मेघनाथ खनाल बन्धु (२०१९, भाद्र कुशेऔँसी, जितपुर–इलाम, सुपुत्रः छविलाल र शष्टिका खनाल) नेपालको पूर्वी जिल्ला इलाममा जन्मिएर पश्चिम कैलालीलाई कर्मभूमि बनाइ साहित्य सेवा गरिरहेका प्रतिभा हुन् । उको कलम कविता, गजल र समीक्षा विधामा चल्दै आएको छ । उनका गजलयात्रा (गजलसङ्ग्रह, २०६४), सहयात्रा (कवितासङ्ग्रह २०६४), छन्दीय विन्धु भावना सिन्धु (कवितासङ्ग्रह २०६४) मातृस्मृति (स्मृतिकाव्य, २०७६), कर्मशील पिता (खण्डकाव्य, २०७६) जस्ता कविता, गजल र काव्यका कृति प्रकाशित छन् । उनले साहित्य र शिक्षा सेवा गरेवापत विविध सम्मान र पुरस्कार पाएका छन् । साहित्य सागरको प्रस्तुत अंकमा उनको श्रद्धा सुमन शीर्षकको कविता समेटिएको छ । यस कवितामा माधव घिमिरेको कृतिगान गर्दै हार्दिक श्रद्धा सुमन अर्पण गरिएको छ ।
-सम्पा. |
आभा विलायो यमले थुतेर
भाका हरायो दहमा डुबेर
आफै गयौ खै नभमा लुकेर
निशब्द कस्तो गह यो सुकेर ।
गौरी मिलिन् हो ? नभमा थिइन् कि ?
हतार गर्दै करमा लिईन् कि ?
डाँडा र काँडा वन के त्यहाँ छन् ?
वैशाख चैत्रादि सबै भनिन्छन् ?
त्यो तेज , हावा , जल साथ माटो
आकाश मिल्ने तन बन्छ माटो
जे जे थिए ती यश कीर्ति राख्यौ
मरेछ भन्छन् तर आज बाँच्यौ ।
स्वच्छन्दवादी रचना गरेका
सुवास भर्दै रचना छरेका
हे राष्ट्र स्रष्टा ! कविका सिपाही
नेपाल हेर्नू दृग झन् फिँजाई ।
आनन्द मान्दै कविता पढौँला
आशिष् मिले मै नि चुली बढौँला
के छन् दिने योग्य यहाँ र हाल
यी शब्द श्रद्धा दिएँ लौ समाल
धनगढी, कैलाली