नवीन मनोहर युवा पुस्ताका सक्रिय कवि हुन् । नवीन मनोहर (२०३९ असार २२, साविक : बेताली गाविस –८, हलुवा) आधुनिक नेपाली कविताको क्षेत्रमा संघर्षशील कविको लहरमा उभिएका कवि हुन् । उनका ‘छाडी गएपछि’ (गजलसङ्ग्रह) र ‘रोएनन् फूलहरू’ नामक कवितासङ्ग्रह प्रकाशित छन् । उनी नेपाल पर्यटन बोर्डबाट आयोजित राष्ट्रव्यापी निबन्धप्रतियोगितामा तृतीय, विभिन्न साहित्यिक प्रतियोगिताहरूमा पुरस्कृत युवा कवि हुन् । थोरै लेख्ने तर जीवनलाई खिपेर लेख्ने कविका रूपमा उनले परिचय बनाएका छन् । उनी राजधानीको हल्लाहल्लाबाट धेरै टाढा रहेर गाउँमा बसी कविता कर्ममा लीन छन् । प्रस्तुत कविताले जीवनको सापेक्षतामा भोगाइ र मानिसका चाहनाहरूको व्याख्या र विश्लेषण गर्ने जमर्को गरेको छ । उनको साहित्यसागरको यस शृङ्खलामा प्रस्तुत निवेदन’ शीर्षकको कविताले मानवको नारी र पुरुष दुई जाति मात्र हुने प्राकृतिक पक्षलाई उजागर गरेको छ ।सम्पा. |
टाउको
आँखा
नाक
मुख
हातगोडा
पेट
नाइटो
कटी प्रदेश
तिघ्रा
नितम्ब
लिङ्ग या योनि
यी सबैसबै एक्लाएक्लै छन्
अनेकतामा तत्तत् परिचयमा उभिने
यी शारीरिक अवयवहरू
जब एकीकृत हुन्छन् नि
अनि कि नर बन्छ परिचयमा
कि नारी हुन्छिन् आवरणमा,
मेरो निवेदन यत्ति हो
ओ मनुष्यहरू !
मलाई ऐन्द्रिक विभाजनमा बाध्य नपार
मलाई ऐन्द्रिक एकीकरणमा औधी रुचि छ
संसारको सृष्टि
विभाजन त पक्कै होइन
सम्मीलन नै हो,
भगलिङ्ग सम्मीलन
योनी शिश्न प्रेमालाप
जलचर
स्थलचर
उभयचर
र खेचर
चराचर जगत्का
किसिम किसिमका योनीहरूको परिचय
किसिम किसिमका लिङ्गहरूको उपस्थिति
यो संसारको सार हो,
व्याख्या गर
अझ मिलाएर कोरिएको केशझैँ सजाऊ
काम भावनालाई
कामोद्रेक उत्कट इच्छा र चाहनालाई
वाक्यमा प्रयोग तर
जुँगा राखेझैँ कुनै पुरुषले
बोल्ड अर्थमा रेखाङ्कन गर
वाह ! क्या मज्जा आउँछ जीवनमा
आहा ! कति खुसी हुन्छ जिन्दगी अनि,
एउटा कुरा सुटुक्क भनौं
भगवती र भगवान्को
प्रकृति प्रत्यय छुट्याऊ त के हुन्छ ?
दुवैमा आदि स्वरूप ‘भग’ नै छन्
याने स्त्री योनि
र पुरुष लिङ्ग ।