कवि शिरोमणि लेखनाथ पौड्याल (वि.सं. १९४१ – २०२२, कास्की अर्घौ अर्चले, सुपुत्र: वसुन्धरादेवी पौड्याल र दुर्गादत्त पौड्याल)) नेपाली साहित्यका महान् प्रतिभा हुन् । उनी नेपाली साहित्यका परिष्कारवादी धाराका केन्द्रीय कवि प्रतिभा हुन् । उनलाई नेपाली कविता परम्परामा भानुभक्त आचार्य र मोतीराम भट्टपछिका र देवकोटा अघिका श्रेष्ठ कवि मानिन्छ । उनको यो श्रेष्ठता कसैले प्रदान गरेको नभई उनकै सिर्जनाले पुष्टि गरेको छ । उनलाई नेपाली साहित्यमा आधुनिक युगको जन्मदाता, आध्यात्मिक पुनर्जागरण ल्याउने कविका साथै आध्यात्मिक मानवतावादी कविका रूपमा चिनिन्छ । उनका शोकप्रवाह, ऋतुविचार (१९७३), बुद्धिविनोद (१९७३), सत्यकली संवाद (१९७६), सत्यस्मृति (२००९), मेरो राम (२०११), त्याग र उदयको सन्देश (२००२), गीताञ्जली (१९८६) काव्यका साथै तरुणतपसी (२०१०) नव्यकाव्यकृतिहरू प्रकाशित छन् । उनको लक्ष्मीपूजा (१९९४) नाट्यकृति पनि प्रकाशित छ । उनको अनुवादमा संस्कृत नाटक भतृहरि निर्वेद (१९७४) गीतासागर (), अभिज्ञान शाकुन्तल (२०१५), पञ्चतन्त्र () जस्ता कृति प्रकाशित छन् । उनको गङ्गागौरी महाकाव्य अपूर्ण रूपमा प्रकाशित छ । उनका फुटकर कविताहरू लालित्य भाग एक (२०१०) र लालित्य भाग दुई (२०२५) मा प्रकाशित छन् । आफ्नो समयका सबैभन्दा परिष्किृत र अधुनातन चेतनासम्पन्न कवि पौड्यालको शिक्षा संस्कृतमा मध्यमा मात्र भए पनि उनी स्वअध्ययनले सम्पन्न स्रष्टा थिए । नेपाल प्रज्ञाप्रतिष्ठानका संस्थापक सदस्य पौड्यालले त्रिभुवन प्रज्ञापुरस्कार (२०२६, मरणोपरान्त) प्राप्त गरेका थिए । उनलाई २०१० सालमा विशेष सम्मान गरी रथारोहण गराई नगर परिक्रमा गराइएको थियो । उनी चढेको रथ तत्कालीन प्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालालेसमेत तानेको पाइन्छ । उनलाई तत्कालीन राजा श्री ५ त्रिभुवनले २००८ सालमा कविशिरोमणि उपाधि दिएर सम्मान गरेका थिए । उनी त्यही उपाधिले सुपरिचित छन् । उनका कविताहरूमध्ये ‘नैतिक दृष्टान्त’ (१९७४) चर्चित कविता हो । पूर्वीय नीतिचेतनाका अनेक सूत्रलाई समेट्ने यस कविताको महत्व आज पनि त्यत्तिकै देखिन्छ । यस कविताबाट कवि प्रकृतिका विभिन्न दृष्टान्तबाट मानव जीवनलाई आवश्यक पर्ने अनेक नैतिक उपदेश दिएका छन् । पौडेलको १३७औँ जन्म जयन्तीको सन्दर्भ पारेर उनको यो कविता साहित्य सागरको यस शृङ्खलाको पहिलो सामग्रीका रूपमा प्रकाशन गरी उनीप्रति हार्दिक श्रद्धा सुमन अर्पण गरिएको छ ।
-सम्पा. |
बडाले जो गर्यो काम हुन्छ त्यो सर्वसम्मत ।
छैन शङ्करको नङ्गा, मगन्ते भेष निन्दित ।। १ ।।
कहाँ गर्थ्यो ठूलो व्यक्ति मर्यादास्थिति लङ्घन ।
बसेको छ महासिन्धु सीमाबद्ध बनीकन ।। २ ।।
दबिन्छ गुणीको दोष गुणका रासमा परी ।
रश्मिले चन्द्रको दाग दबाएकै छ बेसरी ।। ३ ।।
कसैको लोकमा छैन एकैनास समुन्नति ।
अरूको के कुरा हेर सन्ध्यामा सूर्यको गति ।। ४ ।।
छोटो बढ्यो भने ज्यादा फुर्ती ढाँचा बढाउँछ ।
उर्लंदो खहरे हेर कत्तिको गड्गडाउँछ ।। ५ ।।
ज्यादा सोझो हुनुभन्दा टेढिनु छ फलाऽधिक ।
गरिँदैन कुनै सोझो ग्रहको पूजनाऽदिक ।। ६ ।।
टपर्टुञ्याँ पनि हुन्छ मूर्खमध्ये प्रतिष्ठित ।
बोलने को अँध्यारोमा महाऽत्मा जुन्किरीसित ।। ७ ।।
सानैदेखि छुचो हुन्छ दुष्ट मानिसको मति ।
घोचने जङ्गली काँढा पहिले नै तिखा कति ।। ८ ।।
मिलेर काम गर्नाले हुन्छ अत्यन्त फायदा ।
एकता हेर कस्तो छ मौरीको महमा सदा ।। ९ ।।
जो दिँदैन उही दिन्छु भनी गर्जन्छ सत्त्वर ।
जो हो नवर्षने मेघ उसैको हुन्छ घर्घर ।। १० ।।
हुनुपर्दछ मौकामा शत्रुको पनि सेवक ।
कोइली कागकै बच्चा बन्छ सानू छँदातक ।। ११ ।।
गुणग्राही जहाँ छैन वहाँ के गरला गुणी ।
कौडीमा तक मिल्कन्छ भिल्लका देशमा मणि ।। १२ ।।
योग्य स्थानविषे मान सानाले पनि पाउँछ ।
कृष्णाका तटको ढुङ्गा देवता कहलाउँछ ।। १३ ।।
उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर ।
फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ।। १४ ।।
मेटिँदैन कसैबाट आफनू कर्मपद्धति ।
वनबासी बने राम चौधै भूवनका पति ।। १५ ।।
धर्म हो धीरको धैर्य राखनू दु:ख जालमा ।
मानूँ मौनव्रती हुन्छ कोइली शीतकालमा ।। १६ ।।
सारा सार लिई कन्था छोडी दिन्छ गुणी जन ।
रस चुसेपछि भृङ्ग फूलमा भुल्दथ्यो किन ? ।। १७ ।।
सङ्गले पनि जाँदैन दुष्टको दुष्टता रिस ।
श्रीखण्डमा बसी सर्प कहाँ हुन्थ्यो र निर्विष ।। १८ ।।
मूर्खका मनमा अर्ती गालीतुल्य बिझाउँछ ।
दूध पान गरी सर्प खालि विष बहाउँछ ।। १९ ।।