कैकेयी (२०७५) महाकाव्य जस्ता कृतिहरू प्रकाशित छन् । उनको सृष्टिमाथि दृष्टि (२०६६) समीक्षा कृति पनि प्रकाशित छ । विविध कृतिका सम्पादकसमेत विनोदी विविध सम्मान र पुरस्कारबाट सम्मानित र पुरस्कृत पनि छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा विनोदीको सरस्वती आराधना शीर्षकको कविता समेटिएको छ । यस कविताले वसन्तपञ्चमी उत्सवका अवसरमा गरिने बौद्धिकताको आरधनालाई समेटेको छ ।-सम्पा. |
तिमी ज्ञान विज्ञानकी दिव्य खानी
तिमी नै नयाँ सिर्जनाकी बिहानी
तिमी अक्षरब्रह्मकी गूढ सिन्धु
तिमी कल्पनाकाशकी पूर्ण इन्दु
तिमी भावना नव्य सम्भावनाकी
तिमी ज्योति भाषा-कला साधनाकी
तिमी लोककी स्निग्ध वात्सल्यधारा
तिमी दिव्य सञ्चेतनाकी सितारा
तिमी मिष्ट वाणी तिमी शुद्ध भाषा
तिमी उच्च आस्था तिमी दीर्घ आशा
तिमी सत्त्व आफै तिमी नै शिवत्व
तिमी हृल्लता-पुष्पकी सुन्दरत्व
तिमी शारदा ज्ञानदा ज्योतिपुञ्ज
तिमी हार्द-संवेदनाकी निकुञ्ज
तिमी सच्चिदानन्दकी मूल सत्ता
तिमीमै छ मान्छे हुनाको महत्ता
तिमी नै त सङ्गीतकी मूर्च्छना हौ
तिमी शिष्ट साहित्यकी अर्चना हौ
तिमी सभ्यताकी सुनौली उषा हौ
तिमी सत्य सन्धानकी नै तृषा हौ
विना दृष्टि तिम्रो कहाँ खुल्छ मान्छे
विना प्रीति तिम्रो कहाँ फुल्छ मान्छे
विना भारतीको कृपाको विधान
कहाँ हुन्छ मान्छे र मान्छे समान
दुखेका अझै जिन्दगी लोकमा छन्
कुनै रोगमा शोकमा भोकमा छन्
धरामा छ बाक्लो अझै अन्धकार
सबैका तिमी दुःख पीडा निहार !
हटाएर यो अन्धताको तुँवालो
जलाएर सत्पात्रताको दियालो
बजाऊ तिमी प्रेमरूपी सितार
छ देवी ! यही प्रार्थना बारबार
पिपासा सबै युद्धका दूर फाली
सदा शान्ति सद्भावको दीप बाली
स्वयं विश्वबन्धुत्वलाई उचाली
बसून् नित्य मान्छे मनुष्यत्व पाली
सबै मूढमा नित्य सद्बुद्धि देऊ
सबै चित्तमा नित्य संशुद्धि देऊ
सबै निम्ति सद्ज्ञानको छन्द देऊ
सबैमा सदानन्दको स्पन्द देऊ !