डा. विष्णु राईको परिचय साहित्यसागरको अघिल्लो शृङ्खलामा समेटिइसकेको छ । यहाँ उनको ‘साइँलाको अनुहार’ शीर्षकको कविता समेटिएको छ । यस कविताले देशको दश वर्षे द्वन्द्व र त्यसपछिका राजनीतिक परिवर्तनमा देखिका वर्ग विभेदलाई प्रस्तुत गरेको छ ।सम्पा. |
अनुहारमा घरी तुवाँलो लाग्छघरी घाम
मझधारमा उभिएर भन्छ
कुन साइतमा आज बिहान उठेछु
भारी बोक्न पाइनँ
सरलाई देख्दा घामै लाग्यो
हजुरसँग भेट भयो कल्पनै गर्न सकिनँ ।
छाँगाबाट खसेँ
दोधारमा मुस्कुराइरहेछ
बालकजस्तो
उसको अनुहारमा देशको चित्र देख्छु
मेरो अनुहारमा भरैको छाक
भन्छ –हजुरसँग कस्तो दिनमा भेट भयो
भारी बोक्न पाइनँ
भारी बोक्दा कोही दुःखी कोही नपाउँदा ।
फरक हामीबीच
आङ छाती कन्याउँछ साइला भन्छ
जनयुद्धमा गोली लागेको घरीघरी चिलाउँछ
तैपनि जिन्दगीलाई लालसलाम छ
युद्ध कसैले जिते आफूले त हारेँ सर ।
मरेर मुस्कुराइरहेँ
फेरि भन्छ –हजुरसँग कस्तो दिनमा भेट भयो
नसोचेकै भयो
काँधमा डोको छ
चिसो हावाको स्पर्शले मार्न खोजिरहेछ
बेफिक्री अनुहारमा खुसी पोतेर एक कप चियाको सम्झौताले
भन्छ –एकपल्ट हाँकिने मन छ मलेसिया
सर नसीबको खेल के हुन्छ हेरौँ
आज अचम्म लागिरहेछ
हजुरसँग कुन साइतमा भेट भयो ।
कुरा घुमाएर गर्न खोज्छु
साइँलो टाउको घुमाएर उही कुरा गर्छ
–सर अचम्म भयो
सर र मेरो भेट नसोचेकै भयो
निकै कमाउँला भनेको त्यसै जाने भयो ।
२०७२-१-३०