डम्बर घिमिरे (२००२, असार १, हौचुर, खोटाङ) शिक्षा, साहित्य, समाजसेवा र कलाकारिताका चौआयाममा परिचित व्यक्तित्त्व हुन् । उनले यी चौआयामलाई क्रमशः साहित्यकार घिमिरेका रूपमा सँगेल्दै आएका छन् । घिमिरेलाई चिनाउने प्रमुख कृतिहरू भीष्म प्रतिज्ञा (कवितासङ्ग्रह, २०५१) तीतो पीरो (हास्यव्यङ्ग्य एल्बम, २०५७) घाम–पानी (मुक्तकसङ्ग्रह, २०६०), धर्मकुमारी (खण्डकाव्य,२०६५) का साथै मातृवाणी (२०७३) महाकाव्य प्रकाशित छन् । उनका थुप्रै फुटकर रचना पत्रपत्रिकामा छरिएर रहेका छन् । उनका केही गीत रेडियो नेपालबाट रेकर्डिङ र प्रकाशन भएको पनि देखिन्छ । उनी फुटकर रचनामा हास्यव्यङ्ग्य शैलीको अनुशरण गर्न रुचाउँछन् । उनले केही टेलिचलचित्रमा हास्यव्यङ्ग्यकारको भूमिका पनि निर्वाह गरेका छन् । उनका सम्पादनमा नवरङग पत्रिकाका केही ठुला अङ्कहरूपनि प्रकाशित छन् । साहित्य सागरको प्रस्तुत अङ्कमा घिमिरेको कवि माधव शीर्षकको कविता समेटिएको छ । यस कविताले माधव घिमिरेका कविताका विषय र चेतनालाई नै रूपक बनाएर प्रस्तुत गरेको छ ।
-सम्पा. |
वागमा फुल्दछौ दाइ वासन्ती फूल मग्मग
कल्कली बग्दछौ दाइ सारदी जल निर्मल
वसन्तमा तिमी हाँस्छौ हिमाली चुचुरा बनी
आमा नेपालको काख शोभा दिन्छौ बसी तिमी ।
ढुङ्गाको कापमा फुल्छौ वनमा लहराउँछौ
मकैका पातको बाजा बजाई गीत गाउँछौ
तराई फाँटमा फुल्छौ फूलका तिमी मञ्जरी
पियूष पिउँदा लाग्ने खोँचका जल अञ्जुली ।
चरीका साथमा हुन्छौ आनन्दसाथ रम्रम
शिशुका हात पक्डेर नाच्दछौ तिमी छम्छम
कोइलीको मिठो धुन सुनेर गुन्गुनाउँछौ
आमाको कोखमा चोट पर्दिँदा रन्थनाउँछौ ।
स्नान गर्छौ पँधेरीमा पान गर्छौ जलामृत
स्वदेशीपनमा रम्ने स्वकीय पनमा प्रित
राता गाला लिई गीत गाउँदा वनमा परी
आनन्द बर्सिने तिम्रा मनमा सौख्य निर्झरी ।
नेपाल स्वर्ग हो भन्छौ नेपाली वीर देवता
अनेकता भए सोच कर्ममा हुन्छ एकता
खोजी स्वर्ग कतै जाँदा पाइन्न देवता जब
नेपाल धरणीमै छन् भन्दछौँ कवि माधव ।
(हौँचुर, खोटाङ)