रमेश खकुरेल (१९९९ असोज २२, गणबहाल काठमाडौँ, सुपुत्र : हरिप्रसाद खकुरेल र मनोहरादेवी खकुरेल) नेपाली साहित्यका विशिष्ट प्रतिभा हुन् । आठै वर्षको उमेरमा ‘यौटा ठुलो बनमहाँ ’शीर्षकको कविता सार्वजनिक गरी कविता आरधनामा लागेका खकुरेलका सङ्क्षिप्त भौतिकी (२०२५), अँगालो (२०२६), घर भाडामा खाली छ (२०४८), विदायी (२०५५) जस्ता कवितासङ्ग्रह प्रकाशित छन् । उनका बहिनीलाई सन्देश (२०५३), सावधान जहाज डुब्दैछ (२०५५), खासा ल्हासा (२०५८), अडगड यात्रा (२०६८) जस्ता खण्डकाव्यका साथै सरिता नानी (२०४९), स्रग्धरा (२०५९), अघोरी (२०७२) जस्ता महाकाव्यहरू प्रकाशित छन् । शास्त्रीय छन्दमा सुललित परिष्किृत कविता सिर्जनामा आफ्नो विशिष्ट पहिचान बनाएका खकुरेलको साहित्यसागरको प्रस्तुत शृङ्खलामा ‘अब तँ झट्ट जा’ शीर्षकको कविता समेटिएको छ । यस कवितामा कोरोनाले घरमा थुनिएर बस्नु पर्दाको वेचैनीलाई उजागर गरिएको छ । कविले आफ्नै परिवेशका घुम्ने, डुल्ने ठाउँ र दृश्यहरू विस्मृतिमा गएकाप्रति दुःख व्यक्त गर्दै अब कोरोना गइहाल भन्ने अर्थमा यो कविता रचना गरेका छन् ।
सम्पा. |
असनतर्फको स्मरण बिर्सियो
टहलिँदै हुने भ्रमण बिर्सियो
अन्नपूर्णको नमन बिर्सियो
शुभप्रभातको गमन बिर्सियो ।
मखनको लुगा पसल बिर्सियो
मरु गणेशको भवन बिर्सियो
जनबहालको भजन बिर्सियो
टेबहालको हाल बिर्सियो ।
कति मजा थियो सहर घुम्दथ्यौँ
जन घनत्वमा रहर मेट्तथ्यौँ
कति घुमी घुमी माल चुन्दथ्यौँ
नजरले सयौँ हाल भन्दथ्यौँ ।
सडक साँघुरा जन घना घना
सब भरी भरी छन् कुना कुना
अनि मजा हुने घुम्न आउँदा
कुमकुमै जुधी हिँड्न पाउँदा ।
अधम कोरना हुर्मतै लिइस्
शहरको सबै रहर नै लिइस्
नगरको कुरै नगर नै भयो
अब तँ झट्ट जा भन्नु नै पर्यो ।