बालकृष्ण सम (१९५९ माघ २४–२०३८ साउन छ) नेपाली साहित्यका बहुमुखी प्रतिभा हुन् । उनको सिर्जन सामर्थ्य नेपाली नाट्य र कविता विधामा उल्लेख्य छ । उनको मूल प्रतिभा नाट्य प्रतिभा भए पनि उनको कविता सिर्जन सामर्थ्य पनि उल्लेख्य रहेको छ । उनका डेढ दर्जन नाट्यकृतिहरूमध्ये धेरै कविता नाटकका रूपमा रहेका छन् भने आगो र पानी (२०१४) खण्डकाव्य, चिसो चुल्हो (२०१५ महाकाव्य) का साथै बालकृष्ण समका कविता (२०३८) जस्ता कविता, काव्य र महाकाव्य कृतिहरू उल्लेख्य रहेका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा समको ११९ औँ जन्म जयन्तीको सन्दर्भ पारेर उनको ‘इच्छा’ कविता प्रकाशन गरी हार्दिक श्रद्धा सुमन अर्पण गरिएको छ ।
सम्पा. |
इच्छा यो छ महेश, अन्तिम जसै यो मृत्युसैया जली
मेरो रक्त सुकाउला म गरुँला अन्योल भै छट्पटी
त्यो बेला मुखमा बुटीहरू परुन् नेपालकै केवल
जेजेमा हिमशैलको छ मधुरो मीठो चिसो चुम्बन
।१।
“यो नेपाल स्वतन्त्र भै फुलिरहोस्, राजाप्रजामा सधैँ
झाँगी फैलिरहोस् बढेर लहरा यै शान्ति ऐश्वर्यको“
यो सन्देश म ब्रहृमनाल तकिया पारी पठाउँ वहाँ
साक्षी शङ्कर छन् श्मसानपछिका आशा रहेका जहाँ
।२।
बज्ला मन्दिरमा ’तथास्तु’ जब यो घण्टा दिदै उत्तर
हाँस्तै शान्त भई उही समयमा नेपाल हेरी मरूँ ।
मैरो लाश पवित्र चन्दन घसोस्, कात्रो मलाई बनोस्
नेपाली सुकुमार हातहरूले खस्रा बुनेका लुगा
।३।
नेपाली वनका कपूर तुलसी श्रीखण्डका साथमा
प्यारो सुन्दर आर्यघाट तटको साझा चितामा जलूँ,
पाऊँ बस्न मरेर आखिर गई स्वर्गीय त्यै ठाउँमा
नेपालीहरू छन् मरीकन सबै जन्मिरहेका जहाँ ।
।४।