सुरेन उप्रेती अहिले क्यानडामा रहेर नेपाली भषासाहित्यमा समर्पित प्रतिभा हुन् । उनको कलम कविता, आख्यान निबन्ध र बालसाहित्यका बहुविध क्षेत्रमा चलिरहेको छ । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । यहाँ उनको ‘जन्मभूमि’शीर्षकको कविता समेटिएको छ । यस कविताले व्यक्तिले उन्नति गरेर जन्मभूमि र राष्ट्रलाई बिर्सनु नहुने चेतनालाई समेटेको छ ।
सम्पा.
कति ठुलो भएछौ
नेपथ्यबाट आएको आवाजले झस्क्यायो
आवाज आएतिर आँखा दौडाएँ
शून्य छ श्मशान झैँ ।
आँखा मिचेर हेरेँ
कानलाई छामेर सुनेँ
कतै कोही देखिएन ।
फेरि पाइला अगाडि बढाएँ
केराको पातमा वर्षिएको दर्के झरीझैँ
आवाजहरू कानमा ठोक्किन थाले
सहरमा बस्छौ अरे
धेरै पढ्यौ रे,
घर गाडी जहान परिवार
नाम र दाम कमायौ रे !
आवाजसँग अझ नजिक हुँन खोजेँ
नामका अगाडि पनि
अनेक उपाधि थप्यौ रे,
सांसद्,मन्त्री, प्रधानमन्त्री,
राष्ट्रपति, सचिव,
इन्जिनियर, वकिल, डाक्टर,
पत्रकार, साहित्यकार,
बुद्धिजिवी, प्राध्यापक ,
व्यापारी, वैज्ञानिक
खै के के हो के के !
म त यहीँ छु ।
कति पनि बदलिन सकिनँ
तिमीले बामेसरेको सिकुवा
तिमीले लडिबुडी गरेको मझेरी,
ताते गरेको आँगन,
नपत्याए हेर त मेरा छातीमा
तिम्रा साना पाइलाका डोबहरू !
तिमीले झूम्राका पुतली खेलेको पिँढी
झुम्राका गोला बनाएर खेलेको बारीको डिल,
डोरी नाघेको आँगन
देउसी भैलो खेल्दै नाचेको
घर र छिमेकीको आँगन !
आमासँग मावल जान नपाउँदा
रुँदै लडिबुडी गरेका थियौँ नि !
तिमीले के सम्झन्थ्यौ
कि बिर्सियौ यी सब कुरा !
तिम्रो तोते बोली
अझै गुञ्जिरहेको छ ।
नपत्याए कान थापेर सुन त
यो हावालाई !
नपत्याए तिरिमिरी सूर्यलाई त्यैवा भन्दै सोध त
तिम्रो बाल्यकालमा,
हिँउदे कठाङ्ग्रिने जाडोले
बिहानीलाई लुगलुग कमाएका बेला
ऊ त्यो पारि डाँडामा
सूर्यले पहिलो पाइला टेक्दा
तिमी सिउसिउ गर्दै
काखीमा हात च्यापेर
बारीमा ढोड बाल्न
घुर्यान सल्काउन
हिँड्दै हुन्थ्यो नि
त्यो सूर्य पनि उस्तै छ
सूर्य लाग्ने र अस्ताउने
समय पनि उस्तै छ ।
कुरा सुन्दा सुन्दै
मेरा आँखा आँसुमा पौडिँदै रहेछन्
दुई हातहरूले टाउको समाएर,
म थचक्क बसेँछु,
जन्मभूमिमा
पाइलाका डोबहरू खोज्न