नारायण निरासी ( २०३७, सर्लाही) नेपाली साहित्यका कविता विधामा निरन्तर कलम चलाइरहेका युवा प्रतिभा हुन् । उनका तुसारामा फुलेका फूलहरू (२०६४) जगलकाव्य, आँखाभरि तुसारो (२०७०) खण्डकाव्य, निबन्ध र रचना शिल्प (२०६७ र २०७०सह), आरोहण (२०७३, आरोहण) महाकाव्य, फूलमाथि तुसारो (२०७५) कवितासङ्ग्रह जस्ता कृति प्रकाशित छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा निरासीको ‘आह्वान’ शीर्षकको कविता समेटिएको छ । शार्दूलविकृडित छदमा संरचित यस कविताले नेपालको सीमा सुरक्षामा सबैलाई एक जुट हुन आह्वान गर्दै राष्ट्रिय एकताका लागि गोलबन्द हुन आह्वान गरेको छ ।-सम्पा. |
गर्छन् राज हिरन्यकश्यपुहरू खोसेर हाम्रो हक
माटो बेच्न तयार छन् मुलुकका गद्दार छन् शासक
सक्छन् रुष्ट बनेर बन्दुक यता ताकेर सोझ्याउन
आऊ निस्क सबै जुटौँ सडकमा नेपाल जोगाउन ।
रोगाई जनता गरे छटपटी सुन्ला र को क्रन्दन ?
कुर्सीको पछि दौडिंदै छ अगुवा उम्लिन्छ तातो खुन
लागौँ शुम्भनिशुम्भका अघि सरी सङ्ग्राममा होमिन
आऊ निस्क सबै जुटौँ सडकमा नेपाल जोगाउन ।
बाटो खन्छ छिमेकले वर सरी हाम्रो करेसो थुनी
के बस्छौ चुपचाप मालिक तिमी बन्दै खुनी बैगुनी
कालीको लिपुलिम्पिया रगतले थालौँ न रङ्ग्याउन
आऊ निस्क सबै जुटो सडकमा नेपाल जोगाउन ।
पुर्खाको इतिहास छैन हरूवा बन्दै झुकेको शिर
हामी भक्षक बन्दछौँ दशगजा नाघेर आए वर
जङ्गेपिल्लरपट्टि दुस्मन बढे लागौँ न छ्प्काउन
आऊ निस्क सबै जुटौँ सडकमा नेपाल जोगाउन ।
तिम्रो होइन दाइजो हिमचुली फोरी नझिक्नू हिरा
फाल्नेछौँ घरका धुरी दलिनका पन्छाउँदै माकुरा
थन्केका तरबार बोक खुकुरी साम्राज्य खेदाउन
आऊ निस्क सबै जुटौँ सडकमा नेपाल जोगाउन ।
होली वाइनमा डुबे शकुनिको लाग्दैन केही भर
बूढा गोरु धपाउँदै नवयुवा नेतृत्व आफै गर
खोसेको अधिकार क्रान्ति नगरी पाइन्न फिर्ता लिन
आऊ निस्क सबै जुटौँ सडकमा नेपाल जोगाउन ।