सीता भट्टराई (सुपुत्री : गोपीकृष्ण र दीपकुमारी सापकोटाका गृहस्थीमा २०२७ साल पौष १२ गते) नेपाली साहित्य, शिक्षा र समाजसेवाका क्षेत्रमा सुपरिचित प्रतिभा हुन् । २०४५ सालबाट आरम्भ भएको उनको कविता यात्रा फुटकर कविता हुँदै महाकाव्यसम्म विस्तारित छ । सेवा र साधनामा भद्रकुमारी घले (२०५९) समीक्षा, कला र भावको सङ्गम (२०६९) छन्दोबद्ध कविता एवम् चिन्तनसँगको यात्रा (२०६९) गद्य कविता र फूलका साथी हामी (२०६९) बालकविता सङ्ग्रह, सहश्राक्ष (२०७५) कविता सङ्ग्रहका साथै मुक्तिनाथ बाबा (२०७१) महाकाव्य प्रकाशन गरेकी छन् । उनको मैले पढेका कथा (२०७५) कथा सङ्ग्रहका साथै एउटा उपन्यास रहस्य (२०६९) उपन्यास पनि प्रकाशित छ । यी कृतिका साथै उनको एउटा को हो आफ्नो ? (२०६९) गीति एल्बम पनि प्रकाशित छ । यहाँ भट्टराईको ‘ढुङ्गो बनौँ झैँ भयो !’ शीर्षकको शास्त्रीय लयमा संरचित कविता समेटिएको छ । यस कवितामा ढुङ्गाले आगो सिर्जना र आफ्नो जीवन सुरक्षित राखे जस्तै जीवनमा ढुङ्गा बनेर अनेक समस्यासँग जुध्न सकिने जीवनदर्शन उद्घाटन गरिएको छ ।
-सम्पा. |
ढुङ्गो शालिक हो महाकठिनमा ढुङ्गो कहाँ रुन्छ र ?
लेखिन्छन् जब शब्द अक्षर उहाँ मेटेर मेटिन्छ र ?
खान्छन् ठक्कर एक साथ जब ती झिल्का उठे हैन र ?
पोखिन्छन् जब शीतका लहर ती आइन् उषा निर्झर !
पानी मथ्न सके यही जमिनमा बत्ती बल्यो हैन र ?
पानीभित्र कतै छ तेज सहजै चिन्ने यहाँ को छ र ?
मूर्ति पत्थरका कुँदिन्छ जब ती पूजा गरे ईश्वर
राम्रा सुन्दर पुष्प स्वच्छ बनका अर्पिन्छ ढुङ्गोतिर !
भै शालीन अहो ! छ सभ्य गुणको ढुङ्गो कहाँ बोल्छ र ?
जस्तै चोट परोस् कठै! हृदयमा ढुङ्गो कहाँ खोल्छ र ?
खाँदा ठक्कर एकसाथ अरूमा आगो निकाले तर !
जल्थे ती सव पात घाँस ननिका ढुङ्गो कहाँ जल्छ र ?
शालीग्राम बनी पुजिन्छ जब त्यो खायो कयौँ ठक्कर
पानीसाथ बगी मथिन्छ जब त्यो पानी कहाँ बन्छ र ?
साच्चै ब्रह्म बनी छ मग्न पथमा गर्दैन ऊ हल्चल
घुम्छन् सूर्य र चन्द्र ती समयमा घुम्दैन ढुङ्गो तर !
सारा मग्न निमग्न ब्रह्म रसको ढुङ्गो यहाँ देखियो
पानीभित्र पसी खुला हृदयको फेटा कसेको थियो
सारा हल्चल साथ एक रसको ढुङ्गो जहाँ भेटियो
साच्चै मग्न निमग्न सभ्य रसको ढुङ्गो बनौँ झैँ भयो !!