खगेन्द्र दाहालको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । उनी कविता र गजल विधालाई मूल विधा बनाई सिर्जना गरिरहेका छन् । उनका केही गीतिरचना पनि पत्रपत्रिकामा प्रकाशित छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा दाहालको ‘मेरो देश’ शीर्षकको कविता समेटिएको छ । यस कविताले सरल सहज र सम्प्रेष्य शैलीमै राष्ट्रिय चेतनालाई अभिव्यक्त गरेको छ ।
सम्पा. |
व्यौली सिँगारेसरि देश मेरो
हेर्दै बडो रम्य छ भेष मेरो
डाँफे र मैना वनमा रमेका
डाँडा र पाखा हरिया बनेका ।
१
थाप्लो छ सेतै हिउँले जमेर
बग्दै छ पानी खहरे बनेर
उब्जन्छ बाली श्रम सीप रोपे
भेटिन्छ मोती स्थल भीर खोपे ।
२
पासाङ सीता भृकुटी सुपुत्री
जन्मे यहीँ रत्न सुपुत्र पुत्री
अङ्ग्रेज फाँड्ने बलभद्र आँटी
वैरी ढलाए तरवार बोकी ।
३
मेची र काली बबई सुसेल्छन्
ढुङ्गा र माटो यिनले पखाल्छन्
हेमन्त वर्षा ऋतु गृष्म हुन्छन्
फन्को लगाई धरती सिँगार्छन् ।
४
चम्पा चमेली बहुफूल फुल्छन्
मौरी डुली पुष्प पराग चुम्छन्
नेपाल साझा सबको छहारी
जो डुल्न मिल्ने अति रम्य बारी ।
रतुवामाई –६, सौँठा, मोरङ
हाल : विद्याधिश्वरी मा.वि, वागमती ६, आश्राङ, ललितपुर ।