गोवर्द्धन पूजा (२०२७ भाद्र जनै पूर्णिमा, चितवन, सुपुत्र : श्यामलाल श्रेष्ठ र शान्तिलक्ष्मी श्रेष्ठ) नेपाली साहित्य र सञ्चार क्षेत्रमा सुपरिचित प्रतिभा हुन् । उनको वास्तविक नाम राजेन्द्रलाल श्रेष्ठ हो । २०४६ सालमा ‘आज’ शीर्षकको कविता प्रतिभा त्रैमासिक पत्रिकामा प्रकाशन गरी सार्वजनिक भएका पूजाका असहमतीका पाइलाहरू (२०५०) संयुक्त कथासङ्ग्रह, शून्यताको आँचलभित्र (२०५३), अव इतिहास रुदैन (२०५५) उपन्यास, धर्तीको धुलो (२०५४), गाथा (२०६२), विक्रीमा यो जिन्दगी जस्ता जगलसङ्ग्रह, पीडावतार (२०५७), वाचाल ओठहरू (२०६१) कवितासङ्ग्रह कृति प्रकाशित छन् । हाल अमेरिकामा रहेर नेपाली भषा–साहित्यको सेवा गरिरहेका पूजा अन्तराष्ट्रिय नेपाली साहित्य समाजका वरिष्ठ उपाध्यक्ष हुन् । उनले नेपालमा रहँदा अनेक संघसंस्थासंग संलग्न रहनाका साथै अनेक समाचारमूलक र साहित्यिक पत्रिकाको सम्पादन गरेका छन् । उनी विदेशमा रहेर आफ्ना दैनिकीका अफ्ठ्यारा सजिलालाई पनि चिर्दै निरन्तर साङ्गठनिक र सिर्जनात्मक माध्यमबाट नेपाली साहितयको सेवा गरिरहेका छन् । साहित्यसागरको प्रस्तुत शृड्खलामा उनको ‘खुब दियो प्रेमले’ शीर्षकको कविता समेटिएको छ । यस कविताले प्रेमले जीवनको उतार चढाव भोग्ने कला सिकाएको चर्चा गरेको छ ।
-सम्पा. |
दियो
सबै कुरा दियो प्रेमले !
सुरुमा आशाको आभा दियो
थापेर बस्यौँ, अञ्जुलिभरि
र
खन्यायौँ बदलामा
मुटुभरिको माया !!
हल्लाउँदा पात, हावाले पनि
उठाउँदा छाल, पानीले पनि
बनायौँ सोच– स्वीकृतिको
बादलको नीर पोतेर पहाड बन्यौ
मायाको पहाड ,
प्रेमको धून खिपेर सङ्गीत बन्यौँ
झरनाको झङ्कार,
मिलनको मियोमा सम्भावनाको सुगन्ध दियो
बिछोडको बिछ्यौनामा प्राप्तिको सपना दियो
औँसी चिर्दै पूर्णिमा विश्वासहरू झुल्किए
पतझडको कहाली मीठो कहानीमा बदलिएँ
बाध्यताको शितलहरले कठ्याङ्गिँदा पनि
प्रेमको न्यानो आभास घटेन
दियो प्रेमले
सबै कुरा दियो !
मुटुमा विछोडको आगो सल्किँदा पनि
मनको चिम्टाले कोइला समाइ रह्यौ
भागबन्डा गरेर भाग्यको अभावलाई
दुःखका दुर्भाग्यहरूमा रमाइरह्यौ
न सम्झनु पर्ने आवश्यकता आयो
न बिर्सनु पर्ने बाध्यता छायो
सम्हाल्न सक्ने मन दियो
दियो प्रेमले
सबै कुरा दियो !
पर पारेर जीवनको बहिखाता
बाँच्नुको मज्जा,
नजिक सारेर मृत्युको ज्वारभाटा
हाँस्नुको आनन्द,
दुई मनको दशगजा वरिपरि
छुट्टिनुको साँध सीमाना मिचेर
डढेलो सल्काउँदै अविश्वासमा
बहँदै, पानीको आकारमा ढल्दै
छल्दै, समयको शून्यतालाई छल्दै
बलेर मैन पग्लँदा पनि
दियो प्रेमले
उज्यालो दियो !!!
माटो र पानीको सम्बन्ध
कम र बढीको समानुपातिक हिसाब
दियो, प्रेमले अन्दाज दियो ।
पोतेर मायाको रङ
झिकेर सोह्र श्रृङ्गार ,
भेटिनु र छुटिनुको मीठो पीडामा
जीवन दियो प्रेमले
छुट्टिएर बाँच्नुको अनुभूति घोलेर
दियो प्रेमले
खुब दियो !!!