गोविन्द गिरी प्रेरणा बहुमुखी साहित्यिक प्रतिभा हुन् । युवावस्थादेखि अमेरिकालाई कर्मभूमि बनाएर साहित्यका सङ्गठन, सिर्जना र समीक्षा जस्ता बहुमुखी क्षेत्रमा सक्रिय प्रेरणाको साहित्यिक योगदान उल्लेख्य रहेको छ । उनको परिचय साहित्यसागरको माधव घिमिरे विशेषाङ्कमा समेटिइसकेको छ । यहाँ उनको ‘ऐना फुटेपछि’ शीर्षकको कविता समेटिएको छ । यस कविताले ऐनालाई विम्ब बनाई मानवले आफ्नो सक्कली अनुहार पहिचान गर्नुपर्ने चेतना सञ्चार गरेको छ ।
–सम्पा. |
ऐना फुट्यो
र भित्ताबाट झर्यो
टुक्रा टुक्रा भएर ।
भित्ता छ
ऐनाको फ्रेम पनि छ सावुत
फगत ऐना छैन !
ऐना नभएपछि
मेरो अनुहार पनि हरायो
कतै देखिएन !
बटुलबाटुल पारेँ
फूटेको ऐनाका टुक्राहरू
र हेरेँ ऐनामा !
अहो मेरो अनुहार पनि
चकनाचुर भएछ
ऐनाका टुक्रहरूसँगसँगै !
अब म नयाँ ऐनाको खोजीमा छु
ता कि म आफ्नो
सग्लो अनुहार फेरि पाउन सकूँ !
(३ डिसेम्वर २०१९)